coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

हँसाउने ‘गरुण पुराण’

काठमाडौं –फिल्म ‘अपवाद’ र ‘आवरण’ जस्ता फरक फ्लेबरका फिल्म बनाएका निर्देशक सुवास कोइरालाले कमेडी शैलीको फिल्म बनाउने भएका छन् । ‘गरुड पुराण’ शीर्षकमा बन्न लागेको फिल्मको बुधबार औपचारिक घोषणा गरियो । सुवासलाई छायाँकार सुसन प्रजापतिले निर्देशनमा सघाउनेछन् ।

निर्देशक सुवासले पछिल्लो केही फिल्मको सफलता र केही फिल्मको असफलताबाट आफूले पाठ सिकेको स्वीकार्दै त्यही सिकाइलाई नयाँ फिल्ममा परिपक्व हिसाबले प्रयोग गर्ने बताए । ‘फिल्ममा पात्रका विभिन्न परिवेशका भोगाइलाई कमेडी शैलीमा प्रस्तुत गर्नेछौं । यसको कथा हाम्रै समाजको हो,’ उनले भने, ‘फिल्मको नाम कथाबस्तुसँग मिल्ने भएकाले पनि दर्शकले मनपराउनेमा विश्वस्त छौं ।’निर्देशक सुसनले सुवास र आफूले सहकार्य गरेको धेरै लामो समय भइसकेकाले त्यही सहकार्यलाई निर्देशनमा प्रयोग गरेको बताए । ‘फिल्मले अझै हामीलाई सिकाउँदैछ । हामी सिकाइकै क्रममा छौं र यसकै निरन्तरताको रूपमा यो फिल्म आउन लागेको हो,’ उनले भने ।

फिल्मका अभिनेता कर्माले फिल्ममा आफू संघर्षशील पात्रको रूपमा देखिने बताए । अर्का कलाकार नाजिर हुसेनले ब्यान्ड बाजा व्यवसाय गरिरहेका आफ्नो बाबुको बिँडो थाम्ने चरित्रमा देखिन लागेको खुलाए । फिल्ममा कलाकार लुनिभा तुलाधर नाजिरकी माइजुको भूमिकामा हुनेछिन् । फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी प्रियंका सिंह ठकुरीले  गाउँले युवतीको भूमिकामा अभिनय गर्नेछिन् ।कमेडी जनराको फिल्ममा कर्मा, कामेश्वर चौरसिया, प्रवीण खतिवडा, नाजिर हुसेन, बसन्त भट्ट, लुनिभा तुलाधर, प्रकाश घिमिरे, नरेश पौडेललगायतका कलाकारको अभिनय रहनेछ । फिल्म यसै साताबाट छायांकनमा जाँदैछ ।

सुसन प्रजापति प्रस्तुतकर्ता रहेको फिल्म अजित फिल्म्स्को ब्यानरमा बन्न लागेको हो । काठमाडौं आसपास छायांकन हुने फिल्ममा सुसनकै छायांकन, कसम नेपालको कथा, आकाश बराल, विनोद खतिवडा, सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद तथा उज्ज्वल ढकालको सम्पादन छ । अजित प्रजापति निर्माता रहेको फिल्मका सह–निर्माता अशोक गौतम रहेका छन् ।
 

प्रकाशित: ११ माघ २०७४ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App