१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

थानीमाई दर्शन

श्रीकृष्ण थापा
सोतीपसल, लमजुङका बाबुलाल श्रेष्ठ थानीमाईका भक्त हुन् । पहिलोपटक २०३० सालमा तनहुँको थानीमाई दर्शन गरे यता धेरैपटक उनले देवीलाई फूलको डोली अर्पण गरिसके । दिउसो घरमा नारायण पूजा लगाएर राती नै गाडी रिर्जभ गरी उनी थानीमाई मन्दिरमा आउँछन्।

पूजा गर्दा, मन्दिरमा डोली चढाउँदा र इष्टमित्रलाई भोजन गराउँदा दुई लाख रुपैयाँसम्म खर्च हुन्छ । यसरी खर्च गर्न पाउँदा सन्तुष्ट छन् उनी । ‘सन्तानको प्रगती होस्, बिदेशबाट सकुशल फर्किउन् । नोकरीमा राम्रो होस भन्ने भाकल पुरा भएपछि फूलको डोली चढाउन यता आउँछु’, उनले भने।

उनी जस्ता धेरै भेटिन्छन् थानीमाईमा । कोही फूलको डोली ल्याउँछन्, कोही पूजा मात्र गर्छन त कोही रमाइलोका लागि आउँछन् । जेहोस् राम्रै चहलपहल हुन्छ मन्दिरमा । तनहुँको भानु नगरपालिका–७ (साबिक बसञ्तपुर गाविस)मा छ मन्दिर । डाँडाको मन्दिर अद्भूत देखिन्छ।

मनोकामना पु¥याइदिने थानीमाई क्षेत्रलाई पर्यटन गन्तव्य बनाउन सकिन्छ । त्यहाँको मगर गाउँमा होमस्टे सुविधा दिन सके राम्रो हुन्छ ।  

देवी उत्पत्तिबारे रोचक कथा छ । उहिल्यै थानीमाई भोटबाट भोटेनी आमा–छोरीको रुप धारण गरी भिक्षा माग्दै बसन्तपुर आइछन् । यहाँ आइपुगेपछि आँधीबेहरी र असिना परेछ । र, त्यही ठाउँमा उनीहरु अलप भएछन् ।  
केही समयपछि स्थानीय जमानसिंह पाटा मगरलाई देवीले सपनामा दर्शन दिइछन् । उनले भनिछन्, ‘हामी अलप भएको ठाउँमा ढुँगाको शिला छ । त्यहाँ मन्दिर बनाएर मेरो पूजा गर्नु म तिमीहरुको मनोकांक्षा पुरा गर्नेछुुु।’

सपनामा आदेश पाएपछि गाउँलेहरु मिलेर देवीको पूजा गर्न थाले । यो घटना विसं  १९१८ तिरको । देवीको भाकल पुग्दै गएकाले उनको महिमा चारैतिर प्रचार भयो । अचेल लमजुङ, स्याङ्जा, कास्की, गोरखा, चितवनदेखि तिर्थालु आउने गरेको स्थानीय जय मंगल प्राविका पूर्व प्रधानाध्यापक पूर्णबहादुर थापा बताउँछन्।

मन्दिरमा साउन, एकादशी र आंैसी बाहेक हरेक मंगलबार पूजा हुन्छ । जनावरको बली  नचढाइने र चोखो धुप, अक्षेता, फूल–माला, फलफुल नैबेद्य चढाउने चलन छ । सोमवार बेलुका रातभर जाग्राम बसि मन्दिर परिसरमा बत्ति बाल्ने चलन छ । सोमबार राती घरमा नारायण पूजा लगाई मंगलबार फूलको डोली चढाउन पञ्चै बाजासहित आउँछन् ।
थानीमाईमा तीनजना मगर पूजारी छन् । मुख्यतः कात्तिक र माघमा तिर्थालुको भिड लाग्ने पूजारी सर्वजित थापाले बताए । केहि समय अघि नेपाली सेनाका प्रधान सेनापतिले पनि थानी माई दर्शन गरेका थिए ।
मन्दिर हातामा १२ वर्षका राजकुमार परियार दमाहा बजाउँछन् । त्यस्तै नविन परियार पनि सहनाई बजाउँछन् । त्यसरी बजाएस्वरुप केही रकम पाउँछन्।

१२ वैशाखको भुकम्पले मन्दिरमा क्षति पुगेकाले नयाँ मन्दिर बनाइँदैछ । त्यसका लागि मन्दिर व्यवस्थापन समितिले चन्दा संकलन गरिरहेको समिति अध्यक्ष जीवन थापा मगरले बताए।

मन्दिरसम्म यातायात, व्यवस्थित बसपार्क, खानेपानी तथा शौचालय सुविधा भएकाले सजिलो भएको छ । मन्दिर पुग्न पृथ्वी राजमार्गको डुम्रे बजारबाट केही सडक छन् । तीनमा डुम्रे–वाइसजाँघर–थानीथान, डुम्रे–पाँचसयडाँडा–थानीथान, डुम्रे–टुहुरेपसल–थानीथान र डुम्रे–चद्रावती–थानीथान सडक हुन्।

सबै सडक कच्ची तथा साँघुरा । तिनको स्तरोन्नती गरी पक्कि बनाउनु जरुरी छ । थानीमाई क्षेत्र आकर्षक पर्यटन गन्तव्य बन्न सक्छ । मन्दिरबाट चारैतिर सुन्दर दृश्य देखिन्छ । त्यहाँ स्वच्छ वातावरण छ।  

बिडम्बना ! अन्य गाउँका जस्तै यहाँका युवा पनि विदेशिएका छन् । खेतीयोग्य जमिन बाँझो छ । युवाका लागि गाउँमै रोजगारी सृजना गरेर धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्न पहल गरिने स्थानीय जनप्रतिनिधि सन्तबहादुर थापाले जानकारी दिए।

मन्दिर क्षेत्रमा नेवार, मगर र दलित समुदायको बसोबास छ । त्यहाँका गाउँलेलाई होमस्टे पर्यटनमा जागरुक बनाउन सके उनीहरुलाई फाइदा पुग्नेथियो । त्यसका लागि गाउँलेलाई सरोकारवालाले सहयोग पु¥याउनु पर्छ।

प्रकाशित: २० माघ २०७४ ०३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App