१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘सहरवासी सहनशील छन्’

अनुपविक्रम शाही, अभिनेता

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई मनपर्ने सहर पोखरा हो । पोखरा सफा र शान्त छ । यहाँ हिमाल, ताल र प्राकृतिक हराभरा हेर्न पाइन्छ। पोखरामा घुम्ने र रम्ने ठाउँ प्रशस्त छन् । काठमाडौं पनि पोखराजस्तै सफा भइदिए धेरै राम्रो सहर बन्थ्यो होला।

नेपालबाहिर मनपर्ने सहर कुन हो ?
मलाई लन्डन मनपर्छ। तीनपल्टसम्म लन्डन पुगेँ । यहाँ हरेक खालका सेवा–सुविधा लिन नागरिकले सास्ती खेप्नुपर्दैन । आधुनिक सहरको रूपमा विकास भएको छ। पुराना ऐतिहासिक वस्तु सहरी इलाकामा संग्रहित गरेर राखिएको छ । हाम्रोमा भएका कला र सम्पदा पनि मासिँदै छन्। पुरानो संस्कृति संरक्षण गर्ने कोही छैन । घुमेका देशका सहर एकदमै व्यवस्थित र सफा थिए । जापान, दुबई, मकाउलगायत अन्य देश पनि घुमेको छु। विदेशका सहर मनमोहक छन् । सहरमा कतै पनि प्रदूषण देखिन्न।

हाम्रा सहर किन अव्यवस्थित भएका होलान् ?
प्रकृतिले दिएको वरदानलाई हामीले चिन्न सकेनौँ । ऐतिहासिक सम्पदाको मूल्य बुझिरहेका छैनौँ । यस्तै हो भने हामीले हाम्रो इतिहास खोज्न अरु देश जानुपर्ने स्थिति नआउला भन्न सकिन्न । विदेशीहरू नेपालमा आएर यहाँका ऐतिहासिक पक्षको अध्ययन गरिरहेका छन्, तर हामीले हाम्रो मौलिक संस्कृतिलाई भुल्दै छौँ । ऐतिहासिक र भौगोलिक पक्षलाई हेर्दा हाम्रा सहर अरु देशका भन्दा धेरै राम्रा छन् । सरकारले सहरको विकासतर्फ ध्यान नदिँदा भएका सम्भावना पनि लुकेर बसेका छन्।

उपत्यका कस्तो लाग्छ ?
उपत्यका अति नै अस्तव्यस्त छ। सहर धुलोमान्डु भएको छ। जताततै फोहोर र अव्यवस्थित मात्रै देखिन्छ । सहरभित्र आनन्द लिने ठाउँ छैनन् । जता गयो, भीडभाड मात्रै देखिन्छ । म काठमाडौंमै जन्मिएको हुँ। यो सहर पहिले यति अव्यवस्थित थिएन । अहिले मानिसको चाप बढ्यो । सबै राजधानी भन्दै आए, तर सरकारले जनसंख्याअनुसार सहरलाई व्यवस्थित पार्न सकेन । सडक विस्तारको कामले एकदमै प्रदूषण फैलाएको छ । भइरहेका कामलाई मूर्तरूप दिनेतर्फ सरकारको चासै नभएका कारण सहर अव्यवस्थित भएको हो ।

तपाईंको विचारमा सहर बिग्रनुको कारण के होला ?
हामी सबै गैरजिम्मेवारी भएकाले सहर यति कुरूप भएको हो । सहरमा बस्ने कसैलाई पनि जथाभावी फोहोर फाल्नु हुन्न, सहर बिग्रन्छ भन्ने चेतना छैन । चेतना भएकामा पनि अनुशासन छैन । अर्को कारण राजनीति पनि हो । यहाँ हरेक ठाउँमा राजनीति हुन्छ । कसैले पनि सहर सफा र हराभर राख्नुपर्छ भन्ने सौच्दैनन् । नेतृत्वमा भएका ठुल्ठूला नेता लगभग विश्व नै घुमिसकेका छन्, तर अरु सहरको सिको गर्न सकेनन् । खाली खोक्रा भाषण मात्रै दिए । जिम्मेवार निकायले काम गरेको भए सहर यति बिग्रने थिएन होला ।

