१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पीडित ‘लोडबियरिङ’ संरचनामा आकर्षित

तस्बिर : सिन्धुपाल्चोकका पीडितले बनाएका ‘लोडबियरिङ’ संरचनामा आधारित भूकम्पप्रतिरोधी घर । ध्रुव दङ्गाल/ नागरिक

सिन्धुपाल्चोक–  भूकम्पपछिको पुनर्निर्माणमा जुटेका पीडित ‘लोडवियरिङ’ संरचनामा आधारित साना तथा मझौला किसिमका घरमा आकर्षित देखिएका छन् । ३३ महिनाअघिको विनाशकारी भूकम्पबाट परम्परागत ठूला र भद्दा संरचना ‘चिहान’ सरह रहेको बुझाइपछि पीडित प्रविधियुक्त सुरक्षित बलियो घर निर्माणमा आकर्षित देखिएका हुन् । परम्परागत संरचनाकै कारण भूकम्पबाट भौतिक र मानवीय हिसाबले सर्वाधिक क्षति बेहोरेका उनीहरूको सस्तो र आकर्षकसमेत देखिने भूकम्पप्रतिरोधी लोडबियरिङ घर रोजाइमा परेको हो ।

‘यो धेरै बलियो संरचना हो,’ सहरी विकास तथा भवन निर्माण डिभिजन, जिल्ला कार्यान्वयन एकाइ प्रमुख टंक गौतमले नागरिकसँग भने । उनका अनुसार विभिन्न बन्धन, पट्टी, र बिमले जमिनदेखिकै सम्पूर्ण संरचनालाई एकढिक्का बनाउँछ ।

एकाइका अनुसार भूकम्पपछिको पुनर्निर्माण सुरु भएयता २१ महिनामा जिल्लामा ५० हजारभन्दा बढी घर पुनर्निर्माण थालिएको छ । यकिन सरकारी तथ्यांक नभए पनि झन्डै ४० हजार घर पुनर्निर्माण भएको अनुमान गरिएको छ । निर्माण सम्पन्न भएका र निर्माणाधीनमध्ये करिब सबै घर लोडबियरिङ संरचनाका आधारमा बनेका छन् ।

सम्पूर्ण घरको भार गाह्रोले बोक्नु यो संरचनाको विशेषता रहेका प्राविधिक बताउँछन् । ‘जमिन तहदेखि नै बस्ने बिम र गाह्रोको विभिन्न स्थानमा दिइने बन्धन र पट्टीले संरचनाको भार एकै ठाउँमा केन्द्रित गर्दैन बरू सबैतिर पु्याउने (संक्रमण) गर्ने काम गर्छ,’ वरिष्ठ इन्जिनियर रहेका गौतम भन्छन्, ‘त्यसैले यस्तो संरचना निकै बलियो हुन्छ ।’

  भूकम्पपछि सरकारले राष्ट्रिय भवन निर्माणसंहिताअनुसार ग्रामीण क्षेत्रका लागि यही संरचनामा आधारित १७ किसिमका घरका मोडेल (नमुना) तयार गरेको पठाएको थियो । पीडित इँटा–सिमेन्ट, ढुंगा–माटो र ढुंगा–सिमेन्ट जोडाइका संरचना ठड्याइरहेका छन् । परम्परागत घरको तुलनामा केही महँगो पर्न गए पनि पिलरजडित (आरसीसी) भन्दा यो संरचनामा आधारित भवन निकै सस्तो पर्न जाने प्राविधिक बताउँछन् । ‘बलियोका साथै सस्तोसमेत हुने भएकाले यो संरचनामा पीडित आकर्षित देखिएका हुन्,’ भूकम्पपछिको पुनर्निर्माणमा सघाइरहेका इन्जिनियर मिलन श्रेष्ठ बताउँछन् । लोडबियरिङ संरचनामा आधारित भवन साना र मझौला हुने भएकाले ती आकर्षक र चिटिक्कसमेत देखिने उनले सुनाए ।

यो संरचनाअनुसार घरको चारै कुना र कोठाको प्रत्येक जोर्नीमा फलामे डन्डी ठड्याइन्छ । जमिनमुनिदेखि नै संरचना उठाएर बिमसहित भुइँ ढलान गरिन्छ । त्यसपछि गाह्रोको प्रत्येक तीन÷तीन फिटमा बन्धन, झ्याल, ढोकाको तलमाथि र गाह्रोको सबै जोर्नीमा पट्टी दिँदै संरचनालाई एकढिक्का बनाइन्छ । सिमेन्ट मसलाको घोल हालिएको हरेक डन्डीले पिलरकै काम गर्छ । ढुंगा–माटोको जोडाइ भएको संरचनामा फलामको सट्टा काठ प्रयोगमा ल्याउन सकिने प्राविधिक बताउँछन् ।

‘यस्तो संरचना धेरै सुरक्षित समेत मानिन्छ,’ पुनर्निर्माणको अनुगमनमा जिल्लाको पश्चिमी क्षेत्र पुगेका एकाइ प्रमुख गौतमले ग्रामीण क्षेत्रमा निर्मित अधिकांश संरचना लोडबियरिङ नै पाइएको बताउँदै भने, ‘यस्तो संरचनामा आधारित घरले भूकम्पमा मानवीय क्षति कम गराउँछ ।’ उनका अनुसार गाह्रो र बन्धनहरूले भार बोक्ने हुँदा भूकम्पका सानातिना धक्काले पूरै संरचना ह्वात्तै भत्काउँदैन । गाह्रोको कुनै भाग चर्काउन सक्छ, पछि त्यो भाग निकालेर पुनः मर्मत गर्न सकिन्छ । ‘ठूलै धक्का आए पनि यस्ता संरचनामा भाग्ने समय यथेष्ट हुन्छ,’ गौतमले थपे, ‘घरको आकार साना र मझौला हुने भएकाले संरचना भत्किए पनि किचेर मार्ने सम्भावन न्यून रहन्छ ।’ बलियो, सस्तो, सुरक्षित र आकर्षकसमेत देखिने भएकाले ग्रामीण मात्र होइन, बजार क्षेत्रका पीडितसमेत लोडबियरिङमा आकर्षित छन् ।

सदरमुकाम चौतारा, बाह्रविसे, मेलम्चीलगायत बजार क्षेत्र र आर्थिक हैसियत हुने पीडितले मात्र पिलरजडित (आरसीसी) संरचना निर्माण गरेको पाइन्छ । प्राविधिकका अनुसार लोडबियरिङ संरचनामा गाह्रो मोटाइअनुसार भुइँसमेत दुईतलामात्र माथि जान पाइन्छ । तर, जति ठूलो संरचना उति धेरै क्षति हुने भोगेका पीडित भुइँतलामै धेरै आकर्षित देखिएका छन् । पूर्वतातोपानीदेखि पश्चिम हेलम्बुसम्म बनेका संरचना भुइँतले छन् । कतैकतैमात्र दुईतले संरचना देख्न सकिन्छ । ठूला र बढी तलाका घर हेर्न बजार क्षेत्रमै पुग्नुपर्छ ।भूकम्पअघि ढुंगामाटाका घर नै तीन तलासम्मका थिए । प्रविधि नअपनाइएको संरचनाले किच्दा प्रभावित ३१ जिल्लामध्ये सिन्धुपाल्चोकमा मात्रै सबैभन्दा बढी ३ हजार ५ सय ७० को ज्यान लिएको थियो । झन्डै ९० प्रतिशत संरचना ध्वस्त भएका थिए ।
 
    
    
 

प्रकाशित: १९ माघ २०७४ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App