१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चिनीको भन्सार ५० प्रतिशत बढाउन माग

काठमाडौं – चिनी उद्योगी र किसानले चिनी आयातमा लाग्ने भन्सार महसुल ५० प्रतिशत बढाउन माग गरेका छन् । उद्योग र किसानलाई संकटग्रस्त अवस्थाबाट बचाउन भन्सार महसुल वृद्धि गर्न आग्रह गरेका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य अप्रत्यासित रुपमा घटेकाले नेपाली उद्योगले प्रतिस्पर्धा गर्न सक्ने अवस्था आएको नेपाल चिनी उत्पादक संघले जनाएको छ । ‘नेपालमा आयात हुने चिनीको लागत निकै कम छ,’ संघका अध्यक्ष शशिकान्त अग्रवालले भने, ‘चिनीको भन्सार ५० प्रतिशत वृद्धि नगरे स्वदेशी उद्योगहरु किसानलाई भुक्तानी दिन सक्ने अवस्था छैनन् ।’

भन्सार महसुल वृद्धि नगरे अनुदान दिनुपर्ने उद्योगीले बताएका छन् । पाकिस्तान सरकारले त्यहाँका उद्योगलाई प्रतिकिलो १० रुपैयाँ ७० पैसा नगद अनुदान दिएको बताउँदै यहाँ पनि दिनुपर्ने उनीहरुको तर्क छ । ‘भन्सार महसुल बढाउन कृषि विकास मन्त्रालयले पनि सिफारिस गरेको छ,’ अग्रवालले भने, ‘भन्सार वृद्धि नगर्ने हो भने उत्पादन लगायतको आधारमा सम्पूर्ण चिनी सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउनु पर्छ ।’

विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी चिनी बिक्री नभएको उद्योगीले बताएका छन् । ‘उखुको मूल्य घटाउने अवस्था पनि छैन,’ अध्यक्ष अग्रवालले भने, ‘भन्सार दरको कारण किसान र उद्योग समस्यामा छौं ।’ पाँच सय ५० डलर क्विन्टलको चिनी घटेर चार सय २५ डलरमा झरेको संघले जनाएको छ । किसानलाई गत वर्ष उखुको मूल्यबापत प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँ २० पैसा भुक्तानी दिएको उद्योगीले बताए । चिनीको मूल्यमा ह्रास आएको अवस्थामा उखु खेतीमा किसानलाई वितृष्णा नहोस् भनेर यो वर्ष पनि सोही मूल्य निर्धारण गरेको उनीहरुको भनाइ छ ।

निजी क्षेत्रले आयात गर्ने चिनीमा सरकारले १५ प्रतिशत भन्सार महसुल लगाउँछ । सय रुपैयाँको चिनी आयातमा १५ रुपैयाँ भन्सार लाग्छ । मन्त्रालयको सिफारिस कार्यान्वयनमा आए सय रुपैयाँको चिनीमा २२ रुपैयाँ ५० पैसा भन्सार लाग्नेछ ।

चिनी उत्पादक संघले राजधानीमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव राजेशकुमार केडियाले यही अवस्थामा उखु किसानलाई भुक्तानी गर्न कठिन हुने बताए । ‘कि अनुदान दिनुप¥यो होइन भने भन्सार बढाउनुको विकल्प छैन,’ केडियाले भने, ‘किसानको संरक्षण गर्न सरकारले अग्रसरता लिनुपर्छ ।’ अहिले विदेशबाट चिनी आयात गर्दा १५ प्रतिशत भन्सार लाग्छ ।  दीर्घकालीन समस्या समाधानका लागि चिनी तथा उखु बोर्ड गठन गर्नुपर्ने पनि केडियाले बताए ।

भन्सार दर बढाउन उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले पनि आग्रह गरे । ‘उद्योगीले समयमा भुक्तानी गरेनन् भने किसान मारमा पर्छन्,’ मैनालीले भने, ‘भन्सार महसुल वृद्धिको लागि कृषि मन्त्रालयले गरेको सिफारिस कार्यान्वयन गर्नुपर्छ ।’
मन्त्रालयले चिनी आयातमा लाग्ने भन्सार महसुल ५० प्रतिशतले बढाउन सिफारिस गरेको थियो । उपभोक्तालाई भार पर्ने गरी कृषि मन्त्रालयले चिनी आयातमा लाग्ने भन्सार महसुल सिफारिस गरेको भन्दै आलोचना भएको थियो । महसुल बढाउँदा चिनीमा हुन सक्ने मूल्यवृद्धिलाई ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् ।

मन्त्रालयले महसुल बढाउन अर्थ, वाणिज्य, उद्योग र आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको हो । भन्सार महसुल धेरै भएपछि आयातित चिनीको मूल्य स्वतः बढ्छ । भन्सार छुटमा चिनी आयात गर्ने अनुमति पाएको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनी स्टक सकिनासाथ उद्योगीले भाउ बढाएर बेच्ने गरेका थिए । उपभोक्तालाई असर पर्ने र उद्योगीको निहित स्वार्थ पूरा हुने गरी निर्णय गर्न नहुने अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।

चिनी आयात गरी बजारको सन्तुलन कायम गर्न सरकारले कर्पोरेसनलाई एक प्रतिशत भन्सार महसुलमा चिनी आयातको अनुमति दिँदै आएको छ । नेपालमा चिनीका १३ उद्योग रहे पनि बजार माग थेग्ने गरी उत्पादन गर्न सक्दैनन् । मुुलुकको रौतहट, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सुनसरी, नवलपरासी, कपिलवस्तु, कञ्चनपुरका किसानले उखु खेती गरेका छन् । नेपाल चिनी उद्योग संघले यस वर्ष करिब एक लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुने जनाएको छ । यहाँ वार्षिक करिब दुई लाख २५ हजार मेट्रिक टन चिनी खपत हुन्छ ।

चिनीको मूल्य नियन्त्रण गर्न सरकारले न्यून भन्सार दरमा ५० हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई अनुमति दिने गरेको छ । दुई–चारवटा चिनी उद्योगको मागका आधारमा महसुल बढाउन नहुने कर्पोरेसनका सहायक महाप्रबन्धक कुमार राजभण्डारी बताउँछन् । ‘स्वदेशी उद्योगले बजारको माग धान्न सक्ने अवस्था छैन,’ राजभण्डारीले भने, ‘उपभोक्तालाई थप भार पर्ने गरी निर्णय गर्दा सोच्नुपर्छ ।’

कृषि मन्त्रालयका सचिव सुरोज पोख्रेलले महसुल बढाउने सिफारिस गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घटेकाले आयात महसुल नबढाए त्यसको असर किसानमा पर्ने सचिव पोख्रेलको तर्क छ । ‘सस्तोमा चिनी आए यहाँका चिनी उद्योग धराशयी हुन्छन्,’ उनले भने, ‘उद्योगले उखु नकिने किसान विस्थापित हुने अवस्था आउन सक्छ ।’ चिनी प्रयोग गर्ने उद्योगले भने चिनी उद्योगीको मागको विरोध गर्दै भन्सार बढाउन नहुने माग गर्दै आएका छन् ।

 

प्रकाशित: १५ माघ २०७४ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App