१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

गजेन्द्र मोक्ष कि त्रिवेणी धाम ?

चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत रहँदा निकुञ्जको सीमाङ्कन गर्ने टोलीका प्रमुख तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रथम महानिर्देशक विश्वनाथ उप्रेतीले सोध्नुभएको थियो– ‘गजेन्द्र मोक्षको पोस्टरहरूमा त तलाउ देखिन्छ, त्रिवेणीको नारायणी (गण्डकी) नदी किनारमा कसरी गजेन्द्र मोक्ष धाम भयो ?’ मैले उहाँलाई परापूर्वकालमा भएको घटना हो भन्ने उत्तर दिएँ । केही समयपछि श्रीमद्भागवत् कथा श्रवण गर्ने क्रममा वाचक आचार्यले भन्नुभयो– ‘गजेन्द्रको मोक्ष स्वर्गमा रहेको त्रिकुट पहाडको फेदीमा रहेको विशाल तलाउ (क्षीर सागर) मा भएको घटना हो ।’ त्यसपछि मैले श्रीमद्भागवत् खोजेँ र पढेँ ।

श्रीमद्भागवतम् आठौँ स्कन्धको दुई, तीन र चार अध्यायमा भगवान्ले कसरी चतुर्थ मनुको राज्यकालमा हात्तीका राजा गजेन्द्रको संरक्षण प्रदान गर्नुभयो भन्नेबारेमा शुकदेव स्वामीले महाराज परीक्षितलाई बताउनुभएको उल्लेख छ । अध्याय दुईका श्लोकमा आफ्नी ढोईसहित सपरिवार तलाउमा क्रिडा गर्न गएका बखत गजेन्द्रलाई परेको संकटबारे बताइएको छ ।
श्रीशुकउवाच
आसीद्गिरिवरो राजंस्त्रिकूट इतिविश्रुतः ।
क्षीरोदेनावृतःश्रीमान्योजनायुतमुच्छ्रितः ।।१।।
    
यस श्लोकको तात्पर्य हुन्छ– शुकदेव गोस्वामीले भन्नुभयो– हे राजन् ! त्रिकुट नामको एक विशाल पर्वत छ । यो दश हजार योजन अर्थात ८० हजार माइल अग्लो छ । यस पर्वतलाई चारैतिरबाट क्षीरसागरद्वारा घेरिएका हुनाले यो अत्यन्तै रमणीय छ । फलाम, चाँदी र सुनले बनेका तीन प्रमुख शृङ्खलाले चारै दिशा र आकाशलाई सुन्दरता प्रदान गरेका छन् भन्ने अध्याय दुईको श्लोक दुईमा उल्लेख छ ।

त्रिवेणी धाम भगवान् श्रीराम, लक्ष्मण र सीता माताको चरण स्पर्श भएको पवित्र तीर्थस्थल हो ।    

यसै अध्यायको श्लोक ९–१३ सम्म स्वर्गमा त्रिकुट पर्वतको फेदी (घाँटी) मा ऋतुमत् नामको बगैँंचा थियो । देवीदेवताको क्रिडास्थल रहेको उक्त बगैँचा भगवान्का महान् भक्त वरुण देवताको थियो । हे राजन ! विधिको विधान अचम्मको छ, गजराज अत्यन्तै बलशाली हुँदा पनि आफ्नो बासस्थानमा हात्तीको बथानले गरेका क्रियाकलापका कारण गजेन्द्रप्रति क्रुद्ध गोहीले उनको खुट्टा पक्रेर आक्रमण गर्याे । यस्तो दुर्दशाबाट छुटकारा पाउनका लागि गजेन्द्रले भरमग्दुर प्रयत्न गरे।

