१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

उत्कृष्ट १० भित्र पोखराका पाँच होटल

पोखरा – विश्वभरका होटल, रेस्टुरेन्ट र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साइट ‘ट्रिप एडभाइजर’ले नेपालका उत्कृष्ट १० वटा होटल छनोट गरेको छ । सन् २०१८ का लागि ‘ट्राभलर्स च्वाइस’मा पोखरा र काठमाडौंका होटल छानिएका छन् । ती मध्ये पोखराका पाँचवटा होटल उत्कृष्ट १० भित्र परेका छन्।

होटलमा बसेका विदेशी पाहुनाले दिएको सुझाव, सल्लाह र प्रतिक्रियाको आधारमा ट्रिप एडभाइजरले बर्सेनि उत्कृष्ट होटल घोषणा गर्दै आएको छ । ट्रिप एडभाइजरको सूची हेरेर विदेशी पाहुनाहरुले बुकिङ गर्ने भएकाले यो सूचीलाई पर्यटन क्षेत्रमा विश्वसनीय मानिने व्यवसायीले बताएका छन्।

साइटका अनुसार पोखराको डालिया बुटिक होटल पहिलो नम्बरमा परेको छ । दोस्रो नम्बरमा काठमाडौंको द्वारिकाज होटल परेको छ । तेस्रो नम्बरमा पनि पोखराकै दी यात्रा कोर्टयार्ड होटल एन्ड रिसोर्ट परेको छ । ट्रिप एडभाइजरका अनुसार काठमाडौंको होटल टिबेट इन्टरनेसनल चौथो नम्बरमा परेको छ । पाँचौ नम्बरमा पनि काठमाडौंकै होटल मुनलाइट परेको छ । छैठौं नम्बरमा काठमाडौंकै गोकर्ण फरेस्ट रिसोर्ट परेको छ।

चल्तीमा रहेको पोखराको एकमात्र पाँचतारे होटल पोखरा ग्रान्ड ट्रिप एडभाइजरको सूचीको सातौ नम्बरमा परेको छ । काठमाडौंकै होटल साम्बला ट्रिप एडभाइजरको आठौं नम्बरमा परेको छ । त्यस्तै पोखराको अतिथि रिसोर्ट एन्ड स्पा सूचीको नवौं नम्बरमा परेको छ । उत्कृष्ट १० नम्बरमा पोखराको माउन्ट कैलाश रिसोर्ट परेको छ।

पोखराको अतिथि रिसोर्ट पोहोर सूचीको चौथो नम्बरमा थियो । त्यस्तै पोखरा ग्रान्ड पाँचौ नम्बरमा थियो । पोहोर पोखराका दुईवटा मात्र होटल उत्कृष्ट १० भित्र परेकामा यो पटक पाँचवटा परेका छन् । यो पटक पहिलो नम्बरमा परेको पोखराको डालिया बुटिक होटल तीनवर्ष अघिदेखि सञ्चालमा आएको हो । ३० वटा कोठा भएको होटलमा चारवटा जुनियर सुइट, एउटा रोयल सुइट र २५ वटा डिलक्स रुम छन् । ‘रुफटप भ्यू’ निकै रोमाञ्चक देखिने र बसुन्धरापार्कको छेउँमा हुँदा यसले पाहुनालाई आनन्दित बनाउँने होटलको भनाइ छ । होटल विस्तार गरेर एक वर्षभित्र ४० कोठा पु¥याउने र ‘रुफटप स्विमिङ पुल’ बनाउने योजना पनि होटलको छ।

होटलका आवासीय प्रबन्धक तुलसी लामिछानेले उत्कृष्टमा पर्दा भविश्यका लागि चुनौती र सेवा सत्कारको अवसर थपिएको बताए । ‘ट्रिप एडभाइजरको पहिलो नम्बरमा पर्दा यसले होटलको उत्कृष्टता देखाएको छ,’ उनले भने, ‘भविश्यमा पनि यही उत्कृष्टता कायम गरेर देखाउन हामीलाई चुनौती पनि हो ।’ उनले होटलमा बास बसेका पाहुना निकै नै खुसी भएर फर्किने गरेको बताए।

‘अनलाइन बिजनेस राम्रो र पाहुना खुसी भएको तथा उनीहरुको प्रतिक्रियाका आधारमा होटल पहिलो नम्बरमा परेको छ,’ उनले भने, ‘आगामी दिनमा अझै राम्रो बनाउनु हाम्रा लागि अवसर पनि हो ।’ होटलमा बसेका पाहुनाले सुन्दर दृष्य हेर्नका लागि होटल उत्तम रहेको प्रतिक्रिया दिएका छन् । होटलमा बसेर माछापुच्छ«े र अन्नपूर्ण हिमश्रृंखलाको दृश्य हेर्न पाउँदा आफूहरु खुसी भएको उनीहरुको प्रतिक्रिया छ।

