१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नागरिक उड्डयन महानिर्देशक हटाउन नसकेपछि सचिवकै सरुवा

काठमाडौं- सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डिजी) सञ्जीव गौतमलाई हटाएर पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई डिजी बनाउने प्रस्ताव तयार गर्न अस्वीकार गरेपछि पर्यटन सचिव महेश्वर न्यौपानेको सरुवा गरेको छ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारको दबाबमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले सचिव न्यौपानेलाई बारम्बार गौतम हटाउने प्रस्ताव तयार गर्न निर्देशन दिएका थिए। तर, न्यौपानेले प्रस्ताव तयार गर्न नमानेपछि उनको सरुवा गरिएको हो । पर्यटन सचिव न्यौपानेलाई सार्वजनिक खरिद अनुमगन कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ भने त्यहाँका सचिव कृष्ण देवकोटालाई पर्यटन मन्त्रालयमा ल्याइएको छ ।  ‘पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सार्वजनिक खरिद अनुगमन कार्यालय र उताका सचिव कृष्ण देवकोटालाई पर्यटन मन्त्रालय सरुवा गरिएको छ,’ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बिहीबार नागरिकसँग भने ।

देवकोटाले यसअघि आपूर्ति मन्त्रालय सह्मालेका बेला नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि जग्गा खरिद गर्दा अर्बौं घोटाला गरेको आरोप लागेपछि उनलाई कारबाही गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए र त्यसपछि खड्कालाई मन्त्रालयमा हाजिर गराउन भूमिका खेलेका थिए ।

‘मलाई बुधबार र बिहीबार दिनभरि प्राधिकरणका डिजी गौतमलाई हटाएर सहसचिव आचार्यलाई डिजी बनाउने प्रस्ताव तयार गर्न उपप्रधानमन्त्री गच्छदारमार्फत मन्त्रीज्यूले दबाब दिएको दियै गर्नुभयो,’ सरुवामा परेका पर्यटन सचिव न्यौपानेले बिहीबार राति नागरिकसँग भने, ‘त्यसपछि यस्तो विवादित प्रस्ताव तयार गर्ने काम गर्न म सक्दिनँ भनेर मन्त्रालयबाट बाहिरिएँ र मोबाइल स्विच अफ गरेर बसें । अहिले रातिमात्र सरुवा भएको सुनें ।’

मन्त्रालय स्रोतका अनुसार सचिव न्यौपानेले प्रस्ताव तयार गर्न नमानेपछि सहसचिव आचार्यले आफू डिजी हुने प्रस्ताव आफैं तयार पारेका थिए । सचिव न्यौपाने बुधबार र बिहीबार बिदामा बसेका कारण आचार्य निमित्त सचिव थिए । बिदामा बसे पनि मन्त्री देवले न्यौपानेलाई कुनै हालतमा मन्त्रालय आएर प्रस्ताव तयार गर्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन मान्दै मन्त्रालय पुगेका न्यौपानेलाई मन्त्री देवले गौतमलाई हटाएर आचार्यलाई डिजी बनाउने प्रस्ताव तयार गर्न निर्देशन दिएका थिए । तर, न्यौपाने मन्त्रीको निर्देशन ठाडै अस्वीकार गर्दैै मन्त्रालयबाट बाहिरिएका थिए।

सचिव बाहिरिएलगत्तै मन्त्री देवले अन्य तीन सहसचिव भरत सुवेदी, घनश्याम उपाध्याय र आलोक श्रेष्ठ तथा केही उपसचिवलाई पनि सोही प्रस्ताव तयार गर्न भनेका थिए तर उनीहरु पनि विवादित विषयमा आफूहरू संलग्न नहुने भन्दै पन्छिएका थिए ।

मन्त्री देवले उड्डयन प्राधिकरणबाट गौतमलाई हटाएर सहसचिव आचार्यलाई डिजी बनाउने आफ्नो इच्छा नभए पनि उपप्रधानमन्त्री गच्छदारको दबाब थेग्न नसकेपछि बाध्य भएर कदमम चाल्नुपरेको मन्त्रालयका कर्मचारीलाई बिहीबारै बताएको स्रोतले जानकारी दियो ।

त्यसपछि आचार्यले तयार पारेको प्रस्ताव बोकेर मन्त्री देव मन्त्रिपरिषद् बैठक पुगेका थिए । तर, मुख्यसचिव लोकदर्शन रेग्मीले ‘निमित्त सचिव जो आफैं डिजी हुने हो उनैले तयार पारेको प्रस्ताव बैठकमा पेस गर्न नमिल्ने भएकाले सचिवले नै तयार गरेको हुनुपर्छ’ भनेपछि उक्त प्रस्तावले बैठकमा प्रवेश नपाएको स्रोतले जानकारी दियो ।

प्राधिकरणका डिजी गौतमलाई हटाउने प्रस्ताव अनुमोदन नभए सचिव न्यौपानेलाई सरुवा गर्नेगरी मन्त्री देव दुईटा प्रस्ताव बोकेर गएका थिए । आफू अनुकूलको प्रस्तावले ‘हावा’ खाएपछि उपप्रधानमन्त्री गच्छदार र मन्त्री देवले पर्यटन सचिव न्यौपानेलाई सरुवा गर्ने प्रस्ताव पेस गरेका थिए । प्रस्ताव मन्त्रिपरिषद् बैठकले तुरुन्तै अनुमोदन गरेको थियो।

त्यसबाहेक उपप्रधानमन्त्री गच्छदार र मन्त्री देवले पर्यटन मन्त्रालयअन्तर्गतका रुरु रेसुंगा विकास समिति, पाथीभरा विकास समिति, सिम्रौनगढ विकास समितिलगायतमा राजनीतिक नियुक्ति गर्न दबाब दिए पनि सचिव न्यौपानेले अस्वीकार गर्दै आएको स्रोतले जानकारी दियो ।

उपप्रधानमन्त्री गच्छदार र पर्यटनमन्त्री देव डिजी गौतमलाई पदमुक्त गर्न करिब पाँच महिनादेखि लागिपरे पनि सफल हुन सकेका छैनन् । यसअघिको प्रतिनिधिसभा र प्रदेशसभा चुनावताका पनि गौतमलाई हटाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदा मन्त्री देवलाई निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । हालै बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री देवले ‘सामान्य सरुवा/बढुवा गर्न खोज्दा पनि मुख्यसचिव र सचिवले नटेरेको’ भन्दै आक्रोश पोखेका थिए ।

प्रकाशित: १२ माघ २०७४ १०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App