धेरै लामो समयसम्मको संघर्षपश्चात पनि गोहीको आक्रमणबाट छुटकारा पाउन नसकेका गजेन्द्रको मानसिक, शारीरिक तथा इन्द्रिय शक्ति घट्दै गइरहेको थियो । यसको विपरीत गोही जलचर प्राणी भएकाले उसको उत्साह, शारीरिक शक्ति तथा इन्द्रिय शक्ति बढ्दै गइरहेको थियो । एकातिर गजेन्द्र गोहीको पासोमा झन्झन् फस्दै गइरहेका थिए, उनका साथीसंगी डरले तलाउ छाडेर भागिसकेका थिए भने उनकी ढोईले पनि उनलाई बचाउन सक्ने सम्भावना थिएन । यस्तो अवस्था देखेपछि गजराजले भगवान्को शरणमा जाने निश्चय गरे भनेर दोस्रो अध्यायमा बताइएको छ।

अध्याय तीनमा तिनै गजेन्द्र पूर्वजन्ममा इन्द्रद्युम्न थिए, संकट आइपर्दा उनले कृष्णको कृपाले मन्त्र स्मरण गरेर भगवान्को प्रार्थना गर्न थाले । ॐ नमो भगवते वासुदेवाय भन्ने श्लोकबाट मन्त्रोच्चरण गरे । म भगवान्कै शरण ग्रहण गर्छु भन्ने उनको स्तुति सुनेर भगवान् नारायण गरुडमा चढेर सवार हुनुभयो र पानीबाहिर निकालेर सुदर्शन चक्रबाट गोहीको उद्धार गर्नुभयो ।

त्यसैगरी अध्याय चारमा उक्त गोही तत्काल गन्धर्व बन्यो भने भगवान्ले स्पर्श गरेका कारण गजेन्द्र सारुप्य मुक्ति प्राप्त गरी चतुर्भुजरूपमा भगवान् विष्णुको पार्षद बनेर वैकुण्ठ लोकमा पुगे । गोही एकाएक कसरी गन्धर्व बने त ? गन्धर्व लोकमा एकजना हुहु राजा थिए र उनले जलक्रिडाको समयमा देवलऋषिको खुट्टा तानेपछि ऋषि क्रुद्ध भई गोही बन्ने श्राप दिए । तत्पश्चात राजाले ऋषिसँग क्षमा मागे । ऋषिले भगवानबाट गजेन्द्रको मोक्ष हुँदा तिम्रो पनि उद्धार हुनेछ भन्ने बरदान दिए ।

त्यसो भए गजेन्द्र को थिए त ? पूर्वजन्ममा गजेन्द्र भगवान् विष्णुका महान् भक्त थिए । उनी दक्षिण भारतको तामिल (द्रविड) राज्यका राजा थिए र उनको नाम इन्द्रद्युम्न थियो । राजकाज त्यागेर उनी मलयाचल पहाडमा कुटी बनाएर भगवानको नित्य पूजा गर्न थाले । एकदिन आफ्ना शिष्यसहित अगस्त्यमुनि कुटीमा आउँदा भगवान्को ध्यानमा तल्लीन भएका कारण राजाले ऋषिको उचित स्याहार सत्कार गर्न सकेनन् । अतःएवं मुनि क्रुद्ध भएर राजालाई आलसी हात्ती बन्ने श्राप दिए । उक्त श्रापका कारण राजा इन्द्रद्युम्न नै गजेन्द्र हात्ती बनेका थिए ।

राजालाई ऋषिद्वारा श्राप दिलाएर आफ्नो अनन्य भक्तलाई आफ्नो धाममा फिर्ता बोलाउने भगवानको योजनामुताविक नै यो घटना भएको सन्त, मुनि र आचार्यको तर्क छ । गजेन्द्रले भगवानको स्तुति गरेका कारण भगवत्कृपा प्राप्त भयो । श्री शुकदेव गोस्वामीले गजेन्द्रमोक्षको कथा सुन्ने र बिहानको समयमा स्मरणमात्र गर्नाले मानिसको पनि भवसागरबाट उद्धार हुन्छ भन्दै यो अध्यायको समापन गर्नुभयो ।

