१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाह्र दिनसम्म सुत्केरीको पाठेघरमा ‘प्याड’

बागलुङ – धौलागिरी अञ्चल अस्पताल, बागलुङले प्रसूति सेवामा गम्भीर खेलवाड गरेको पाइएको छ। जिल्लाको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछि आइतबार निकालिएको छ। प्रसूतिपछि रक्तस्राव रोक्न प्रयोग गरिएको ‘प्याड’ पाठेघरभित्रै छोडेर स्वास्थ्यकर्मीले टाँका लगाइएका थिए। स्वास्थ्यकर्मीको चरम लापरबाही र असावधानीका कारण थापामगरले गम्भीर स्वास्थ्य समस्या झेल्न बाध्य हुनुपरेको छ। 

साधारण प्रसूतिपछि पनि समस्या बल्झिँदै गएपछि अस्पतालमा जाँच गराउँदा पाठेघरमा ‘प्याड’ भेटिएको उनका श्रीमान् किरण थापाले बताए। 

“सुत्केरी हुँदाको घाउ निको होलाभन्दा झन् बल्झियो, पीडा पनि कम भएन” थापाले भने “अहिले थाहा भयो कारण यस्तो रहेछ ।” शुरुमा चिकित्सकको परामर्शमा घाउ सुकाउन र दुखाइ कम गर्न औषधिसमेत चलाइएको उनको भनाइ छ। योनीद्वारबाट पिपजस्तो गन्हाउने पानी बग्न थालेपछि परिवारले पुनः परीक्षणको लागि अञ्चल अस्पताल लगेका थिए। 

पछिल्लो समय थापामगरलाई पिसाब फेर्नसमेत कठिन हुँदै गएको थियो। “अरुलाई समस्याभन्दा सुत्केरी हुँदा सामान्य दुखाइ हुन्छ भन्थे”, सुत्केरी अवस्थाकी थापामगरले भने, “सोच्दै नसोचेको कुरा भएको रहेछ, पाठेघरमा सडेको प्याडले इन्फेक्सन गराउँछ कि भन्ने डर छ ।” 

स्वास्थ्यकर्मीले कमजोरी स्वीकार्नुको सट्टा उल्टो अभद्र व्यवहार गरेको उनको गुनासो छ। “सफा गरेपछि तत्कालै प्याड निकाल्नुपर्ने, अस्पतालको कति ठूलो लापरबाही १”, उनले भने। 

अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले भने आफूलाई उक्त घटनाबारे केही थाहा नभएको प्रतिक्रिया दिए। प्रसूतिमा हुने रक्तस्राव रोक्न प्रयोग गरिने प्याड केही समयमै निकालिने उनको भनाइ छ। “घटनाबारे हामी बुझ्छौँ, प्रसूतिमा संलग्न चिकित्सक र नर्ससँग जानकारी लिने काम हुन्छ” उनले भने। सुत्केरी महिलाका परिवारजन र आफन्तले अस्पतालको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन्। 

यस्ता घटनाले अस्पतालप्रतिको जनविश्वासमा ह्रास आउने जैमिनी नगरपालिका–७ जैदीका विजय रानाले बताए। घटनाको जिम्मा लिएर आउँदा दिनमा गल्ती दोहोरिन नदिन अस्पताल प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ। धौलागिरि अञ्चल अस्पताल जिल्लामै सबैभन्दा बढी संख्यामा प्रसूति गराउने स्वास्थ्य संस्था हो। यस अस्पतालमा शल्यक्रिया सेवामार्फत पनि प्रसूति गराउने गरिएको छ। 

प्रकाशित: १६ माघ २०७४ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App