१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अदुवा निकासीमा अन्योल कायमै

‘स्टोरमा रहेको व्यापारीको अदुवा त्यहीं कुहिँदैछ, अझै केही दिन यस्तै अन्योल रहे किसानको बारीमा करोडौंको अदुवा कुहिन्छ’ – विष्णु बोहोरा, अदुवा व्यापारी

इलाम – पाँचथर यासोकका अदुवा व्यापारी विष्णु बोहोरालाई किसानले साँझ–बिहान सुत्न दिएका छैनन् । बारम्बार उनलाई किसानको फोन आउँछ– अदुवा बारीमै कुहिसक्यो, कहिले लिन कहिले आउनुहुन्छ ? किसानको फोनले आजित उनी ‘फलानो दिन अदुवा तौलिन आउँछु’ भन्ने जवाफ किसानलाई दिन सक्दैनन्।

‘यो सिजनमा १२ गाडी (प्रतिगाडी १४ मेट्रिक टन) अदुवा बेचिसकियो, अझै २५ गाडीभन्दा बढी अदुवा गाउँमै छ,’ बोहोराले सुनाए, ‘किसान अदुवा खनौं कि नखनौं भनेर बारम्बार सोध्नुहुन्छ, मैले निकासी रोकिएकाले तत्काल नखन्न भनेको पनि दुईसाता बितिसक्यो । किसानलाई कति दिन कुराउनुपर्ने हो पत्तो छैन।’
 
यो साल उनले गाउँका ६० परिवार किसानको अदुवा किनिसके । अझै डेढ सय किसानलाई उनले केही दिन अदुवा नखन्न भनेका छन् । ‘स्टोरमा रहेको व्यापारीको अदुवा त्यहीं कुहिँदैछ, अझै केही दिन यस्तै अन्योल रहे किसानको बारीमा करोडौंको अदुवा कुहिन्छ,’ उनले भने, ‘अदुवा व्यवसायी संघसँग सोधीखोजी गर्दा उहाँहरू आफैं अन्योलमा रहेको गुनासो गर्नुहुन्छ।’

पाँचथरकै कुम्मायक गाउँपालिका–५, स्याबु्रम्बाका किसान महेन्द्र खड्काले यो वर्ष १६ मन (प्रतिमन ४० किलो) अदुवा रोपेका छन् । तर, ठिक्क खनेर बेच्ने बेला भएपछि निकासी रोकिएको खबर आयो । ‘खन्ने बेला भएको अदुवा लिन महिना दिनअघि नै व्यापारी गाउँ आउँथे,’ उनले भने, ‘यो वर्ष व्यापारी नआउँदा करिब ५० मन अदुवा बारीमै कुहिँदैछ । मेरो मात्र होइन, गाउँका कोही पनि किसानको अदुवा बिकेको छैन।’

उनले दुई साताअघिसम्म प्रतिमन सात सय रुपैयाँमा बिकेको अदुवा अहिले बारीमै सड्ने भएपछि गाउँभरका किसान चिन्तामा रहेको बताए । खड्का मात्र होइन, स्याबु्रम्बाकै नर्कटेका हरि भण्डारी, ज्ञानबहादुर चेम्जोङ, वीरबहादुर पाण्डे, पूर्णबहादुर पाण्डेलगायत किसान पनि यही चिन्तामा छन्।

अदुवा बेचेर हातमुख जोर्ने किसान यसको निकासी नै बन्द भएर व्यापारी नआउँदा अदुवा बारीमै कुहिने गरेको बताउँछन् । ‘खनौं भने व्यापारीले सम्पर्कै नगरेका बेला बाहिर राखेको अदुवा झनै छिटो कुहिन्छ, नखनौ भने न अन्य बाली लगाउन पाइन्छ, न बारीमा धेरै दिन त्यो अदुवा टिक्छ,’ अदुवा किसान अशोक पराजुलीले भने।

