१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

क्रिकेटमा टालटुलले हुँदैन

राणाकालमै देश भित्रिएको नेपाली क्रिकेटमा टाइमलाइन समीक्षा महाभारत हुन सक्छ । तर नेपाली क्रिकेटमा सकारात्मक र नकारात्मक केही घटनाक्रम छन्, जसको स्मरण सान्दर्भिक हुन सक्छ । सफलताको चर्चा गर्दा २०१४ मा ट्वान्टी–२०  विश्वकप खेल्नु नेपालको अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि हो । त्यसबाहेक १९ वर्षमुनिको विश्वकपमा पटकपटक सहभागिता जनाउनु र विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउनु पनि नेपालको सफलता हो ।

यससँगै रोलर काण्ड, अख्तियार काण्ड, खेलाडी आन्दोलन, विवाद, जरिवाना र अन्तर्राष्ट्रिय निलम्बन नेपाली क्रिकेटका अँध्यारा पक्ष हुन् । सम्झँदै दुःख लाग्ने घटना हुन् । भौतिक र आर्थिक रूपमा अत्यन्तै कमजोर हुनाका बावजुद नेपाली टोलीले विश्वकप र विश्व क्रिकेट लिग च्याम्पियनसिपजस्ता ठूला प्रतियोगितामा रबाफिलो उपस्थिति जनाउँदा गर्वले फुल्ने नेपाली छाती लाजले खुम्च्याउने बिर्सनलायक घटना हुन् ।

नेपाली क्रिकेटको वर्षां पुरानो आन्तरिक विवाद, अपारदर्शिता, कुशासन, भ्रष्टाचारलगायतबाट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) आजित भइसकेको थियो । तर अन्तर्राष्ट्रिय स्तरमा हुने सबैखाले प्रतियोगितामा नेपाली टोलीले गर्ने खरो प्रदर्शन र कीर्तिपुरको मैदानमा क्रिकेट हुँदा उर्लिने मानवसागरका कारण मात्र आइसिसी नेपालप्रति सकारात्मक थियो । केही देशको सिमाना नाघ्न संघर्ष गरिरहेको क्रिकेटलाई विश्वव्यापी खेल बनाउने अभियानमा रहेको आइसिसीले नेपाली क्रिकेटको त्यही सम्भावनाका कारण हदैसम्मको अराजकता सहेर बसेको थियो ।

हरेक कुराको एउटा सिमाना हुन्छ । आइसिसीको सहनशीलताको पनि सिमाना थियो । दुई वर्षअघि नेपाली क्रिकेट विवादले दुई संघ अस्तित्वमा आएसँगै अदालतमा मुद्दा परेपछि आइसिसीले गत वर्ष वैशाखमा सरकारी हस्तक्षेपको बहानामा विवाद नमिलाएसम्मका लागि भनेर नेपाल क्रिकेट संघको सदस्यता आइसिसीले निलम्बनमा राख्यो । बहाना २०७२ मंसिरमा साधारणसभाबाट चुनिएको चतुरबहादुर चन्द नेतृत्वको कार्यसमितिलाई राखेपले मान्यता दिएन । सदस्यसचिव केशवकुमार विष्टले चन्द कमिटीलाई अमान्य घोषणा गर्दै एक महिनापछि रमेश सिलवालको अध्यक्षतामा अर्को तदर्थ कमिटी बनाए ।त्यसविरुद्ध चन्द पक्षले अदालतको गुहार माग्यो । अदालतमा मुद्दा अझै विचाराधीन छ ।
नेपालभित्रको विवाद चरमोत्कर्षमा पुगिरहेका बेला आइसिसी भने यहाँको वर्षांपुरानो नालायकीबाट मुक्ति चाहिरहेको थियो । आइसिसी नेपाल क्रिकेट संघमा विवादरहित अवस्थाका साथै आफूले चाहेका व्यक्तिहरूको हालीमुहाली हेर्न चाहन्थ्यो । जहाँ राखेप सदस्यसचिव विष्टको निर्णय नेपाली क्रिकेटमाथि हस्तक्षेप गर्ने वातावरण खोजिरहेको आइसिसीका लागि बाँदरलाई भ¥याङजस्तै भयो । १९८८ मा एफिलिएट सदस्य हुँदै आइसिसीसँग आबद्ध भएको नेपाली क्रिकेट प्रशासनमाथि निलम्बनका नाममा सबभन्दा ठूलो कारबाही भयो । त्यसयता निलम्बन फुकुवाका लागि नेपाली क्रिकेट तड्पिइरहेको छ ।

नेपाली क्रिकेटको सम्भावनाबाट राम्ररी जानकार भएकै कारण आइसिसीले प्रशासनलाई पाठ सिकाउनका लागि निलम्बनका नाममा डन्डा लगाउन खोजेको थियो । यो निलम्बन नेपाललाई आफ्नो परिवारबाट वाहिर निकाल्ने सोचका साथ भएको थिएन । त्यसको प्रमाणका रूपमा बारम्बार आइसिसीका उच्च अधिकारी समस्या मिलाउन नेपाल आइरहनुलाई लिन सकिन्छ ।

