१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सजिलो छ गाडी किन्न | गाडी कर्जा

तपाई सवारी साधन किन्ने योजनामा हुनुहुन्छ ? प्रयाप्त पैसा छैन, कर्जा लिएर किन्न पाए हुन्थ्यो भन्ने सोंचमा हुनुहुन्छ ? त्यसो हो भने बैंकहरु तपाई जस्तो ग्राहकलाई पर्खिरहेका छन् ।  

कर्जा कति पाइन्छ ?

सरकारले यो वर्षदेखि सवारी साधन किन्ने सर्वसाधारणलाई केही सुविधा थपिदिएको छ ।सरकारको मौद्रिक नीति सार्वजनिक गर्ने नेपाल राष्ट्र बैंकले यसवर्ष ल्याएको नीति अनुसार निजी प्रयोजनका सवारी साधन खरिद गर्दा ६५ प्रतिशतसम्म बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिन सक्ने व्यवस्था छ । यस अघि यो सीमा अधिकतम ५० प्रतिशतसम्म मात्र थियो ।

अब ३५ प्रतिशत ‘डाउन पेमेन्ट’ (नगद भुक्तानी) गरेर कार किन्न पाइनेछ । बाँकी पैसा बैंक, वित्तीय संस्थाले ऋण दिन पाउँछन् । सरकारले भाडाका सवारी साधनलाई भने यो सुविधा दिएको छैन । ‘निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा मात्रै उक्त व्यवस्था लागू हुनेछ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘सार्वजनिक, भौतिक निर्माण कार्यमा प्रयोग हुने गाडीलाई यो सुविधा लागू हुने छैन ।’
केहि वर्ष अघि सवारी साधनको ९० प्रतिशतसम्म पनि बैंकबाट कर्जा लिन सकिन्थ्यो । १० प्रतिशत मात्र नगद भुक्तानी गरे पछि अरु सबै बैंकले कर्जा दिने गर्थे । यो नियमले सवारी साधनको आयातमा भारी वृद्धि भए पछि राष्ट्र बैंकले एकै पटक ५० प्रतिशत मात्र कर्जा लिन सक्ने व्यवस्था गरेको थियो । यसमा व्यापारीक समूह र सर्वसाधारणको विरोध भए पछि यस वर्ष देखि बैंकले १५ प्रतिशत बढाएर ६५ प्रतिशत पुर्याएको हो ।

कति छ व्याजदर ?

यो नयाँ नियम लागु भए पछि बैंक तथा वित्तिय संस्थाले अहिले औषत १० प्रतिशतमा सवारी साधन खरिद गर्न कर्जा दिने गरेका छन् । बैंकहरुमा कर्जा दिने पैसा अभाव भएकाले अहिले ब्याज दर केही माथि पुगेको छ । विगतमा औषत १० प्रतिशतमा सवारी साधन खरिद गर्न कर्जा पाइने गरेको थियो ।

केही महिना यता भने बैंकहरुमा रकम अभाव भए पछि बैंकरहरुले सवारी साधन खरिद गर्न सकेसम्म नदिने गरेका छन्। तर यो अस्थायी हो । बैंकहरुमा पैसा जम्मा भए पछि उनीहरुको पहिलो रोजाई नै सवारी साधन खरिदमा कर्जा दिने हुनेछ। विगतमा पनि पैसा नहुँदा सवारी साधन किन्न कर्जा नदिएका बैंकहरुले पछि दिन थालेका थिए ।  

कुन बैंकले कति प्रतिशतमा सवारी साधन कर्जा उपलब्ध गराएको छ भन्ने जानकारी लिन बैंकहरुको वेबसाइटमा गएर पनि हेर्न सकिन्छ । कुनै बैंकले यसको जानकारी नराखेको भए टेलिफोन गरेर पनि जानकारी लिन सकिन्छ । जनता बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले अहिले बैंकहरुले सवारी साधन खरिदमा कर्जा दिन निरुत्साहित गरेको जानकारी दिए । ‘हामीले सकेसम्म यस्तो कर्जा दिने गरेका छैनौं, उनले भने ‘तरलता अभावमा सुधार आए पछि भने सजिलै कर्जा पाइने छ।’    

कति वर्षलाई कर्जा ?

सवारी साधन खरिदमा अहिले बैंकहरुले अर्बौ रकम लगानी गरेका छन् । बैंकहरुले दिने कर्जामध्ये सबैभन्दा सजिलो र छिटो दिने कर्जा भनेको नै सवारी साधन किन्न हो । बैंकहरुले सवारी साधन खरिदमा दिने कर्जा धेरैजसो ७ वर्षे छ । खरिद गर्ने व्यक्तिले चाहेमा र उसको समय बढाउन र घटाउन पनि सक्छन् । घर कर्जा जस्तो १५ वा २० वर्षको अवधिको कर्जा भने यसमा हुँदैन ।

किस्ता कसरी तिर्ने ?

कुल कर्जा रकम र त्यसमा लाग्ने व्याजलाई जोडेर एकमुष्ट बनाए पछि महिनाले भाग गरेर प्रत्येक महिना कति रकम तिर्ने भनी किस्ताको रकम निर्धारण गरिन्छ ।  कर्जा रकम र व्याजसमेत जोडेर हुने कुल रकममा बैंकले बनाउने इएमआई फर्मुलाले हिसाव गरी किस्ता रकम निर्धारण गर्ने प्रचलन छ ।

प्रकाशित: १९ माघ २०७४ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App