पाँचथरको फिदिमसहित सराङडाँडा, भुल्के, सिम्ले, यासोक, रानीटारलगायत सबैजसो गाउँमा प्रसस्त अदुवा उत्पादन हुन्छ । तर, व्यापारीका अनुसार एकतिहाई अदुवा मात्रै बिक्री भइसकेको छ भने बाँकी किसान र व्यापारीको गोदाममै छ । निकासी रोकिएपछि अदुवा कुहिन थालेको उनीहरू बताउँछन् । ‘दुई सय मन बीउ रोप्ने किसानको बारीमा कम्तीमा ६ सय मन अदुवा फल्छ,’ व्यापारी बोहोराले भने, ‘निकासी खुलेन भने किसान र व्यापारीको करोडौं रुपैयाँ डुब्छ ।’ पाँचथरको धेरै भू–भाग सुक्खा रहेकाले धान, मकै, गहुँ, तरकारीलगायतको खेती कम हुन्छ । यहाँका किसान अदुवा बढी खेती नै गर्छन् । तर, बेच्ने बेला अवरोध भएपछि उनीहरू चिन्तामा छन्।

इलामको बरबोटेका व्यापारी कृष्ण पौडेलले पनि दुई साताअघि चार ट्रक अदुवा भारत निकासीका लागि मेची भन्सार कार्यालय पु¥याए । एक्कासि निकासी रोकिँदा भन्सारको यार्डमा १५ दिन पर्खिनुप¥यो । ‘पर्खिएर पनि निकासी भएको भए त बरु सन्तोष हुन्थ्यो, उल्टै दोहोरो खर्चमा घर ल्याउनुप¥यो,’ उनले भने, ‘भन्सार पु¥याएर फर्काउँदाजस्तो पीडा त कहिल्यै भोग्नुपरेको थिएन।’

उनका अनुसार इलामबाट एक ट्रक अदुवा मेची भन्सार कार्यालय पु¥याउन २० हजार रुपैयाँ एकोहोरो भाडा लाग्छ । ‘भाडा २० हजारसहित लोड, अनलोड र निकासीलगायतको करले एक गाडीको करिब ४० हजार रुपैयाँ एकोहोरो खर्च हुन्छ,’ व्यवसायी पौडेलले भने, ‘यतिको खर्चमा भन्सार पु¥याएको अदुवा फर्काएर ल्याउनुपर्दा दोब्बर खर्च त भयो नै, १५ दिन गाडीमा राखेर फेरि गोदाममै अनलोड गरेको अदुवा कुहिन थालिक्यो ।’ उनले योपटक व्यवसायीलाई चौतर्फी घाटा भएको बताए । इलाम, पाँचथर, तेह«थुम, ताप्लेजुङ, झापा, उदयपुर, सिन्धुली, धनकुटालगायत देशभर उत्पादन भएको अदुवा काँकडभिट्टा भएरै भारत निकासी हुने गरेको छ । अदुवाको ढुवानीका लागि अन्य जिल्लाका व्यवसायीले झन् बढी मूल्य खर्चिनुपरेको छ।

‘वर्षाैंदेखि किसानबाट अदुवा किनिरहेका हामी व्यवसायी यो साल भाउ आएन वा भारतले अदुवा किनेन भनेर किसानको उत्पादन इन्कार गर्न पनि सक्दैनौं,’ पौडेल भन्छन्, ‘हामीलाई घाटा हँुदा बरु केही समय थेगिएला, अदुवाले नै हातमुख जोर्ने बाध्यता भएका किसानको विश्वास पनि गुमाउनु भएन नि ! सरकार त जनताको नै हो।’

