१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सरस्वती प्रशिक्षणलाई जापानतिर

काठमाडौं- महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी आइतबार वैदेशिक प्रशिक्षणका लागि जापान जाँदैछिन्। सरस्वतीले जापानमा युनिभर्सिटी अफ टिसुकुबामा करिब एक महिना प्रशिक्षण लिने छिन्। युनिभर्सिटीको छात्रवृत्तिमा उनले जापानमा प्रशिक्षण गर्ने अवसर पाएकी हुन्। विदेशी युनिभर्सिटीमा प्रशिक्षण गर्ने सरस्वती पहिलो नेपाली महिला भलिबल खेलाडी हुन्। पुरुषतर्फ राष्ट्रिय पुरुष टोलीका स्पाइकर दुर्जकुमार राईले जर्मनीमा प्रशिक्षण गर्दै व्यावसायिक भलिबल खेलेका थिए।

राई अहिले सशस्त्र प्रहरी बलका महानिरीक्षक हुन्। सरस्वती पनि एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्ने गर्छिन्। एपिएफ क्लबका प्रमुख दुर्जकुमार राई, राष्ट्रिय टोलीका पूर्व खेलाडी जयनारायण चौधरी र नेपाली टोलीका पूर्व जापानिज प्रशिक्षक सुन्जी यानागिताको सहयोगमा आफू जापान जान लागेको सरस्वतीले बताइन्। सुन्जी युनिभर्सिटी अफ टिसुकुबाकाप्रशिक्षक पनि हुन्। सरस्वतीको भदौ २९ मा जापानबाट फर्कने योजना छ।युनिभर्सिटी अफ टिसुकुबा जापान सरकारबाट स्थापित दोस्रो ठूलो विश्वविद्यालय हो।

गत वैशाखमा सरस्वतीलाई टिसुकुबा विश्वविद्यालयले प्रशिक्षणका लागि छात्रवृत्तिदिने पत्र पठाएको थियो।

धनगढीकी सरस्वतीले दुई वर्षअघि प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्। जुन प्रतियोगितामा नेपालले श्रीलंकालाई हराउँदै रजत पदक जितेको थियो।

सरस्वतीले जापानको प्रशिक्षणले आफ्नो खेल स्तर बढ्ने विश्वास लिएकी छिन्। उनले भनिन्, 'जापान भलिबलका लागि राम्रो देश हो। जापानमा प्रशिक्षण र खेल्न पाउनु मेरो लागि महŒवपूर्ण अवसर हो। प्राविधिक कुरामा बढीभन्दा बढी ध्यान दिनेछु।'

प्रशिक्षणका क्रममा सरस्वतीले युनिभर्सिटी टिमबाट समेत खेल्न सक्ने अपेक्षा गरिन्। उनले भनिन्, 'प्रशिक्षणका क्रममा प्रतियोगिता भए मैले खेल्ने सम्भावना छ तर त्यसको लागि मैले राम्रो प्रदर्शन देखाउनुपर्छ।'

जापान जाने भएपछि सरस्वतीले एपिएफबाट दुई घरेलु प्रतियोगिता गुमाउने भएकी छन्। उनले पोखरामा तीजको अवसरमा हुने लामाचौर  खुला राष्ट्रिय भलिबल र नेपाल भलिबल संघले गर्ने एनभिए कप गुमाउने छन्।

जापानी क्लबबाट खेले सरस्वती विदेशी क्लबबाट खेल्ने तेस्रो नेपाली भलिबल खेलाडी बन्नेछिन्। यसअघि कोपिला उप्रेती र निमा श्रेष्ठले माल्दिभ्समा व्यावसायिक भलिबल खेलेका थिए।

एपिएफ नेपाली भलिबलको सर्वाधिक सफल टोली हो। पछिल्लो समय एपिएफ प्रायः सबै घरेलु प्रतियोगिताको फाइनलमा पुग्ने गरेको छ। एपिएफलाई बलियो टोली बनाउनमा ६ फिट उचाइकी सरस्वतीले मुख्य स्पाइकरको भूमिका निभाउँदै आएकी छन्। सरस्वतीले पश्चिमाञ्चलको फिस्टेल स्कुलबाट व्यावसायिक भलिबल करिअर सुरु गरेकी हुन्। उनले नेपाली खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड २०७० को लोकप्रिय खेलाडीको पुरस्कार जितेकी थिइन्। सरस्वतीलाई २०७० सालमा नेपाल भलिबल संघले वर्षको उत्कृष्ट खेलाडीबाटपुरस्कृत गरेको थियो। उनले सशस्त्र प्रहरीआइजिपी कप भलिबलमा उत्कृष्ट खेलाडी हुँदै स्कुटर र २०६९ सालमा ढोरपाटन डबल लिग भलिबलमा राइजिङ खेलाडी हुँदै स्कुटर पुरस्कार पाएकी थिइन्।

प्रकाशित: २९ श्रावण २०७३ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App