तम्सा, सोना र गण्डकी नदीको संगमस्थल नै त्रिवेणीधाम हो । रामायणमा उल्लेख भएअनुसार त्रेता युगमा भगवान् श्रीराम वनवासका क्रममा जंगलतर्फ आउँदा सारा अयोध्यावासी भगवान् रामसँगै आए । तस्मा नदीको तटमा रात परेपछि सबैजना त्यहीँ बास बसे । रात छिप्पिँदै गाएपछि राम, लक्ष्मण र सीता माता गाउँलेलाई छाडेर राति नै त्यहाँबाट जंगलतर्फ लाग्नुहुन्छ । भोलिपल्ट बिहान ठूलो नदी तरेर पारी जानुपर्ने भएपछि त्यहाँ नदी तर्ने कुनै साधन हुँदैन । तर पारिपट्टि नदीको किनारमा एउटामात्र नाउ (डुङ्गा) देखा पर्छ । उक्त डुङ्गामा एकजना मानिस सुतिरहेको देखिन्छ । उनलाई नदी तारिदिन अनुरोध गरेपछि उनी वारिपट्टि आउँछन् ।

उनले नदी तर्न चाहने राम, लक्ष्मण र सीता मातालाई डुङ्गामा चढ्दा खुट्टामा रहेको धुलो डुङ्गामा लाग्ने हुँदा खुट्टा सफा गरेरमात्र डुङ्गामा चढ्नुपर्ने सर्त राख्छन् । त्यसका लागि नाविक (नाउ चलाउने) ले नै भगवानको खुट्टा धुने निष्कर्षपछि उनी घरमा गएर आफ्ना सम्पूर्ण परिवारलाई लिएर आउँछन् । सपरिवार भएर श्रीराम, लक्ष्मण र सीता माताको खुट्टा धुन्छन् । त्यसपछि खुट्टा पखालेपछि नाउमा धूलो नपरोस् भनेर भगवानको पाउ हातमा टेकाएर डुङ्गामा चढाउँछन् । त्यसपछि नदी तार्न सुरु गरेपछि घण्टौँ समय बितिसक्यो तर डुङ्गा किनारमा नपुगेपछि भगवान् रामले नाविकलाई सोध्नुहुन्छ– ‘नाउ किनारामा पुग्न कति समय लाग्छ ?’ हजुरको धाममा पुग्न भवसागर तर्न कति समय लाग्छ ? भनेर प्रतिप्रश्न गर्छन् । नदी तटमा पुगेपछि भगवानको मनमा नाविकलाई केही उपहार दिने इच्छा हुन्छ । त्यो मनसा थाहा पाएर सीता माताले हातबाट औँठी निकालेर भगवानलाई दिनुहुन्छ । तर नाविकले भवसागर सार्दा हजुरले कुनै शुल्क लिनुहुन्छ र ? भनेर औंठी लिन अस्वीकार गर्छन्।

 को थिए त ती नाविक ? गोस्वामी तुल्सीदास रामचरित्र मानसमा लेख्नुहुन्छ– भगवान् विष्णु क्षीरसागरमा शयन गरिरहेका बखत एउटा कछुवाले भगवानको चरण स्पर्श गर्न खोज्दा माता लक्ष्मीले भगवानको निद्रामा बाधा पुग्छ भन्ने हेतुले हातले कछुवालाई पटकपटक रोकेपछि त्यहीबेला उक्त कछुवाले कुनै पनि हालतमा भगवानको चरण स्पर्श गर्ने प्रण गर्छन् । त्यही कछुवा नै केवटका रूपमा त्रेता युगमा मानिसका रूपमा जन्म लिन्छ । उनै केवटले नै उक्त नदी तार्ने समयमा भगवानको चरण स्पर्श गर्न सफल हुन्छन् । अहिले पनि त्रिवेणी पश्चिमका नवलपरासी जिल्लाका धेरै गाउँमा केवटको बस्ती छ । यसरी त्रिवेणी धाम भगवान् श्रीराम, लक्ष्मण र सीता माताको चरण स्पर्श भएको पवित्र तीर्थस्थल हो ।

प्रकाशित: १५ माघ २०७४ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App