भारतले एकलौटी रूपमा नेपाली व्यवसायीको अदुवा प्रतिबन्ध गरेपनि नेपाली पक्षले त्यसमा आवश्यक चासो नदेखाएको व्यवसायी बताउँछन् । सरकारी निकायले बेलैमा कृषिजन्य वस्तुको व्यापार व्यवस्था मिलाइदिए व्यवसायी मात्र होइन, किसानले पनि नगदेबालीबाट मूल्य लिन सक्ने उनीहरूको भनाइ छ । ‘आर्थिक नोक्सानी त छँदैछ, निर्यातका लागि भन्सार पुगेका फुलबढी ट्रक फर्काएर ल्याउँदा हामीलाई मात्रै होइन, सारा नेपालीलाई दुःख लाग्नुपर्ने हो,’ भापा बिर्तामोडका अदुवा व्यापारी पदम पौडेलले भने, ‘भारतको सधैंको हेपाहा प्रवृत्तिलाई सहज ढंगले सरकारले समन्वय गर्न सक्नुपथ्र्यो, त्यो हुन नसक्दा व्यापारी र किसानको करोडौं रुपैयाँ डुब्ने अवस्थामा छ।’

उनले भन्सारबाट फर्काइएका ट्रकको अदुवा त्यहीं कुहिएर जान थालेको बताए । ‘पूर्वका सबैजसो जिल्लाबाट ४० भन्दा बढी फुलबडी ट्रकमा अदुवा फर्काइएको छ,’ अदुवा व्यवसायी संघका सदस्यसमेत रहेका उनले भने, ‘फर्काइएको अदुवा त कुहिन्छ नै, किसानले खन्न बाँकी रहेको अदुवा पनि बारीमै सड्ने भएको छ।’

व्यवसायीहरू भारतीय पक्षको अवरोधका कारण नेपाली अदुवा निकासी गर्न नसकेपछि भन्सारबाटै फर्काउन बाध्य हुँदासम्म सरकारले भारतसँग कूटनीतिक पहल नगरेको गुनासो गर्छन् । उनले बारम्बार अदुवा निकासीमा देखिएको समस्याप्रति सरकार सधैं मूकदर्शकझैं भएको बताए । ‘समस्या चरम भएपछि अल्पकालीन समाधानजस्तो गरिदिने अनि फेरि समस्या नआउञ्जेल चुपचाप बस्ने सरकारी प्रवृत्तिका कारण व्यवसायी र किसानले हैरानी खेप्नुपरेको छ,’ पौडेलले भने, ‘यसको दीर्घकालीन समाधान नखोजिए अर्थतन्त्रको एक मुख्य स्रोत गुम्ने निश्चित छ।’

उत्पादनको ९० प्रतिशतभन्दा बढी भारत पुग्ने नेपाली अदुवाको निकासी दुई सातायता ठप्प छ । पानीट्यांकीस्थित भारतीय भन्सारका कर्मचारीले ‘नेपाली अदुवा नलिन माथिको आदेश छ’ भन्दै अनुमति नदिएपछि झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा ६० वटाभन्दा बढी अदुवा भरिएका ट्रक रोकिएका थिए । ट्रकको अदुवा त्यहीं कुहिने भएपछि व्यवसायी सोमबार ती ट्रकको अदुवा गोदामतिरै फर्काउन बाध्य भएका छन् । फर्काएको अदुवा कति दिन राख्दा फेरि निकासी हुने, निकासी नै हुने या नहुने भन्नेमा व्यवसायी अन्योलमा छन्।  

भारतीय व्यवसायीले भारतीय वाणिज्य विभागबाट दिइएको कोटाको अदुवा मात्रै खरिद गर्ने भन्दै नेपाली अदुवा भन्सारबाटै लिन नदिएको नेपाली व्यवसायी बताउँछन् । ‘भारतले यो पटक नेपाली व्यवसायीलाई हेरेस्ट नै गरेको छ,’ संघ अध्यक्ष नरेन्द्र खड्काले भने, ‘नेपाल–भारत वाणिज्य सन्धिविपरीत नेपाली कृषिउपज निकासीमा भन्सारले अवरोध ग¥यो ।’ भारतले कहिले चिनियाँ अदुवाको मिसावट र कहिले वस्तु तथा सेवा कर (जिएसटी)को कारण देखाएर नेपाली अदुवा आयातमा अवरोध गरिरहेको व्यवसायी बताउँछन् । ‘तर, यो पटक चाहिँ भारतले नेपाली अदुवालाई प्रतिबन्ध नै गर्नेगरी भन्सारमै रोकेको छ।’

