१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्तिम चारमा फेडेरर

मेलबर्न – साबिक विजेता रोजर फेडेरर बुधबार   थोमस बर्डेचकालाई पराजित गर्दै अस्ट्रेलियन ओपनको सेमिफाइनल प्रवेश गरेका छन्। विश्व नम्बर २ स्विस खेलाडी फेडेररले बर्डेचकालाई ७–६ (७–१), ६–३  ६–४ ले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरेका हुन्।

फाइनल प्रवेशका फेडेररले शुक्रबार दक्षिण कोरियाका चुङ ह्युनसँग प्रतिस्पर्धा गर्नेछन् ।  १९ पटकका ग्रान्ड स्लाम विजेता फेडेररले मेलबर्नमा खेलिएका १ सय ५ खेलमा जित हात पारेको यो ९२औं खेल हो।

‘मैले प्रतिस्पर्धात्मक रहे पनि पहिलो सेट जितें । त्यो नै जितको प्रमुख कारण बन्यो,’ फेडेररले भने, ‘थोमसले पहिलो दुई सेटमा निकै कडा चुनौती दिए । तर उनी तेस्रो सेटमा केही फिका देखिए।’

फेडेरर मेलबर्नमा खेलिएका १४ वटै क्वार्टरफाइनलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिन समेत सफल भएका छन्।
‘ह्युन उत्कृष्ट खेलाडी हुन् । मैले उनी र जोकोभिचबीचको खेल हेरेको थिएँ,‘फेडेररले भने, ‘उनले जो कोहीलाई पनि कडा चुनौती दिनेछन् । त्यसैले उनीविरुद्धको खेल निकै कठिन हुनेछ । उनी आक्रामक खेल्छन् । त्यसैले म सेमिफाइल भिडन्तका लागि निकै उत्साही छु।’

यता ६ पटकका विजेता सर्बियाका नोभाक जोकोभिचलाई स्तब्ध पार्दै क्वार्टरफाइनल प्रवेश गरेका ह्युनले टेनेस सान्डग्रिनलाई ६–४, ७–५(७–३) ,६–३ ले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरे।

त्यस्तै  महिलातर्फ विश्व नम्बर एक सिमोना हेलेपले विश्व नम्बर ६ चेक गणतन्त्रकी  कारोलिना पिल्सकोभालाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिन् । हेलेपले  पिल्सकोभामाथि ६–३, ६–२ को सोझे सेटमा जित हात पारिन्।

 

प्रकाशित: ११ माघ २०७४ ०५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App