१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

को बन्ला मुख्य मन्त्री ?

लहान – आइतबार प्रदेश सभा सदस्यहरूले (विधायक) पद तथा गोपनीयताको शपथ लिएपछि अब प्रदेश सरकार र प्रदेश मुख्यमन्त्रीको चर्चा चुलिएको छ । प्रदेश सरकारको नेतृत्व कुन दलले गर्नेदेखि मुख्यमन्त्रीको बन्ने विषयले प्रदेश २ को राजनीति तरंगित बनाएको छ।

प्रदेश २ को प्रदेशसभा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सदस्यीय छन् । बहुमतका लागि चाहिने सिटसँख्या समाजवादी फोरम र राजपाको मधेस गठबन्धनसँग छ । सिटको अंकगणितको हिसाबले समाजवादी फोरमले प्रदेश सरकारको नेतृत्व गर्नेमा दुविधा छैन । प्रदेश सरकार प्रमुख (मुख्यमन्त्री) को नेता होला भन्ने विषय कौतुहलता बनेको छ।

यादव जता ढल्किन्छन् दलका नेता तथा मुख्यमन्त्री उही बन्नेमा दुविधा छैन । फोरमका उपाध्यक्ष लालबाबु पनि अध्यक्ष यादव निकट नै मानिन्छन्।

प्रदेशसभा सदस्य जितेका प्रभावशाली नेतामध्ये को मुख्यमन्त्री बन्ला भन्ने कौतुहलताले यो प्रदेशमा राजनीतिक बहस तताएको छ।
केन्द्र सरकार गठनको समीकरणदेखि प्रदेश सरकार गठनमा समाजवादी फोरम र राजपासँगै रहने राजपाले आफ्नो राजनीतिक समितिबाटै निर्णय गरिसकेको छ। ‘निश्चितरूपमा यो प्रदेशमा बहुमत सिट जितेकाले सरकारको नेतृत्व फोरमले गर्छ,’ राजपा अध्यक्ष मण्डलका सदस्य एवं सांसद राजकिशोर यादवले भने, ‘यो प्रदेशमा बन्न लागेको मधेस सरकारको नेतृत्व फोरमले गर्छ।’ फोरमको मुख्यमन्त्री र  राजपाको उपमुख्यमन्त्री बन्ने लगभग निश्चित भइसकेको स्रोतले भन्यो । बाँकी पद जस्तै प्रदेश सभामुख र सातवटा मन्त्रालयका विषयमा टुंंगो लागि नसकेको स्रोतले बतायो।

माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजपा–फोरम कांग्रेस र एमालेसँग तालमेलका लागि कसरत सुरु गरेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि फोरम राजपाको तालमेल जुन दलसँग हुन्छ(कांग्रेस वा एमाले) प्रदेश २ को सरकार गठनमा सोही दलसँग समीकरण बन्ने  राजपाका एक नेताले भने । सरकारको नेतृत्व हामीले गर्ने हो ती नेताले भने, ‘तर, समर्थन त्यो तदलको पनि रहन्छ ।’ समीकरण हुँदा ती दलले मन्त्री माग गरे एउटा मन्त्रालय पनि दिन सकिने ती नेताले भने।

राउत र यादवको चर्चा बढी
प्रदेश २ को पहिलो प्रदेशसभा बैठक माघ २१ गते तय भएको छ । प्रदेश सभा बैठक अगावै फोरमको प्रदेशसभा सदस्यको बैठक बस्ने तयारी भैरहेको छ । फोरमका प्रदेशसभा सदस्यहरुको उक्त विधायक दलको बैठकबाट विधायक दलको नेता चुनिने छन् । कारण विधायक दलका नेता नै मुख्यमन्त्री बन्ने अभ्यास छ । विधायक दलका नेतामा समाजवादी फोरमबाट अहिलेसम्म दुईजनाको नाम चर्चामा छ । पहिलो नाम फोरमका उपाध्यक्ष लालबाबु राउत र दोस्रो फोरमका कोषाध्यक्ष विजय यादव। विधायक दलको बैठकमा तेस्रो नाम पनि आउन सक्ने सम्भावना प्रवल छ । दुबैले आपूmलाई दलको नेता र मुख्यमन्त्रीका लागि प्रस्तुत गरेका छन् । तर, यसका लागि प्रदेश सभाका २८ जना विधायकको समर्थन चाहिने हुन्छ । जसको पक्षमा २८ जना विधायकको समर्थन पुग्छ, फोरम विधायक दलको नेता उही चुनिन्छ । फोरमको २९ जना विधायक छन्।