करिब तीन वर्षयता नेपाली कृषिजन्य वस्तु भारत निकासीमा समस्या देखिन थालेको हो । काँकडभिट्टा नाकामा नेपाली अदुवा अलपत्र बनाइएको तीनपटक भइसकेपनि भन्सारबाट फर्काउनुपरेको चाहिँ यो पहिलोपटक हो । व्यवसायीले पटक–पटक वाणिज्य मन्त्रालय र दूतावासमा पहल गरेपनि बारम्बार अदुवाको समस्या निम्तिने गरेको बताएका छन् । ‘अब नेपाल–भारत दुवै देशका प्रधानमन्त्रीकै स्तरमा कुरा हुँदा मात्रै समाधान निस्किन सक्छ,’ अध्यक्ष खड्काले भने, ‘वर्षाैंदेखि प्रयास गरेपनि कुनै न कुनै बहानामा भारतले अदुवा निकासी अवरोध गरिरहेकै छ।’

यसपटक पनि दीर्घकालीन समाधान नआए बर्सेनि अर्बाैं रुपैयाँको नेपाली कृषि उत्पादन अदुवा निकासी नै ठप्प हुने उनले बताए । संघले यो सिजनमा आठ सय ट्रक अदुवा निकासी भइसकेको र दुई हजार पाँच सय ट्रक हाराहारी अदुवा अझै निकासी हुन बाँकी रहेको जनाएको छ।

वाणिज्य मन्त्रालयले भने अदुवा निर्यातका लागि पहल गरिरहेको दाबी गरेको छ । भन्सारबाट फर्काइएको अदुवा निकासीका लागि भारतीय दूतावासमार्फत् पहल भइरहेको मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए । दूतावासले भारतीय वाणिज्य विभाग र सम्बन्धित निकायलाई त्यसबारे जानकारी गराउने सूचना दिएको तर कुनै जानकारी नआएको उनले बताए । ‘हामीले मंगलबारे नै दूतावासमा खबर गरेका छौं,’ सैंजुले नागरिकसँग भने, ‘तर, कुनै प्रतिक्रिया आएको छैन ।’ अदुवा निकासीको दीर्घकालीन समाधानका लागि भने आउँदो फेब्रुअरीमा पोखरामा दुवै देशका अधिकारीबीच बैठक बस्ने उनले जनाए।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा २५ करोड ९१ लाख ७७ हजार रुपैयाँबराबरको ८९ लाख १६ हजार चार सय ३५ किलो अदुवा निकासी भएको छ । इलामको तीन हजार दुई सय ३३ हेक्टरमा ४५ हजार नौ सय ९४ मेट्रिक टन, पाँचथरको ६ सय ६१ हेक्टरमा आठ हजार आठ सय ३९ मेट्रिक टन, धनकुटाको दुई सय ४९ हेक्टरमा चार हजार नौ सय ३३ मेट्रिक टन, तेह्रथुमको दुई सय १२ हेक्टरमा ३ हजार दुई सय ७७ मेट्रिक टन र झापाको तीन सय ४२ हेक्टरमा चार हजार पाँच सय ८३ मेट्रिक टन अदुवा उत्पादन हुन्छ।

‘जिन्जर प्रोफाइल २०१६’ का अनुसार इलाम, पाँचथर, झापा, ताप्लेजुङ, तेह्रथुमलगायत देशका २० जिल्लामा अदुवा उत्पादन हुन्छ । चीन र भारतपछि नेपाल विश्वमै अदुवा सबैभन्दा बढी उत्पादन गर्ने तेस्रो देश हो । उत्पादनको ९४ प्रतिशत अदुवा विदेश निर्यात हुन्छ । राष्ट्रिय अदुवा उत्पादक तथा व्यापार संंघको अध्ययनले दुबई, जापान र नेदरल्यान्डमा नेपालको ताजा र प्रशोधित अदुवाको बजार बढाउन सकिने देखाएको छ।     

 

प्रकाशित: १४ माघ २०७४ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App