तेस्रो नम्बरमा परेको पोखराको अर्काे दी यात्रा कोर्टयार्ड होटलका सञ्चालक रामचन्द्र भट्टराई पनि यो सूचीले आफूहरुलाई हौसला दिलाएको बताउँछन् । ‘पहिलोपटक उत्कृष्ट भित्र परेका छौं । यसले हामीलाई आगामी दिनमा अघि बढ्न हौसला मिलेको छ,’ भट्टराइले भने, ‘गुणस्तरीय सेवा दिएको यो उत्कृष्टताले पुष्टि गरेको छ ।’ तीन वर्षअघि खुलेको दी यात्रामा ४६ कोठा छन् । सेवा उत्कृष्ट रहेको होटलमा बसेका पाहुनाको प्रतिक्रिया छ ।

त्यस्तै पोखराको चल्तीमा रहेको एकमात्र पाँचतारे होटल पोखरा ग्रान्ड यो पटक सातौं नम्बरमा परेको छ । पोहोर पाँचौ नम्बरका परेकामा यो पटक सातौमा उक्लिए पनि खुसी लागेको महाप्र्रबन्धक रोशन खवासले बताए । एक सय ४० कोठा क्षमताको यो होटल पोखरामा चल्तीमा रहेको एकमात्र पाँचतारे होटल हो । ‘पोखराका होटल उत्कृष्ट रहेछन् भन्ने यसले पुष्टि गरेको छ । पोखराका पाँचवटा होटल यो पटक उत्कृष्टमा पर्दा हामी निकै खुसी छौं,’ खवासले भने, ‘आगामी दिनमा हामी यो सेवा र सत्कारलाई निरन्तरता दिनेमा दृढ हुनुपर्नेछ।’

उत्कृष्ट १० भित्र परेको पोखराको अतिथि रिसोर्ट एन्ड स्पाका सञ्चालक भरत शर्माले पनि उत्कृष्टभित्र परेको सूचीले होटलको व्यापार बढाउन समेत सघाउने बताउँछन् । ‘ट्रिप एडभाइजरको यो सूचीलाई विदेशी पर्यटकले निकै विश्वास गर्छन् । यही सूचीको आधारमा विदेशीले होटलमा अनलाइन बुकिङ गर्छन्,’ उनले भने, ‘उत्कृष्ट १० भित्र पर्नु भनेको होटलको सेवा सुविधा उत्कृष्ट रहेको पुष्टि गर्छ ।’ उनले पनि पोखराका होटल उत्कृष्ट दशभित्र पर्दा समग्र पोखराको पर्यटन क्षेत्रको प्रवद्र्धन हुने बताए । ५० कोठा रहेको अतिथि विगत ६ वर्षदेखि चलिरहेको छ।

पोखराको लेकसाइडमा रहेको अर्काे माउन्ट कैलाश रिसोर्ट पनि उत्कृष्ट भित्र परेको छ । करिब आठ वर्षअघि खुलेको होटलमा ५१ वटा कोठा छन् । माउन्ट कैलाशले यसअघि विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । पर्यटन बोर्ड पोखराका प्रबन्धक सुर्य थपलिया होटलको सेवा र सुविधाबारे पाहुनाको प्रतिक्रियामा आधारित यो सूची प्रकाशित हुने भएकाले ट्रिप एडभाइजरको सूची अन्यत्रको तुलनामा बढी विश्वसनीय हुने बताउँछन् । ‘पाहुनाले होटलमा बस्दा पाएको सेवा सुविधाका आधारमा प्रतिक्रिया जनाउँछन्,’ उनले भने, ‘त्यसैले पनि यो सूचीमा परेका होटलप्रति विदेशी पाहुनाको हेराई सकारात्मक हुन्छ । होटलको व्यापार बढाउन यसले सघाउँछ ।’ पोखराका पाँचवटा होटल उत्कृष्टमा पर्दा त्यसले पोखराको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जाने उनले बताए।

ट्रिप एडभाइजरको सूची
(१) डालिया बुटिक होटल, पोखरा
(२) द्वारिकाज होटल, काठमाडौं
(३) दी यात्रा कोर्टयार्ड होटल एन्ड रिसोर्ट, पोखरा
(४) होटल टिबेट इन्टरनेसनल, काठमाडौ
(५) होटल मुनलाइट, काठमाडौं
(६) गोकर्ण फरेस्ट रिसोर्ट, काठमाडौं
(७) होटल पोखरा ग्राण्ड, पोखरा
(८) होटल साम्बला, काठमाडौं
(९) अतिथि रिसोर्ट एण्ड स्पा, पोखरा
(१०) माउन्ट कैलाश रिसोर्ट, पोखरा

 

प्रकाशित: १४ माघ २०७४ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App