१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

२७ करोड सकियो, देखिँदैन उपलब्धि

गोकर्ण यज्ञडोल डाँडास्थित राष्ट्रिय सहिद तथा निजामती पार्कमा निर्माणाधीन स्मारक । तस्बिर - नागरिक

काठमाडौं –गोकर्ण यज्ञडोल डाँडामा ६ सय ५० रोपनी सामुदायिक वनमा ‘राष्ट्रिय सहिद तथा निजामती पार्क’ बनाउन २०६८ सालमा शिलान्यास भएको थियो । शिलान्यासपछि ६ वर्ष बित्दा त्यस डाँडामा २७ करोड ३२ लाख ८१ हजार रुपैयाँ सकिएको छ । सहिदका नामको पार्कमा संग्रहालय, पिरामिड, मूर्तिस्थल, पिकनिक क्षेत्र, शान्तिस्तूप, चैत्य, सार्वजनिक शौचालय, बगैंचा, पैदल मार्गलगायत बनाउने योजना कागजमै सीमित छ ।

संग्रहालयको नाममा बनेको भवन जीर्ण भइसकेको छ । बगैंचाको नाममा फूल, बोटबिरुवा केही पनि रोपिएको छैन । भ्युटावरको नाममा केही फलाम ठड्याएर छाडिएको छ । बनाउँदाबनाउँदै छाडिएकाले फलाममा खिया लागिसकेको छ । सानाठूला गरी तीनवटा भवन छन् । एउटा भवनमा फलामका डन्डीमात्र ठड्याइएका छन् । सरकारले त्यस ठाउँमा सहिद पार्क बनाउने नाममा ४६ करोड ७१ लाख छुट्याएको थियो । अस्तव्यस्त देखिने सहिद पार्कको नाममा अहिलेसम्म करिब ६० प्रतिशत बजेट सकिएको छ । सहिद दिवसका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि बनेर पुग्ने भनेपछि चार दिनअघि त्यहाँ पुग्दा स्मारक क्षेत्रवरिपरि सरसफाइ भइरहेको थियो ।

पार्कको मुख्य गेटमा लेखिएको छ, ‘गोकर्ण राष्ट्रिय सहिद तथा निजामती पार्क’ । गेटको छेउबाट भित्र पस्ने बाटो छ । गेटनेर काउन्टर छ । बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म प्रतिव्यक्ति १० रुपैयाँका दरले टिकट काटेर भित्र पस्न पाइन्छ । पिकनिक जाने, सवारीसाधन पार्किङ गर्नेले छुट्टै शुल्क तिर्नुपर्छ ।

बनाउँदाबनाउँदै छाडिएको संग्रहालय

स्मृति स्मारक तथा शान्ति पिरामिड संग्रहालयलाई सरकारले ७ करोड ४२ लाख छुट्याएको थियो । कागजमा यसको ३७ प्रतिशत काम फत्ते भइसकेको छ । ५० प्रतिशत बजेट सकिएको छ ।
संग्रहालयको बाहिरी आकार बनेजस्तो देखिन्छ तर बनाउँदाबनाउँदै जीर्ण भइसकेको छ । गोलोकार बनाइएको भवनको झ्यालका सबै सिसा फुटेका छन् । ढोका भाँचिएका छन् ।
कागजअनुसार पानीट्यांकी तथा ढल, पैदलमार्र्ग, गेट तथा गार्ड सेड, पार्किङ क्षेत्र, रिटेनिङ पर्खाल, निजामती स्मारक पार्क, धुन्सा स्मारक पार्क र सार्वजनिक शौचालयका नाममा ४ करोड ४० लाख सकिएको छ ।

धुन्सा स्मृति भवन पनि अधुरै
ताप्लेजुङको धुन्सामा विमान दुर्घटनामा निधन भएका हर्क गुरुङलगायतको सम्झनामा बनाइने भनिएको ‘धुन्सा स्मृति’ भवनमा फलामका डन्डीमात्र देख्न सकिन्छ । भवनमा पिल्लर र छानामा फलामका डन्डी राखिएको छ । काम गर्दागर्दै ठेकेदार भागेका कारण बीचमै बन्द भएको पार्क निर्माण मूल समितिका अध्यक्ष सुदर्शन सिग्देलले बताए ।

त्यसैगरी सूचना केन्द्र, रेस्टुराँ, हल, सामुदायिक भवनका नाममा ३ करोड २१ लाख सकिएको छ । त्यहाँ कुनै सूचना केन्द्र र पसल देख्न पाइँदैन । मूर्तिस्थल, चार सहिद पार्क, शान्ति स्तूप, चैत्य र बगैंचाको नाममा ५५ लाख रुपैयाँ खर्च भइसकेको छ । कागजमा ६० प्रतिशत काम भइसकेको देखाइए पनि त्यहाँ कुनै बगैंचा वा मूर्ति देख्न सकिएन ।

पिकनिक क्षेत्र, भ्युटावर, खानेपानी, तारबार, आन्दोलन पार्कलगायतका नाममा ४७ लाख ४७ हजार रुपैयाँ सकिएको छ । भ्युटावरको नाममा फलामका डन्डीमात्र ठड्याइएको छ । वृक्षरोपण तथा मूर्ति, पहुँचमार्गका नाममा ९२ लाख ३३ हजार रुपैयाँ खर्च भइसकेको छ । कागजमा ३२ प्रतिशत काम भएको छ । त्यस स्थानमा पुग्दा वृक्ष रोपिएको वा कुनै मूर्ति देख्न पाइएन ।

