१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एक सय उन्नाइस उद्योगको म्याद थप

काठमाडौं – उद्योग विभागले दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका ११९ उद्योगलाई म्याद थप गरेको छ। 

विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ता प्रमाणपत्रको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई ३ महिनाका लागि म्याद थप गरेको हो। असोज ३० देखि पुस ३० गतेसम्म म्याद थप गरिएकोमा उक्त समयसीमाभित्र ११९ उद्योग दर्ता भएको विभागले जनाएको छ। 

विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले तोकिएको समयभित्र उत्पादन गर्न नसकेका उद्योगलाई एक पटकका लागि बाधा अड्काउ फुकाउन उक्त व्यवस्था गरिएकोमा हालसम्म ११९ उद्योगले म्याद थप गरेको र ३०÷३५ उद्योग म्याद थप प्रक्रियामा रहेको जानकारी दिए। म्याद थप भएका उद्योगमध्ये अधिकांश जलविद्युत् क्षेत्रका छन्।  

विभागले म्याद थपका लागि दिएको समयावधिसम्म आवेदन नगर्ने उद्योगको औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ८ को उपदफा ९५० बमोजिम स्वतः रद्द गरिने जनाएको छ। 

विभागमा विदेशी लगानीका साना, मझौला र ठूला गरी हालसम्म ७ हजार २६० उद्योग दर्ता भएका छन् । तीमध्ये ठूला ९८४, मझौला १ हजार ६०२ र साना ४ हजार ६७४ उद्योग दर्ता भएको विभागले जनाएको छ। 

रु १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना, रु १० करोडदेखि २५ करोडसम्म लगानी भएका उद्योगलाई मझौला र रु २५ करोडभन्दा धेरै पूँजी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा विभागले दर्ता गर्दै आएको छ। 

स्वदेशी लगानीका साना उद्योगको दर्ता भने साना तथा घरेलु उद्योग विभाग र साना तथा घरेलु विकास समितिअन्तर्गत रहेका जिल्ला कार्यालयले गर्दै आएका छन्।    (रासस)

प्रकाशित: १९ माघ २०७४ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App