उपत्यकाको दिक्क लाग्ने पक्ष के हो ?
ट्राफिक जाम, धुवाँधुलो र मानिसको भीडभाड देख्दा दिक्क लाग्छ । सहरमा बस्नेको बानी पनि राम्रो लाग्दैन । सबै आफ्नोबारे मात्रै सोच्छन् । मेरो कारण सहर फोहोर भयो भनेर कसैले सोच्दैनन् ।
सरकारले यहाँ भएका सेवा–सुविधालाई अन्य ठाउँमा पनि विकेन्द्रीकरण गर्ने हो भने काठमाडौं खुकुलो हुन्थ्यो । सहरवासीले पनि विकास निर्माणप्रति सरकारलाई घचघच्याउन आवश्यक ठान्छु ।

काठमाडौंको राम्रो लाग्ने पक्ष ?
उपत्यकाको मौसम सदावहार छ । विदेशीहरू नेपालको मौसम र हावापानी राम्रो भएकाले यहाँ आउन खोज्छन् । यहाँका पुराना मठ–मन्दिर, धार्मिक क्षेत्र पनि राम्रो लाग्ने पक्ष हुन् ।

सरकारले कसरी काम गर्ने हो भने सहर व्यवस्थित बन्ला ?
सहर बिग्रनुको मुख्य कारण सरकारी नियम पालना नहुनु नै हो । यहाँ कानुन छ, तर पालना हुँदैन । भएका नीति–नियमलाई कार्यान्वयन गराउने हो भने सहर व्यवस्थित हुन्थ्यो । भइरहेको विकास निर्माणका कामलाई चाँडै सक्नुपर्छ । सरकारका कारण आमनागरिकलाई पनि अवरोध खेप्नुपरेको छ । हामीले कर तिर्छौं, तर सरकारले हामीलाई कुनै पनि सेवा–सुविधा सहजै दिन सकेको छैन । यो दुःखको कुरा हो । जसले सहर बनाउने अभिभारा बोकेको छ, उसले काम गरेको भए सहर अलि व्यवस्थित भइसक्थ्यो होला ।

सहरवासीको बानी कस्तो लाग्छ ?
सहरवासी सहनशील छौँ । सरकारले जे गरे पनि हेरेर बस्छौँ । एक भएर सरकारको नकारात्मक कदमविरुद्ध उठ्ने बानी सहरवासीको छैन । नागरिकले पनि सरकारी निकायलाई घचघच्याउन सकेको भए सहर यति साह्रै बिग्रँदैनथ्यो होला । उपत्यकामा यहाँ सबै जाती छन् । एकले अर्कोको संस्कृति मान्छन् । तर, पछिल्लो समय अति नै भद्रगोल बनेको छ ।

तपाईंको सपनाको सहर कस्तो हुनुपर्ला ?
मेरो सपनाको सहर सफा होस् । सहरका हरेक सेवा–सुविधा चुस्तदुरुस्त होऊन् । सबैतिर हरियाली, फराकिला सडक, एकनास घर होऊन् । यति भयो भने सहरमा बसेको छु भन्ने महसुस हुन्छ ।

विदेशका सहरको मौलिक र ऐतिहासिक पक्ष कस्तो लाग्यो ?
मौलिकता र इतिहासलाई हेर्दा हामी धेरै अघि छौँ । हाम्रा सहरको विशेषता र मौलिकता अरु देशका सहरभन्दा पृथक् छन् । यहाँका सहरले पुरानो इतिहास बोलेका छन् । चाडपर्व र मौलिक जात्राले गर्दा नेपालका सहर धेरै रमणीय र ऐतिहासिक छन् । नेपालमा जस्तो प्राकृतिक सौन्दर्य भएको देश विश्वमा अन्त छैन । आधुनिकता र नीति–नियमको हिसाबले विदेशी सहर धेरै राम्रा र व्यवस्थित छन्, सफा छन् । सुविधायुक्त छन् ।

पछिल्लो समय पुगेको सहर कुन हो ?
लन्डन पुगेको थिएँ ।

मन भएर पनि पुग्न नपाएको सहर कुन हो ?
मलाई नेपालकै केही ठाउँ घुम्ने रहर छ । एकदमै पुग्न मन लागेको ठाउँ अन्नपूर्ण बेस क्याम्प र रारा हो । समय जु¥यो भने यी ठाउँमा छिटै पुग्नेछु ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १५ माघ २०७४ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App