१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘सम्बन्ध सुधार गर्न विशेष दूत'

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले केपी ओली नेतृत्व सरकारले बनाएको असन्तुलित सम्बन्ध सुधार गर्न सरकारले भारत र चीनमा विशेष दूत पठाउन लागेको बताएका छन्। भारतका लागि विशेष दूत तोकिएका उनले भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमणका साथै प्रधानमन्त्री दाहालको भारत भ्रमणका विषयमा समेत कुरा गर्ने दाबी गरे। 'अघिल्लो सरकारले निर्माण गरेको असन्तुलित सम्बन्ध सुधार गर्न सरकारले भारत र चीनमा विशेष दूत पठाउन लागेको हो,' नेपाल प्रेस युनियनले शनिबार आयोजना गरेको कार्यक्रममा निधिले भने, 'भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमणका साथै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको विषयमा पनि छलफल हुन्छ।'

नयाँ दिल्लीमा रहेका नेपालका लागि भारतीय राजदूत रन्जित रे शनिबार काठमाडौं आइपुगेलगत्तै साँझ ६ बजे उपप्रधानमन्त्री निधिलाई भेटेर भारत भ्रमणका विषयमा छलफल गरेका छन्। भारतीय प्रधानमन्त्रीसहित सबै शीर्ष नेता गणतन्त्र दिवसमा व्यस्त रहेको जनाउँदै उनले त्यसलगत्तै भ्रमण गर्न निधिलाई सुझाएका छन्। 'भारतको गणतन्त्र दिवसलगत्तै भ्रमण गर्ने विषयमा छलफल भयो,' निधिका स्वकीय सचिव विश्वास विक्रमले भने।

विदेश दूतका रूपमा विमलेन्द्र निधि भारतको गणतन्त्र दिवसलगत्तै नयाँदिल्ली पुग्ने छन् भने उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सोमबार बेइजिङतर्फ जाने तयारी छन्। दुवैको जिम्मेवारी सम्बन्ध सुधार गर्दै त्यहाँका राष्ट्रप्रमुखको नेपाल भ्रमण गराउने हो।

उपप्रधानमन्त्री निधि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटको समय निश्चित भएपछि मात्र दिल्ली उड्ने तयारीमा छन्। नयाँ दिल्ली रहँदा भारतका राष्ट्रपति प्रवण मुखर्जीका साथै शीर्ष नेतासँग भेटघाटको तयारीमा रहेका निधिले प्रधानमन्त्री दाहालको निकट भविष्यमा हुने भारत भ्रमण र त्यसक्रममा हुने सहमति–सम्झौताका विषयमा पनि दुईपक्षीय छलफल गर्ने छन्। त्यस्तै, यसअघि रोकिएको राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण गराउनका लागि पनि पहल गर्ने छन्।

'भारतका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता दिनुको साथै रोकिएको राष्ट्रपतिको भ्रमण गराउने मेरो प्रयास हुनेछ,' निधिले भने, 'प्रधानमन्त्रीको भ्रमण छिटो गराउने र त्यसबेला हुने छलफलका एजेन्डाको विषयमा पनि कुरा हुन्छ।'

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै छिमेकीसँगको सम्बन्ध सुधारका लागि सरकारले विशेष दूत पठाउन लागेका विषयमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन्। राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री दाहालले दुवै देशसँग सम्बन्ध सुधारका साथै त्यहाँका राष्ट्रप्रमुखको नेपाल भ्रमण गराउन पहल गर्ने जानकारी गराएका थिए। भेटका क्रममा प्रधानमन्त्रीले सरकारी विशेष दूतले रोकिएको राष्ट्रपतिको भारत भ्रमण अघि बढाउन पनि पहल गर्ने अवगत गराए।

'दुई उपप्रधानमन्त्रीको भारत र चीन भ्रमणका साथै पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री शीतलनिवास जानुभएको हो,' प्रधानमन्त्री दाहालनिकट पत्रकार गोविन्द आचार्यले भने। 

‘माग सम्बोधनले राष्ट्रियता सबल'

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले असन्तुष्ट पक्षको माग सम्बोधनपछि मात्र आन्तरिक राष्ट्रियता सबल हुने बताएका छन्। नेपाल प्रेस युनियनले शनिबार निधि र अर्का मन्त्री रमेश लेखकलाई बधाई तथा शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, 'तराई/मधेस, आदिवासी जनजाति र थारुका मुद्दा सम्बोधनले राष्ट्रय एकता मजबुत हुन्छ।'

कांग्रेस र माओवादीबीच भएको सात बुँदे सहमति र मधेसकेन्द्रित दलसँग भएको तीन बुँदे सहमति पनि असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्न नै भएको जनाउँदै निधिले वैवाहिक अंगीकृतलाई सरलीकृत गर्ने, जनसंख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्वको व्यवस्था गर्ने, संघीय प्रदेशको सीमांकन संशोधन गर्नेलगायत माग सम्बोधन हुने बताए।

त्यसका लागि संविधान संशोधनसम्म गर्न सकिने जानउँदै उनले भने, 'संविधान संशोधनपछि मोर्चालाई सरकारमा सहभागी गराउँदै तीनै तहको निर्वाचनमा जानुपर्छ।' कांग्रेस र माओवादीबीच एउटा पक्षले नमिल्दा द्वन्द्व हुने र मिल्दा शान्ति हुने यथार्थलाई बुझेर नै गठबन्धन निर्माण भएको हो,' उनले भने, 'केपी ओली र पुष्पकमल दाहालबीच झगडा गराएर मात्रै कांग्रेस सरकारमा गएको होइन।'

संविधान कार्यान्वयन गर्दै संघीय गणतन्त्रात्मक व्यवस्थालाई स्थायित्व दिन एमाले नेतृत्व सरकारले रुचि नदेखाएका कारण दुई दलीय गठबन्धन बनेको बताए। 'मूल कुरा शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउँदै संविधान कार्यान्वयन हो,' निधिले भने, 'त्यसका लागि असन्तुष्ट पक्षका कुरालाई सम्बोधन गर्नुपर्छ।'

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातयात मन्त्री रमेश लेखकले अबको १७ महिना (०७४ माघ ७) भित्र स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन हुन नसके मुलुक अप्ठ्यारोमा फस्ने बताए।

प्रकाशित: ३० श्रावण २०७३ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App