१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

जलजलालाई अञ्जुको ५० हजार

काठमाडौं – दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररगत गायिका जलजला परियारलाई गायिका अञ्जु पन्तले ५० हजार रुपैयाँ सहयोग गर्ने भएकी छिन् । राजधानीको बागबजारमा रहेको हेल्लो क्याफे गजलबारले आयोजना गर्न लागेको ‘मेलोडी क्वीन अञ्जु पन्त साँझ २०७४’मा प्राप्त रकमको ५० हजार रुपैयाँ गायिका अञ्जुले परियारलाई दिने भएकी हुन्।

‘भ्यालेन्टाइन–डेका दिन हुने मेरो एकल साँझबाट पाएको पारिश्रमिकमध्येबाट जलजलालाई ५० हजार रुपैयाँ उपचार सहयोग गर्नेछु,’ अञ्जुले भनिन् । केही वर्षयता सामाजिक सेवामा पनि सक्रिय अञ्जुको यो दोस्रो एकल साँझ हो । कार्यक्रममा अञ्जुले प्रेमभावका दर्जन बढी गीत सुनाउनेछिन् । अञ्जुले केही महिनाअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो पहिलो एकल साँझ गरेकी थिइन्।

‘नेपाली तारा’ सिजन–३ की प्रतियोगीसमेत रहेकी जलजलालाई सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गायिका जलजला परियार बचाउ अभियान’ चलाइएको छ । अर्घाखाँचीकी जलजलालाई सहयोग गर्न विभिन्न संघसंस्था तथा व्यक्तिहरू सक्रिय भएर लागेका छन्।

यसअघि सो क्याफेमा गायक स्वरूपराज आचार्य, गायिका मिलन अमात्य, प्राश्ना शाक्यजस्ता गायकगायिकाले आफ्नो प्रस्तुति दिइसकेका छन् । अहिले पनि प्रत्येक शुक्रबार गायिका प्राश्ना प्रस्तुत हुँदै आएकी छन्।

प्रकाशित: १५ माघ २०७४ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App