१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

झरी र हिमपातले भूकम्प पीडितलाई झन् पीडा

सिन्धुपाल्चोक- तेस्रो हिउँद अस्थायी टहरोमा गुजारिरहेका भूकम्प पीडित बुधबारको झरीले थप कठ्यांग्रिएका छन्। हिमाली क्षेत्रमा झरीसँगैको हिमपातले पीडितका टहरोमा ठिही निम्त्याएको छ भने ह्वात्तै जाडो बढ्दा मध्ये तथा वेँसी क्षेत्रकै जनजीवन प्रभावित भएको छ।

जिल्लाका हेलम्बु, किउल, भोताङ, सेलाङ, गोल्चे, गुम्बा, हगाम, पाङताङ, लिस्ति, तातोपानी, मार्मिङ, कर्थली, जेठल लगायत गाउँका हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ। त्यहाँका भूकम्प पीडितका टहरो हिउँले छोपिएका छन्। पीडित कठ्यांग्रिएको शरीर धुनी जगाएर तताइ रहेका छन्।

 ‘बाक्लो हिउँपात भयो, अचाक्ली जाडो बढायो,’ सेलाङस्थित फुस्रे लेकबाट स्थानीय साङ्गे लामाले टेलिफोनमा नागरिकसँग भने, ‘टहरोभित्र आगो बालेर बसेका छौँ।’ उनले जाडोका कारण स्थानीय घर बाहिर निस्कन नसकेको बताए।

चिसोले अस्थायी शिविरमा आश्रित भूकम्प पीडित बढी प्रभावित भएका छन्। सेलाङको बाँसखर्क, जेठलको ओखरेनी लेक लगायत स्थानमा पीडित भूकम्पपछि सेल्टर लिइ बस्दै आएका छन्। त्यहाँ ५ सय बढी परिवार बसोबास गर्दै आएका छन्। बसोबासको थलो नै अस्थायी भएका पीडितका टहरो नाम मात्रैको छ।

टहरोमा बालबालिका र वृद्धवृद्धा कठ्यांग्रिएको स्थानीयले बताए। उनीहरुका अनुसार ढिलै गरी हिमपात भए पनि यो पटक हिमाली क्षेत्रमा भारी र बाक्लो हिउँ जमेको छ। झरी थामिएर दिउँसो केहीबेर घामसहित आकाश खुल्दा निकै तल–तलसम्म हिउँ जमेको देख्न सकिन्थ्यो।

 ‘छानामा जमेको बाक्लो हिउँ शीत बनेर टहरोभित्र चुहिँदा चिसिएका छौँ,’ शेर्माथाङका कर्मातोप्के लामाले टेलिफोनमा भने। चर्चित पर्यटकीय क्षेत्र हेलम्बुसहितका ह्योल्मो क्षेत्र हिउँले ढाकिएर सेताम्मे बन्दा स्थानीयले जाडोले कठ्यांग्रिन पुगेको उनले बताए। ‘धुनी जगाउँदा पनि शरीर तात्न हम्मे छ,’ उनले भने।

भूकम्पबाट सर्वाधिक क्षति बेहोरेका सिन्धुपाल्चोकका अधिकांश पीडित ३३ महिनादेखि जस्ता, त्रिपाल, मान्द्रा र स्याउलाले बनाएका अस्थायी टहरोमा बस्दै आएका छन्। पीडितले टहरोमा ठिही सहेको यो तस्रो हिउँद हो । भूकम्पपछि कति घर पुनर्निर्माण भए भन्ने यकिन तथ्यांक सरकारी निकायसँग छैन।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार जिल्लामा ४० हजार घर निर्माणाधीन रहे पनि पुनर्निर्माण सम्पन्न घरको संख्या ७ हजार ननाघेको देखाउँछ। तर जिल्लामा यो भन्दा धेरै बढी घर पुनर्निर्माण भएको अनुमान गरिए पनि अधिकांश पीडित टहरोमै आश्रित छन्। जिल्लामा भूकम्प पीडित लाभग्राहीको संख्या ८३ हजार छ।

वेँसी भए पनि तुसारो र हुस्सुले ढाकिने ब्रम्हायणी, भाटेकोसी, सुनकोसी, इन्द्रावती, मेलम्ची नदी करिडोरका बस्तीमा ह्यात्तै चिसो बढेको छ। पुनर्निर्माणले तीव्रता लिइरहेको जिल्लाका सबै ठाउँमा बुधबार झरी र हिमपातले चिसो निम्त्याउँदा निर्माण सम्वन्धि सबै काम ठप्प हुन पुग्यो। खेती, किसानी गर्ने पीडित झरी र हिमपातले खुशी भएपनि सँगै निम्तिएको चिसोले प्रभावित छन्।

               

प्रकाशित: १० माघ २०७४ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App