मुख्य प्रवेशद्वार, त्यसभित्रका वाल, फुटपाथ सिँढी, सडक सुधार, कम्पाउन्ड वाललगायतको नाममा ११ करोड ५६ लाख रुपैयाँ खर्च भइसकेको छ । मुख्य प्रवेशद्वार बनेको छ । फुटपाथमा केही सिँढी बनेका छन् । कम्पाउन्ड वालका रुपमा सामान्य रुपमा तारबार गरिएको छ । यी काम कागजमा शतप्रतिशत सकिएको उल्लेख छ ।

निर्माण सुपरीवेक्षण तथा आयोजना व्यवस्थापनका नाममा ५० लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । यो काम कागजमा ७९ प्रतिशत सकिएको देखाइएको छ । सडक कालोपत्रे, मर्मत सम्भार निर्देशिका तयार, क्षमता विकास कार्यक्रम, रेन्जपोस्ट भवनका लागि १ करोड ९३ लाख रुपैयाँ खर्च भइसकेको छ । कागजमा ४८ प्रतिशत काम भएको उल्लेख छ ।

पार्क स्थापनाको उद्देश्य
यज्ञडोल सामुदायिक वन उपभोक्ता समितिद्वारा राष्ट्रिय सहिद स्मारक पार्क बनाउन सरकारसँग माग भएपछि स्वीकृत गरिएको थियो । पार्क निर्माणको उद्देश्य ‘दोस्रो जनआन्दोलनको अभिलेख राख्न, सहिदलाई श्रद्धा व्यक्त गर्न, सहिद भएका निजामती कर्मचारी, धुन्सा दुर्घटनामा निधन भएका वनविज्ञको स्मरण गर्न, शान्ति तथा एकताको सन्देश फैलाउन’ भन्ने राखिएको छ ।
सहिद पार्क निर्माणको द्वन्द्वोत्तर शान्ति तथा पुनर्निर्माण परियोजनाले अनुगमन गर्छ । परियोजनाका अनुसार मुख्य गेट, प्रहरी बिट र समितिको सचिवालय भवनको मात्र काम सकिएको छ, बाँकी निर्माणाधीन अवस्थामा छ । समयमा काम पूरा नभएकाले ठेकेदारहरुलाई कारबाही गर्ने विषयमा समेत छलफल भएको थियो ।

सहिद पार्कको आयोजना प्रमुख रहेकी सुदिना कुइँकेलले सुरुमा वनको कारणले रोकिएको, त्यसपछि भूकम्पको कारणले रोकिएकाले सन्तोषजनक काम हुन नसकेको बताइन् । ‘ठेकेदारको लापरबाही देखिएको छ,’ सिनियर डिभिजन इन्जिनियर कुइँकेलले भनिन्, ‘निर्माणाधीन अवस्थामा रहेको र बनिनसकेकाले सिसा फुटेकोमा चिन्ता लिनु पर्दैन । ठेकेदारले पूरा गरेर हामीलाई हस्तान्तरण गर्ने हो ।’
परियोजनाको समय तीन वर्षको थियो । खुला र धेरै क्षेत्र भएकाले सबै काम फिनिसिङको चरणमा नपुगेको उनले बताइन् । सन्तोषजनक काम नभएको र बनेका संरचना संरक्षण हुन नसकेको उनले स्वीकार गरिन् । ठेकेदारले आगामी असार मसान्तभित्र काम सकेर बुझाउनुपर्नेछ । ५ जना ठेकेदारले निर्माणको जिम्मा लिएका छन् ।

उपराष्ट्रपति यज्ञडोल जाने
यस वर्षको सहिद दिवस मंगलबार परेको छ । हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । यसपटक सहिद दिवसका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन सहिद पार्क जाने कार्यक्रम छ । सहिद दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रममा उपराष्ट्रपति पुन सहभागी हुने द्वन्द्वोत्तर शान्ति तथा पुनर्निर्माण परियोजनाले जनाएको छ  ।

कोकोले गरेका थिए शिलान्यास
२०६८ सालमा ५ नेताले पार्कका विभिन्न संरचनाको शिलान्यास गरेका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले ‘सहिद संग्रहालय’को शिलान्यास गरेका थिए । त्यसैगरी ‘धुन्सा स्मृति स्मारक’ को तत्कालीन कांग्रेस सभापति सुशील कोइराला, ‘सहिद स्मारक’ को तत्कालीन शान्तिमन्त्री जनार्दन शर्मा र पोस्टबहादुर बोगटीले संयुक्त रुपमा, ‘निजामती स्मारक पार्क’ को तत्कालीन मुख्यसचिव माधव घिमिरेले शिलान्यास गरेका थिए ।

अध्यक्ष सिग्देलले सहिद स्मारक र संग्रहालयको काम ८० प्रतिशत सकिएको बताए । अरु काम ७० प्रतिशत सकिएको उनको दाबी छ । उनले भने, ‘पैसा खर्च भएको आधारमा काम सकिएको हो । ४६ करोडको आयोजना थियो । २७ करोड सकिएको छ ।’निर्माण कार्य ढिला हुनुमा टेन्डर प्रक्रिया कारक भएको उनको भनाइ छ । ‘टेन्डर पारेका मान्छे भागे । वनको जग्गा भएकाले ऐनअनुसार रुख काट्नेलगायतका निर्णय गर्न एक वर्ष लाग्यो,’ उनले भने, ‘त्यसपछि भूकम्प, नाकाबन्दीलगायतका कारण काममा ढिलो भएको हो ।’
 

प्रकाशित: १६ माघ २०७४ ००:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App