१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्राफिक अंकलले सिकायो सडक नियम

ललितपुरकाे सेन्टजेभियर्स स्कुलमा बुधबार ट्राफिक नियमसम्बन्धी फिल्म ट्राफिक अंकल हेर्दै बालबालिका । तस्बिर : रुबी

काठमाडौं – बुधबार बिहान ललितपुरको सेन्टजेभियर्स स्कुलमा अरू दिनभन्दा फरक माहोल थियो । स्कुल प्रांगणमा अन्य स्कुलका विद्यार्थीसमेत जम्मा भएका थिए । उनीहरूको एउटै जिज्ञासा थियो, ‘सडकमा पेटी नभएका ठाउँमा कसरी हिँड्ने ?’ महानगरीय ट्राफिक प्रहरी ललितपुरले बुधबार आयोजना गरेको ‘स्कुलमा ट्राफिक शिक्षा’ कार्यक्रममा सहभागी हुन अन्य स्कुलका नानी पनि जम्मा भएका थिए।

केहीबेरमा विद्यार्थीको जिज्ञासा ट्राफिक कार्यालय ललितपुरको प्रस्तुतिले मेटिदियो । इन्सपेक्टर सीताराम हाछेंथुद्वारा परिकल्पना तथा लेखन गरिएको ‘ट्राफिक अंकल’ नामक सर्ट मुभीले सडकमा कसरी हिँड्ने भन्ने जिज्ञासा मेटिएको हो।

१२ वटा ट्राफिक नियमबारे तयारी पारिएको ‘ट्राफिक अंकल’ मुभीको प्रथम अध्यायमै नातिनीले हजुरबुवालाई सडकमा पेटी नभएका ठाउँमा दायाँबाट हिँड्न सिकाइन् । यसले स्कुलमा उपस्थित सयौं विद्यार्थी तथा अभिभावकको सडकमा कसरी हिँड्ने भन्ने जिज्ञासासमेत मेटिदियो । सडकमा हिँड्न नजानेकै कारण धेरै दुर्घटना हुने गरेको हाछेंथुले बताए । ‘सडकमा पेटी छैन भने दायाँबाट हिँड्दा अगाडिबाट आइरहेका सवारी देखिन्छन् र दुर्घटना हुँदैन,’ उनले भने, ‘साथमा बच्चा छ भने उसलाई दायाँमा राखेर हिँड्नुपर्छ ।’ उनले प्लस टु मा अध्ययनरत विद्यार्थी र विशेष गरी बिहानका समयमा अध्ययनका लागि जाँदा तीनजना साथी बसेर तीव्र गतिमा मोटरबाइक चलाएको धेरै पाएको बताए । ‘ट्राफिक देखेपछिमात्र नियम पालना गर्ने र नदेखेपछि नियम उल्लंघन गर्ने विकृतिको अन्त्य गर्न ट्राफिक अंकल चेतनामूलक सामग्री हो,’ उनले भने।

कार्यक्रममा सहभागी आइडल मोडल स्कुलकी छात्रा प्रितिस्मा शाक्यले ट्राफिक अंकलबाट सडकमा हिँड्नेबारे ज्ञान पाएको सुनाइन् । ‘म ममीसँग बजार जाँदा सधैं उल्टो हिँड्दा अप्ठ्यारो हुने कारण बल्ल थाहा पाएँ,’ कक्षा ७ की प्रितिस्माले नागरिकसँग भनिन्, ‘अब घर पुगेर ममीलाई सधैं सडकमा दायाँबाट हिँड्न सिकाउनेछु।’

जनचेतनामूलक सामग्री समेटिएका मुभीमा दोस्रो अध्यायमा ट्राफिक बत्तीसम्बन्धी निर्देशन पालना गर्नेबारे विस्तृतमा देखाइएको छ । कार्यक्रममा सहभागी नर्सिङ तेस्रो वर्षकी छात्रा लक्ष्मी बस्नेतले बल्ल आएर सडकमा सही तरिकाले हिँड्न सिकेको सुनाइन् । ‘नर्स,डक्टर ,इन्जिनियर पढ्दैमा सबै जान्ने हुदैन भन्ने बुझियो,’ लक्ष्मीले ट्राफिक अंकल हेरेपछि प्रतिक्रिया दिइन्, ‘अब म घरछिमेक र आफन्तलाई समेत सडकमा हिँड्ने तरिका सिकाउने भएँ ।’ सोही कार्यक्रममा सेन्टजेभियर्सको कक्षा ८ का एक विद्यार्थीले आफ्ना बुवाले गाडी चलाउँदा कहिल्यै सिट बेल्ट प्रयोग  नगर्ने बताउँदै उनले बाबालाई सिट बेल्ट प्रयोग नगर्दाको बेफाइदा सुनाउने जनाए।

१२ वटा जनचेतनामूलक समेटिएको सामग्रीसहितको मुभीमा सडक काट्दा आकाशे पुल प्रयोग गर्नुपर्ने, गाडी चलाउँदा सिट बेल्ट अनिवार्य बाँध्नुपर्ने, सवारी चलाउँदा मदिरा सेवन नगर्ने, बिसौनीमै गाडी चढ्ने र ओर्लने, जेब्रा क्रसिङमै सडक काट्नुपर्ने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने, बाइक चलाउँदा हेलमेट अनिवार्य लगाउनुपर्ने र तीव्र गतिमा चलाउँदाको दुर्घटनाबारे व्यवहारिक जानकारीले विद्यार्थी निकै उत्साहित बने । ‘सूचना प्रसारका दृष्टिले विद्यार्थी प्रभावकारी माध्यम भएकाले हामीले स्कुल केन्द्रित ट्राफिक अंकल कार्यक्रममा मुभी  देखाएका हौं,’ डिआइजी सर्वेन्द्र खनालले विाद्यार्थीलाई भने, ‘जीवन भए सबैथोक छ, सिकेका कुरा आफ्ना अभिभावकलाई अवश्य सिकाउनु ।’ उनले थपे, ‘ट्राफिक व्यवस्थापन ट्राफिकको मात्र नभएर हामी सबै नागरिकको दायित्व हो । सभ्य नागरिकको देश बनाउन सबैले ट्राफिक नियमको पालना गर्नुपर्छ।’

ललितपुरका जिल्ला शिक्षा अधिकारी  देवेन्द्रराज खनालले सुनेर सिक्नुभन्दा हेरेर सिकेको विषयवस्तु बढी प्रभावकारी हुने भएकाले ‘ट्राफिक अंकल’ को सामग्रीलाई पाठ्यक्रममै राख्नपर्नेमा जोड दिए । प्याब्सन  ललितपुरका अध्यक्ष शिव कार्कीले पाठ्यक्रममा ट्राफिक शिक्षा राखिनुका साथै सचेतनामूलक सामग्री पनि स्कुलमा व्यवस्था हुनुपर्ने बताए । लिटिल एन्जल स्कुलका प्रिन्सिपल  मुकुन्द शर्माले हाल सवारी दुर्घटना बढीजसो प्लस टु र ब्याचलर स्तरका विद्यार्थीबाटै हुने गरेको जनाए । उनले भने, ‘त्यही भएर हामीले विद्यालयमा  थ्री एम अर्थात् मोबाइल फोन, मोटरबाइक र मिनि स्कर्ट प्रतिबन्धित गरेका छौं ।’

प्रकाशित: १८ माघ २०७४ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App