१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नगरबासीसंग सहर बढार्दै मेयर

चरिकोट – सुन्दर पर्यटकीय नगरी दोलखा सदरमुकाम चरिकोटमा शुक्रबार बिहान स्थानीयसंगै भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी पनि सडकमा भेटिए। दुई घण्टा बजारबासीसगैं मिलेर बजारको मुख्य क्षेत्र सातदोबाटो देखि पशुपतिडाँडासम्म स्थानीयसंग मिलेर सडक बढारेका उनले अस्तव्यस्त बजारलाई व्यवस्थापन गर्न नगरबासीसंग सुझाव लिए। सडक पेटी अतिक्रमण गरेर राखिएका सामान तत्काल हटाउन आग्रह गर्दै हिँडे।

भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ मा पर्ने चरिकोटको मुख्य बजार क्षेत्र सातदोबाटो चोकदेखि पशुपति डाँडा क्षेत्र सम्मका स्थानियले दुई महिना देखि शुरु गरेको साप्ताहिक सामूहिक सरसफाई तथा बजार व्यवस्थापन अभियानले तिव्रता पाइरहँदा मेयर केसी पनि नगरबासीसंगै सडकमा ओर्लिएका हुन्। शुक्रबारे बिहानी स्थानीयसंगै बिताएका मेयर केसीसंग ६ नम्बर वडाका अध्यक्ष नविन लामा पनि साथमै थिए।

राजधानीबाट नजिक रहेका कारण चरिकोटमा हरेक शुक्रबार पर्यटकहरुको घुइँचो लाग्छ। यसलाई लक्षित गरेर स्थानियले हरेक शुक्रबार सामूहिक सरसफाई गर्ने अभियान चलाएका हुन्। सरसफाई अभियानलाई नगरको ३ नम्बर वडाका अध्यक्ष हरिशरण शिवाकोटी र ६ का अध्यक्ष लामाले संस्थागत गर्न शुरु गरे। उनीहरुकै पहलमा दुई साताअघि मुख्य बजार क्षेत्रको सातदोबाटो–पशुपतिडाँडा खण्डमा तिन ओटा टोल सुधार तथा सरसफाई समिति गठन भएको थियो। तीन ओटै सरसफाई समिति सहित वडाध्यक्षद्धय, नगरपालिका कार्यालयका प्रशासकीय अधिकृत शंकर नेपाल, सरोकारवालाहरुको संयुक्त बैठकले बजार क्षेत्रमा प्रत्येक साताको शुक्रबार बिहान सामूहिक सरसफाई गर्नेदेखि बजार व्यवस्थापन गर्न सडक पेटीमा अतिक्रमण गरेर राखिएका सामानहरु हटाउने देखि बजार क्षेत्रमा ट्रिपर, मालबाहक गाडीलाई समय निर्धारण गर्ने लगायतका १३ बुंदे निर्णय गरेको थियो।

यसअघि शनिबार गर्दै आएको सामुहिक सरसफाई नगरसंगको समन्वयपछि शुक्रबार गर्दै आएको भेटनरीचोक–कांग्रेस कार्यलय क्षेत्रको टोल सुधार समितिकी अध्यक्ष सविना मानन्धरले बताईन्। उनका अनुसार दैनिक रुपमा घर अगाडीको सडक क्षेत्र सम्मै सफा गर्ने र बजारलाई सफा राख्ने नियम समितिले बनाएको छ।

यस्तै यो मुख्यबजार क्षेत्रमा माटो बोकेर आउने ट्रिपरलाई प्रवेश निषेध गरिएको छ भने निर्माण सामाग्री बोक्ने ट्रिपर, ट्रक र मिनि ट्रकलाई बिहान ७ बजे देखि बेलुकी ७ बजेसम्म बजार क्षेत्र प्रवेशमा रोक लगाईएको छ। मालवाहक गाडीलाई भने बिहान ८ देखि मध्यान्ह १२ र दिउसो ३ बजेदेखि साँझ ६ बजे सम्म बजार क्षेत्र प्रवेशमा रोक लगाईएको सातदोबाटो भेटनरी चोक सुधार समितिका अध्यक्ष ऋषि न्यौपानेले बताए। यस्तै बजार क्षेत्रमा प्रेसर हर्न निषेध गरिएको छ।      

बजार क्षेत्रलाई सुन्दर, स्वच्छ, सफा र हराभरा बनाउने नगरको योजनालाई कार्यान्वयन गर्न स्थानीयसंग मिलेर काम गर्ने नगरपालिकाको उद्देश्य अनुसार टोल समिति गठन गरेर अभियान संस्थागत गरिएको ६ नम्बर वडाका अध्यक्ष लामाले बताए।

प्रकाशित: १२ माघ २०७४ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App