आइसिसीका एसोसिएट्स कार्यवाहक अध्यक्ष इमरान ख्वाजाले पछिल्लो भ्रमणमा राखेको भनाइले पनि यसलाई पुष्टि गर्छ । ख्वाजाले भनेका थिए, ‘नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो सम्भावना बोकेको देश हो । त्यसैले हामीले नेपाललाई बढी महत्व दिएका हौं । बारम्बार आइरहेका हौं । अरू देशमा यस्तो हुँदा हामी नेपाल जसरी बारम्बार त्यहाँ जाँदैनौं । तर नेपालको हकमा पनि यो हाम्रो अन्तिम प्रयास हो । यसपालि पनि समस्या समाधान नभए हामी फरक ढंगले सोच्न बाध्य हुनेछौं ।’

आइसिसीको पछिल्लो कारबाही र बारम्बार पाइरहेको अवसरका कारण अहिले नेपाली क्रिकेटका सरोकारवालाहरूले पाठ सिकेको देखिन्छ । ख्वाजा नेतृत्वमा शनिबार आएको आइसिसी टोली सोमबार साँझ फर्किने बेलासम्म धेरै विषयमा सहमति भएको बताइएको छ । मंगलबार सरोकारवालाहरूले संयुक्त पत्रकार सम्मेलन गरेर पनि चेत खुलेको स्विकारेका छन् । जसले विवादको लामो शृंखलाबाट नेपाली क्रिकेटले निकास पाउने संकेत देखाएको छ ।

सबै पक्ष क्रिकेटका लागि लचिलो भएको भन्दै निकासको माध्यमका रूपमा आफूलाई स्थापित गर्न खोज्दै छन् । जसले जस्तो भूमिका खोजे पनि, जसले जति जस खोजे पनि एउटा कुरा पक्का छ, नेपाली क्रिकेट यस्तो दयनीय र दुर्भाग्यजनक अवस्थामा आइपुग्नुमा सबै उत्तिकै दोषी छन् । इतिहासले यिनलाई हकलाग्दो अपजसको भारी बोकाउला । साथमा क्रिकेटको सकारात्मक पक्षमा पनि यी सबको थोर बहुत योगदान छ । त्यसैले अहिले निकास निस्कने सर्तमा सबैलाई जस दिन कन्जुस्याइँ गर्नु पर्दैन । तर अब निकास नामको लेप लगाएर विवादको रूप लिएको स्वार्थको संघर्षलाई टालटुल गर्नु हुँदैन ।

सरोकारवाला सबैको चेत खुलेको अवस्थामा अब निकास निक्कँदा फेरि नेपाली क्रिकेटलाई रोलर काण्डको बोझले नथिच्ने ग्यारेन्टी गरिनुपर्छ । पेस्की र बेरुजुले फेरि नेपाली क्रिकेटलाई बिझाउनु हुन्न । अख्तियारको ढोकामा नेपाली क्रिकेट उभिनु हुन्न । आइसिसीले जरिवाना गर्ने अवस्थाको कल्पना पनि नगर्ने अवस्थामा नेपाली क्रिकेट पुग्नुपर्छ । खेलाडीले राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्ने र प्रशासनविरुद्ध उभिनुपर्ने दिन देख्नु नपरोस् भन्ने बेलैमा सोचिनुपर्छ ।

अबको निकासले यस्ता सबै विषयको ग्यारेन्टी गर्नुपर्छ । र त्यसका लागि नेपाली क्रिकेट पद्धतिमा चल्नुपर्छ । क्रिकेटमा लाग्छु भन्नेले यो खेलको भलाद्मीपनालाई मनैदेखि स्विकार्न सक्नुपर्छ । अन्यथा आफू र आफ्ना स्वार्थलाई केन्द्रमा राखेर क्रिकेट सोच्नेहरूलाई भलाद्मीको खेलमा संलग्न हुने अधिकार छैन । अहिले सहमति गरिरहँदा पनि त्यसमा खेल्न सकिने छेद खोज्नु हुँदैन । त्यो भलाद्मीको खेललाई सुहाउन्न ।

निकास नामको लेप लगाएर विवादको रूप लिएको स्वार्थको संघर्षलाई टालटुल गर्नु हुँदैन । सरोकारवाला सबैको चेत खुलेको अवस्थामा अब निकास निक्कँदा फेरि नेपाली क्रिकेटलाई रोलर काण्डको बोझले नथिच्ने ग्यारेन्टी गरिनुपर्छ । त्यसका लागि नेपाली क्रिकेट पद्धतिमा चल्नुपर्छ ।

प्रकाशित: १७ माघ २०७४ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App