१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अवैध टहरा हटाउन निर्देशन

हलेसी आसपासका सडक अतिक्रमण गरेर निर्माण गरिएको टहरा । तस्बिर : दमन राई-नागरिक

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका टहरा हटाउन सात दिनको समयसीमा दिएको छ । हलेसी आसपासका सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा हलेसीको पर्यटन प्रवद्र्धनमा बाधक देखिएपछि प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बुधबार टहरा हटाउनका लागि हप्ता दिनको समय दिएका हुन् ।

हलेसी तुवाचुङ नगरपालिकाले हलेसीमा रहेको सार्वजनिक एवं सडकको जग्गा अतिक्रमण गरेर बनाइएका टहरालगायतका संरचना हटाउनका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेको पाइएपछि प्रशासनले हप्ता दिनभित्र टहरा हटाउन निर्देशन दिएको हो ।

गत मंसिरयता चारपटक सूचना जारी गरेर सार्वजनिक जग्गाको टहरा हटाउन भनेपछि अतिक्रमणकारीले अटेर गरिरहेको नगरपालिकाले जनाएको छ । हलेसी आसपासमा सार्वजनिक एवं सडकको जग्गा मिचेर ५० भन्दा बढी टहरा निर्माण भएको पाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताए । ‘सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका टहरा हटाउन हामीले चारपटक सूचना जारी गर्यौं, आग्रह गर्यौं,’ उनले भने, ‘तर, नियमविपरीत बनाइएका टहरा हटाउन अहिलेसम्म कसैले पनि तत्परता देखाएको छैन ।’

हलेसीबजार तथा हलेसी आसपासका सडक किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका टहरामा स्थानीयले व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् । टहरा नहटाएसम्म अन्य ठाउँका सार्वजनिक जग्गामा बनाइएका टहरा हटाउन समस्या देखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । अन्य सार्वजनिक जग्गामा बनाइएका टहरा हटाउने कुरा राख्दा हलेसीको टहरा हटाउन चुनौती दिइने गरेको नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित: १९ माघ २०७४ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App