१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सरस्वतीले तोडिन् २६ वर्षअघि कीर्तिमान

काठमाडौं- रियो ओलम्पिक जानुअघि सरस्वती भट्टराईको दुईवटा लक्ष्य थियो। ‘राष्ट्रिय कीर्तिमान तोड्ने मेरो लक्ष्य हो,’ उनले रियो तयारीका क्रममा भनेकी थिइन्, ‘त्यो सकिन भने आफ्नै प्रदर्शनमा अवश्य सुधार गर्नेछु।’ उनी पहिलो लक्ष्यमै सफल भएर फर्कंदैछिन्। १५ सय मिटर दौडमा उनले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी छन्। ब्राजिलको रियो दी जेनेरियोस्थित ट्र्याकमा शनिबार बिहान नेपाली सेनाकी धाविका सरस्वतीले ४ मिनेट ३३.९४ सेकेन्डमा दुरी पार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन्। उनले राजकुमारी पाण्डेको नामको ४ मिनेट ३४.४५ सेकेन्डको कीर्तिमान तोडेकी हुन्। राजकुमारीले सन् १९९० को एसियाली खेलकुदमा उक्त कीर्तिमान राखेकी थिइन्। यसअघि १५ सय मिटर दौडमा सरस्वतीको उत्कृष्ट समय ४ मिनेट ४०.१५ सेकेन्डको थियो। रियो ओलम्पिकमा नेपाली खेलाडीका लागि यो दोस्रो राष्ट्रिय कीर्तिमान हो। यसअघि पौडीका शिरीष गुरुङले पनि राष्ट्रिय कीर्तिमान बनाएका थिए।

रियोमा नेपालले ५ खेलमा ७ खेलाडी उतारेको छ। अब एथलेटिक्सका हरि रिमाल र तेक्वान्दोकी निशा रावलको मात्र प्रतिस्पर्धा बाँकी छ।

रियो जानुअघि नै सरस्वतीका प्रशिक्षक पुष्पराज ओझा पनि राष्ट्रिय कीर्तिमानका लागि आशावादी थिए। सरस्वती विश्व कीर्तिमानी इथियोपियाकी गेन्जेबे डिबाबासँगै एउटै हिटमा दौडेकी थिइन्। हिटमा शीर्षस्थानमा रहेकी डिबाबाले ४ मिनेट १०.६१ सेकेन्डमा दौड पूरा गरिन्। उनको नाममा ३ मिनेट ५०.०७ सेकेन्डको विश्व कीर्तिमान छ। प्रतिस्पर्धापछि सरस्वतीले डिबाबासँग खिचेकी फोटो फेसबुकमा पोस्ट गर्दै भनेकी छिन्, 'विश्व कीर्तिमानी धाविका र म।' हिट दुईमा सहभागी १४ मध्ये सरस्वती १३ औं भएकी थिइन्।

एथलेटिक्सका वरिष्ठ प्रशिक्षक सुशील नरसिंह राणा सरस्वतीको नयाँ कीर्तिमानले एथलेटिक्समा सकारात्मक सन्देश प्रवाह हुने विश्वास राखे। 'यो कीर्तिमानको प्रभाव र अर्थ पक्कै हुन्छ। लामो समयदेखि राजकुमारी पाण्डेको कीर्तिमान तोडिएको थिएन। यो नयाँ कीर्तिमानले आशा जगाएको छ,' उनले भने, 'सरस्वतीको प्रदर्शनले मनोवैज्ञानिक बाधा तोडेको छ। सकिन्न कि भन्ने अहिलेसम्मको सोच भत्काउँदै प्रयास गर्दा सकिन्छ भन्ने सन्देश गएको छ। उसले सक्छ भने हामी पनि सक्छौं भनेर अरु खेलाडीलाई प्रेरणा मिल्छ। कीर्तिमान बन्नु आफैमा राम्रो हो। त्यसमाथि कीर्तिमान बनाउने खेलाडीका लागि त विशेष नै हो।'

राणाको बुझाइमा प्रतियोगिताको स्तरअनुसार खेलाडीमा अलग अलग खाले दबाब हुन्छ। उनी भन्छन्, 'दक्षिण एसियाली खेलकुद (साग), एसियाली खेलकुद र ओलम्पिक वा अन्य विश्वस्तरीय खेलमा अलग खालको दबाब हुन्छ। हाम्रो खेलाडीलाई ओलम्पिकमा पदक जित्ने दबाब हुँदैन। लक्ष्य नै राष्ट्रिय कीर्तिमान बनाउने हुन्छ। त्यो दबाब झेल्न सक्नेको प्रदर्शन राम्रो हुन्छ। बढी दबाब हुँदा प्रदर्शनमा असर गर्छ। हामीलाई सागमा पदक जित्ने दबाब हुँदा प्रदर्शनमा पनि असर पर्छ।'

ओलम्पिक पुगेर राष्ट्रिय कीर्तिमान बनाउन सफल सरस्वतीको त्यहाँसम्म पुग्नुको आफ्नै कथा छ। डडेलधुरा जिल्लाकी २३ वर्षीया उनले स्कुलेजीवनमा राष्ट्रपति रनिङ सिल्ड खेलिन्। सुदूरपश्चिमाञ्चलमै २०६८ सालमा भएको छैटौं राष्ट्रिय खेलकुदमा आफ्नो क्षेत्रको प्रतिनिधित्व गरेकी उनका लागि प्रशिक्षणबिना सहभागिता रहर पूरा गर्ने अवसरमात्र थियो। उनको खेलजीवनले गति भने खासमा आर्मीमा प्रवेश गरेपछि मात्रै भएको हो। अमरगढी नगरपालिका–७ पोखराकी उनले स्मरण गरिन्, 'साथीहरूले आर्मीमा भर्ना खुलेको बताएपछि जिल्लाबाटै फाराम भरेँ। छनोट भएपछि नुवाकोटको त्रिशुलीमा एक वर्ष आन्तरिक तालिम गरँे।'

आन्तरिक तालिमकै क्रममा उनी दौडमा प्रथम आइरहने हुँदा सेनाकै क्लबको नजरमा परिन्। तालिम सकिएपछि आर्मी क्लबमा उनलाई ल्याइयो। त्यसपछि भने उनको प्रशिक्षणले गति पायो। 'मैले आर्मीमा आएपछि नै औपचारिक प्रशिक्षण पाएकी हँु,' रियो ओलम्पिकमा छनोट हुँदा उनले भनेकी थिइन्, 'विस्तारै प्रदर्शनमा पनि सुधार हुँदै गयो। आत्मविश्वास पनि बढ्दै गयो।'

एक वर्षअघि थाइल्यान्ड ओपन च्याम्पियसिपमा १५ सय र ८ सय मिटर दौडमा रजत पदक जितेपछि उत्साह बढेको उनले बताएकी थिइन्। फागुनमा भारत सम्पन्न १२ औं सागमा उनले १५ सय मिटर दौड ४ मिनेट ४० सेकेन्डमा पूरा गरेकी हुन्।

वैशाख २६ मा नेपाल एमेच्योर एथलेटिक्स संघले आयोजना गरेको छनोट चरण पार्दै गर्दै उनले रियो ओलम्पिकलाई स्थान पक्का गरेकी थिइन्। त्यसयता उनी घरेलु ट्र्याकमै गरेको अभ्यासका भरमा ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन्।

प्रकाशित: ३० श्रावण २०७३ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App