विधायक दलका नेता बन्नका लागि फोरम पार्टी अध्यक्ष उपेन्द्र यादवको साथ र समर्थन महत्वपूर्ण छ । यादव जता ढल्किन्छन् दलका नेता तथा मुख्यमन्त्री उही बन्नेमा दुविधा छैन। फोरमका उपाध्यक्ष लालबाबु पनि अध्यक्ष यादव निकट नै मानिन्छन्। कारण तेस्रो मधेस आन्दोलन(२०७२) मा सरकारसँग गठित वार्ता टोलीको सदस्यमा फोरमबाट राउतलाई सहभागी गराइएको थियो । मुख्य मन्त्रीका अर्का आकांक्षी विजय यादव पनि फोरम अध्यक्ष यादवका नजिकका पात्र मानिन्छन्। कारण फोरमबाट ०६८ ताका झलनाथ खनालको सरकारमा विजय आपूर्तिमन्त्री बनेका थिए।

यो प्रदेशमा(प्रदेश २) जातीय समुदायको हिसाबले सबैभन्दा बढी संख्या यादवको छ। जातीय सन्तुलन मिलाउन र यादव जातिको जातीय भोट बैंक जोगाउन उपेन्द्र यादवको पल्ला विजय यादवको पक्षमा रहने फोरमका एक नेताले भने। अर्कोतर्फ वरियताको हिसावले राउत यादवभन्दा माथि भएकाले उनको पल्ला पनि भारी छ । ‘वरियता मिचेर यादव संसदीय दलको नेता तथा मुख्यमन्त्री भए पार्टीभित्र मनमुटाव बढ्न सक्ने सम्भावना पनि उत्तिकै छ,’ ती नेताले भने। यादव र राउतको मुख्यमन्त्रीको दाबेदारीले फोरम अध्यक्ष यादवलाई तनाब बढेको छ।

फोरका विद्यायक योगेन्द्र राय यादवका अनुसार पार्टीभित्र धेरै विधायकहरू प्रदेश प्रमुक हाँक्न सक्ने हैसियत राख्छन्। ‘अहिले नै यो वा त्यो भनेर आँकलन गर्नु बेठिक हो,’ उनले भने, ‘धेरै प्रचारमा नआएका वा प्रचारमै नआएका विधायक पनि मुख्यमन्त्रीका रूपमा आउन सक्छन् ।’ ‘विद्यायकहरु विद्यायक दलको नेता चुन्दा कुन जिल्लाबाट कति सिट जितेको छ हेरिन्छ’ उनले भने, ‘बढी सिट जितेको जिल्लालाई माइनस गरेर बल्लतल्ल जमानत जोगाएका जिल्लाको नेतृत्व कसरी स्वीकार्ने ?’

यादवको भनाइअनुसार अहिले चर्चामा आएका मुख्यमन्त्री पदका दुई आकांक्षी राउत र यादवमध्ये राउतको पल्ला भारी देखिन्छ। कारण राउत निर्वाचित भएको पर्षा जिल्लाबाट फोरम राजपा गठबन्धनका ४ जना सांसद र ४ जना विद्यायक निर्वाचित भएका छन् । जबकी सिरहाबाट फोरमबाट एकजना विद्यालयक विजय यादव र राजपाबाट एक सांसद राजकिशोर यादव तथा अर्का विद्यायक सुरेश मण्डल निर्वाचित भएका छन्।

उपमुख्यमन्त्री राजपाको भागमा परेको छ । राजपाबाट उपमुख्यमन्त्रीमा वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह र महासचिव मनिष सुमनको नाम चर्चामा छ।

‘पार्टीमा लगानी र सहकर्मी विधायकहरूको समर्थनले विधायक दलको नेतामा दावेदारी पेश गर्दै छु’, अर्का मुख्यमन्त्री आकांक्षी विजय यादवले भने।

लालबाबु राउत(विधायक दलको नेतामा आफ्नो दाबी स्वाभाविक हो । कारण पार्टीको पदीय वरियतामा वरिष्ठ भएकोले मैले विधायक दलको नेता पाउने दावी न्यायिक हो, उनले भने।

प्रकाशित: ११ माघ २०७४ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App