१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

उदयपुरमा रोपाइँ सकियो, धान उत्पादन बढ्ने अपेक्षा

गत असार १५ मा धान दिवस मनाउँदै किसान तथा कर्मचारी। तस्विरः महेश्वर रार्इ

उदयपुर– यस वर्ष उदयपुरको धान रोपाइँ समयमै सकिएको छ। मनसुन बेलैमा भएका कारण कृषकलाई रोपाइँ गर्न यो वर्ष लामो समय कर्नुु परेन। जिल्ला कृषि विकास कार्यालय उदयपुरले गतविगत वर्षहरुको तुलनामा यो साल खडेरी नलागेका कारण समयमै रोपाइँ गर्न सहज भएको जनाएको छ।

जिल्लाको धान बढी फल्ने क्षेत्र त्रियुगा नगरपालिकाको सबैजसो खेतमा रोपइँ सकिएको छ। त्यस्तै दक्षिण पूर्वी भेगका हडिया, जोगीदह, सुन्दुरपुर, तपेश्वरी, बेलटार बसाहा र रामपुर ठोक्शीलाका अधिकतर खेतमा रोपाइँ भएुककेको छ। पश्चिमी भेगका कटारी, त्रिबेणी, रिस्कु, तावाश्रीका खेत पनि रोपाइँले रोपो हरियो भइसकेको स्थानीयको भनाइ छ। धानखेत हुने पहाडी गाविसका बेसीहरुमा पनि अहिलेसम्म रोपाइँ हुर्केर गोड्ने बेला भइसकेको छ। बलम्ता, चिलाउने, ताम्लीछा, जाँते, लाफागाउँ, बासबोटे, बाराहा, ठानागाउँ, रुपाटार, ओल्खे, लेखगाउँ, मयंखु, लेखानी, हर्देनी, सिरिसे, सोरुङछविसेलगायत दुईदर्जन पहाडी गाविसका बेंसी र टारहरुमा पनि धान खेत हराभरा भइसकेको छ।

हडियाका किसान उत्तम चौधरीका अनुसार यो वर्ष आकाशे पानी बेलैमा परेका कारण रोपाइँ गर्न समस्या भएन। उनका अनुसार हडियाका ९ वटै वडाका धानखेत किसानले गोड्न थालेका छन्। फाटफुट सानो आकारमा मात्र रोपाइँ गर्न बाँकी देखिएको त्यो पनि विउ अभाव र जोत्न नसक्दा ढिला भएको उनले बताए। जोगीदहका किसान सनतलाल चौधरीका अनुसार पानी बेलैमा परेकाले आकाशे ानीको भरमा खेती गर्ने किसानलाई पनि यो वर्ष सजिलो भयो। गतवर्ष यतिखेर विउ हुर्किसके पनि पानी परेको थिए।

‘यसपालि पानी बेलैमा प¥यो, त्यसैले रोपाइँ बेलैमा सक्यौं’ चौधरीले भने, ‘वर्षा बेलामा भएकाले सिंचाई कुलोमा पनि पानी प्रसस्त भएर सहिजो भयो।’ बेलैमा रोपाइँ गर्न भ्याएकाले उत्पादन पनि यो वर्ष बढ्ने आशा किसानमा पलाएको छ। तावाश्रीका किसान मोहनराज मगरले भने ‘गएको दुईवर्षभन्दा यो वर्ष धान बढी फल्छ भन्ने आस छ,’ रोपाइँ सकेर सदरमुकाम घुम्न आएका मगरले भने, ‘बेलैमा धान रोप्न भ्याएकाले किसानमा उत्साह भरिएको छ।’ मगरका अनुसार तावाश्रीसँग जोडिएका बर्रे, डुम्रे, लेखगाउँ र इनामेलगायत पहाडी गाविसका बेंसी र टारहरुमा पनि यो वर्ष बेलैमा रोपाइँ भएको छ ।

कृषि विकास कार्यालयका बालि विकास अधिकृत रामसेवक ठाकुरले उदयपुरमा यो वर्ष साउन तेस्रो सातामै रोपाइँ सकिएको दावी गरे। नेपालमा मनाइने धान दिवस असार १५ भित्रै आधाउधि रोपाइँ सकिसकेको ठाकुरले दावी गरे। ‘रोपाइँको मध्ये समय भनेको असार १५ हो,’ अधिकृत ठाकुरले भने ‘तर, यो वर्ष जेठ पहिलो सातादेखि नै पर्याप्त वर्षा भएकाले रोपाइँ गर्न कुनै समस्या परेन। अहिलेसम्म ९७ प्रतिशत रोपाइँ सकिएको रिपोर्ट हामीसँग आईसकेको छ।’

उदयपुरमा सबैभन्दा बढी मन्सुली धानको खेती गरिन्छ। त्यस्तै हर्दिनाथ १, रामधन, राधा १२, स्वर्णासव पनि लगाइन्छ। पानीको स्रोत कम हुने खेतमा सुख्खा १, २, ३, ४ र ५ र सुख्खा मनसुली लगाउने किसान पनि उत्तिकै रहेको ठाकुरले बताए। यहाँ वर्षे, भदैया र चैते गरी तीन मौसममा धान उत्पादन हुने गरेको छ।
उदयपुरमा यो वर्ष १४ हजार ७ सय ५० हेक्टर जमिनमा धान रोपाइँ गरिएको कृषि विकास कार्यालयले अभिलेख खडा गरेको छ । गतवर्ष १४ हजार ९४ हेक्टरमा धानखेती गरिएको थियो । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पवन गिरीले सिँचाई सुविधा भएका तथा नभएका दुवैथरी खेतमा समयमै वर्षा भएकाले बेलैमा रोपाइँ लगभग सकिएको बताए । पहाड र भित्रिमधेसमा एकैनास वर्षा भएकाले सबैतिर यो वर्ष सँगसँगै रोपाइँ गर्न किसानलाई सहज भएको कृषि विकास कार्यालय उदयपुरको भनाइ छ ।

कृषि कार्यालयले यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरेको छ। गत वर्ष ५२ हजार ४ सय ६२ मेट्रिक टन उत्पादन भएको थियो। समयमा पानी नपरेका कारण डेढ महिना ढिला हुँदा पनि उत्पादन सन्तोषजनक देखिएकाले यो वर्ष डेढी उत्पादन बढ्ने आसा लिएको गिरीले बताए।

‘गएको २÷३ वर्षको तुलनामा यो वर्ष समयमै रोपाइँ भ्याइएको छ, त्यसैले उत्पादन निकै बढ्नुपर्ने हो’ जिल्ला कृषक महासंघ उदयपुरका अध्यक्ष सोमबहादुर दनुवारले भने ‘कुनै रोग किरा नलागे, खडेरीले नखाए ५० प्रतिशतसम्म उत्पादन बढ्ला भन्ने अनुमान छ।’  
 
 

 

प्रकाशित: २८ श्रावण २०७३ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App