१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल आज डचसँग खेल्दै

काठमाडौं- विश्व क्रिकेट लिग च्याम्पियनसिपको कम्तीमा शीर्ष चारभित्रको लक्ष्यसहित नेपालले शनिबार शीर्ष तथा घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ। नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले आर्मस्टेलभिनमा दुईवटा एकदिवसीय खेल खेल्नेछ। यसअघि एकदिवसीयमा नेपाल र नेदरल्यान्ड्स दुईपटक आमनेसामने भएका छन्। २०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोट प्रतियोगतामा नेदरल्यान्ड्स७ विकेटले विजयी भएको थियो भने एक वर्षपछि नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल २ विकेटको जित निकाल्न सफल भएको थियो।

पछिल्लो समय नेपाली क्रिकेटले राम्रो गरिरहेको भन्दै कप्तान पारस खड्काले क्षमताअनुसार प्रदर्शन गर्न सकियो भने राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरे।

‘हामीले जति समय पाएका छौं त्यसअनुसार राम्रो तयारी छ। हामीसँग सन्तुलित टोली छ,’ नेदरल्यान्ड्स जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमाभएको बिदाइ कार्यक्रमपछिकप्तान पारसले भने, ‘नेदरल्यान्ड्स राम्रो टोली हो। तर, पछिल्लो समय नामिबियामा भएको एकदिवसीय खेलमा हामीले पराजित गरेका छौं। राम्रो क्रिकेट खेल्यौं भने यसपल्ट पनि हराउन सक्छौं।’

आठ टोलीसम्मिलित विश्व क्रिकेट लिगमा नेपाल अहिले छैटौं स्थानमा छ भने घरेलु टोली नेदरल्यान्ड्स शीर्ष स्थानमा छ। नेदरल्यान्ड्सले ६ मध्ये ४ खेलमा जित निकालेको थियो भने २ खेल नतिजाविहीन भएको थियो। स्कटल्यान्डविरुद्धको दुई खेलमा नतिजाविहीन बनेको डच टोलीले पपुवा न्युगिनी (पिएनजी) र युनाइटेड अरब इमिरेट्स (युएई) पराजित गरेको थियो।

नेपालले खेलेका ६ मध्ये २ मा मात्र जित निकाल्न सकेको छ। चार महिनाअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नामिबियालाई पराजित गरेको थियो। तर त्यसअघि नेपाल स्कटल्यान्ड र पिएनजीसँग पराजित भएको थियो।

नेदरल्यान्ड्सको वातावरण नेपालको भन्दा फरक भए पनि कप्तान पारसले जित्न सकिने विश्वास देखाएका थिए। ‘यसअघिकाखेलमा हामीप्रतिस्पर्धात्मक खेलेर पराजित भएका हौं। स्कटल्यान्डविरुद्धको दोस्रो खेल बाहेक अन्य खेलको नतिजा हाम्रो पक्षमा आउन पनि सक्थ्यो,’ उनले भने, ‘त्यसैले नेदरल्यान्ड्सको कन्डिसनमा पनि खेल्न नसक्ने भन्ने छैन। पछिल्लो समय नेपालले पनि राम्रो क्रिकेट खेल्दै आएको छ। हामीले प्रतिस्पर्धात्मक खेलिरहेका छौं। मात्र फिनिसिङ राम्रो गर्नु आवश्यक छ। इङ्ल्यान्ड भ्रमण राम्रो भयो र यो आफूलाई प्रमाणित गर्ने राम्रो अवसर हो।’

२०१५ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध ४ ट्वान्टी क्रिकेट खेलेको थियो। जसमा नेदरल्यान्ड्सले ३ खेलजितेको थियो भने अन्तिम खेलमा नेपाल विजयी भएको थियो।

प्रशिक्षक जगत टमाटाले नेदरल्यान्ड्सले घरेलु मैदानमा राम्रो गरिरहेको भन्दै नेपालसामु चुनौती भए पनि राम्रो प्रदर्शनगर्ने बताएका छन्।

‘हामीसँग चुनौती छ। नेदरल्यान्ड्ससँग उनीहरूकै कन्डिसनमा खेल्नुपर्ने चुनौती छ। उनीहरू घरेलु मैदानमा राम्रो खेलिरहेका छन्,' टमाटाले थपे, ‘हामीले बोर्डमा राम्रो स्कोर जोड्न सक्यौं भने बलिङ र फिल्डिङबाट जित निकाल्न सक्छौं।’

यस प्रतियोगताका शीर्ष चार टोलीले २०१८ मा हुने बंगलादेशमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। त्यसैले कप्तान पारसले शीर्ष चार नेपालका लागि न्युनतम आवश्यकता भएको बताए।

‘शीर्ष चार त हाम्रो न्युनतम आवश्यकता हो,’ उनले थपे, ‘नेपालको क्रिकेटको भविष्य पनि हामीले यहाँ खेल्ने प्रदर्शनमा निर्भर रहन्छ। यो लेभलमा सबै टोली बराबरका छन् त्यसैले अरु टोलीको नतिजाले पनि नेपालको पोजिसनमा असर गर्छ। त्यसैले हामीले ढिला नगरी यही भ्रमणबाट राम्रो नतिजा निकाल्नु आवश्यक छ।’

अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो गर्न नसक्नु नेपालले लामो समयसम्म झे्कलेको समस्या हो। तर पछिल्लो समय नेपालले अग्रपंक्तिमा केही परिवर्तन गरेको छ। तेस्रो नम्बरका ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ओपनिङमा आएका छन्। नेदरल्यान्ड्समा पनि नेपालको ओपनिङ ज्ञानेन्द्र र अनिल मन्डलले सम्हाल्ने लगभग पक्का छ। त्यस्तै फिनिसरका रूपमा परिचय बनाएका शरद भेषवाकरले तेस्रो नम्बरमा आएका छन्। नेपालले इनिङ सम्हाल्ने जिम्मेवारी उनको काँधमा छ। नेदरल्यान्ड्स जानुअघि प्रशिक्षक जगत टमाटाले नेपाललको अग्रपंक्तिमा परिवर्तन नहुने बताए।

‘ब्याटिङ क्रम त्यहाँको अवस्थाअनुसार परिवर्तन हुनसक्छ,’ नेदरल्यान्ड्स जानुअघिप्रशिक्षक टमाटाले भनेका थिए, ‘तरअग्रपंक्तिमा हाम्रो कुनै परिवर्तन हँुदैन।’

 

प्रकाशित: २९ श्रावण २०७३ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App