१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर ४ : प्रादेशिक मन्त्रालय सञ्चालनमा

पोखराको पार्दीमा स्थापित प्रदेश ४ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून मन्त्रालयको भवन । तस्बिर : नागरिक

पोखरा – मुलुक प्रादेशिक संरचनामा गएपछि पहिलोपटक प्रदेशमा मन्त्रालय सञ्चालनमा आएका छन्। प्रदेश–४ को मुकाम पोखरामा विहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित आन्तरिक मामिला तथा कानून मन्त्रालय औपचारिक रुपमा संचालनमा आएका छन्।

मुख्यमन्त्री समेत चयन नभईसकेको अवस्थामा दैनिक कामकाजलाई तिब्रता दिलाउन प्रादेशिक संरचना अनुुसार मन्त्रालय स्थापना गरिएको हो। सीप विकास केन्द्रको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय राखिएको छ । विहीबार नै प्रमुख सचिव लक्ष्मण अर्यालसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरुले पदभार ग्रहण गरेका छन्। प्रदेश–४ मा अझै पाँचवटा मन्त्रालय खोल्न बाँकी रहेको र ती पनि केही दिनभित्रै खुल्ने प्रमुख सचिव अर्यालले बताए।

अर्यालयका अनुसार प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालय रहनेछ । त्यो मन्त्रालय पनि सीप विकास केन्द्रकै भवनमा रहने उनले बताए। त्यस्तै सामाजिक विकास मन्त्रालय हालको शिक्षा निर्देशनालयको भवनमा रहनेछ। अर्काे भूमि, कृषि तथा सहकारी मन्त्रालय सहकारी डिभिजन कार्यालयमा राखिनेछ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वन कार्यालयको निर्माणाधीन भवनमा रहने गरि व्यवस्थापन गरिएको छ। अर्काे भौतिक पूर्वाधार मन्त्रालय सहरी विकासको डिभिजन कार्यालयमा रहने अर्यालले बताए।

अहिलेका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव मात्र आएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा लालमणी ओझा आएका छन्। त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको फणिन्द्रमणी पोखरेल आएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव ओझाले अहिलेसम्म २ वटा मन्त्रालय व्यस्थापन भएको र केहीदिनभित्रै अरु पाँचवटा मन्त्रालय पनि खोलिने बताए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव पोखरेलले २१ जना कर्मचारी तोकिएपनि अहिलेसम्म आफू मात्र पोखरा आईसकेको बताए।

प्रकाशित: १८ माघ २०७४ १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App