गुटको दलदलमा कांग्रेस

बुधबार, १० माघ २०७४, ०८ : ५० बालकृष्ण अधिकारी  | @adhikaribal

काठमाडौं – मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस स्वार्थ केन्द्रित गुट र उपगुटका कारण कमजोर बन्दै गएको छ । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनमा तेस्रो स्थानमा धकेलिए पनि सुधारिने अवस्था अझै देखिएको छैन।

पार्टी हितको नारा दिने तर व्यक्ति र समूह केन्द्रित स्वार्थ पूरा गर्न नेताहरु सक्रिय हुँदा कांग्रेस गाउँ तहसम्म गुट, उपगुट र समूहमा विभाजित बन्न पुगेको छ । निर्वाचनमा पार्टीको पराजयपछि १४औं महाधिवेशनमा आफ्नो उपस्थिति देखाउन दोस्रो तहका मात्र होइन, युवा केन्द्रीय सदस्य र त्यसभन्दा तलका नेता पनि समूह बनाउन जुटेका छन्।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षा र आगामी रणनीति बनाउने नाममा केन्द्रदेखि गाउँसम्मका नेता विभाजित हुँदा कांग्रेस मक्किन पुगेको छ । १३ औं महाधिवेशनअघिसम्म दुई गुटमा सीमित कांग्रेसभित्र अहिले गुट, उपगुट र समूहको संख्या दर्जन नजिक पुगेको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले परम्परागत दुई गुटको नेतृत्व गर्दै आएका छन् भने उनीहरुभित्र पनि आधा दर्जन उपगुट र समूह सक्रिय छन्।

देउवा र पौडेलविरुद्ध १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिँदै कृष्णप्रसाद सिटौलाले पार्टीमा तेस्रो धारका रुपमा आफूलाई प्रस्तुत गरेका थिए । खुमबहादुर खड्का, विजयकुमार गच्छदार र कुलबहादुर गुरुङ नेतृत्वमा पनि गुट सक्रिय छ। खड्का र सिटौला समूहलाई पौडेल पक्षले सभापति देउवाको सहयोगी समूहका रुपमा चित्रण गर्दै आएको छ।

सभापति देउवाले नेपाल तरुण दलको महाधिवेशनबाट पौडेल पक्षलाई मात्र होइन, सिटौला र खड्का समूहलाई पनि गुटको रुपमा मान्यता दिएका थिए । चार गुटका चार नेतालाई पदाधिकारी तोकेर तरुण दलको महाधिवेशन टुंग्याएपछि सरकार गठनसहितका सबै विषयमा सिटौला र खड्का समूहले भाग पाउँदै आएका छन् । गच्छदारले भने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा कात्तिक २९ गते लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएका हुन् । पूर्वमहामन्त्रीसमेत रहेका पुराना नेता गुरुङको समूहमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, विनयध्वज चन्दसहितका नेता छन्।

देउवा गुटभित्र पनि विभिन्न उपगुट सक्रिय छन् । विमलेन्द्र निधि, देउवा पत्नी आरजु राणा, नेता गोपालमान श्रेष्ठसहितका नेताहरु आआफ्नै ढंगले सक्रिय छन् । ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महतमात्र होइन, त्यसपछिको पुस्ता पनि आफ्नो स्थान सुरक्षित गर्न व्यस्त छ।

पदाधिकारी मनोनयन गर्ने सभापतिको पटकपटकको आश्वासन कार्यान्वयन नभएपछि उनी निकटका आकांक्षी नेताहरू पनि रुष्ट बनेका छन् । एक उपसभापतिमा सभापतिनिकट निधि, खड्का र श्रेष्ठको दाबी छ भने महामन्त्रीमा कार्की, पूर्णबहादुर खड्कालगायत आकांक्षी छन्।

सभापति देउवाले केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएकोमा रमेश लेखकसहितका नेता असन्तुष्ट छन् । सभापतिको निर्णयप्रति असन्तुष्ट पक्ष छुट्टै संगठित हुन थालेको छ भने मीन विश्वकर्मा, लक्ष्मी परियार, वीरबहादुर बलायर, विश्वप्रकाश शर्मा, डिला संग्रौलालगायतका नेता पनि आन्तरिक छलफलमा छन् । नेता खुमबहादुर खड्का निकटका शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेलसहितका नेता अलग्गै समूहमा छन्।

‘पदाधिकारी मनोनयनले देउवा गुटमा तीव्र असन्तुष्टि आउने भएकाले सभापतिले त्यसलाई टार्दै आउनुभएको छ,’ पौडेल निकट एक सदस्यले भने, ‘त्यसले कांग्रेसभित्रको समीकरण फेरिन्छ।’

सभापतिसँग सुमधुर सम्बन्ध बनाएर १४औं महाधिवेशनमा निर्णायक शक्ति बन्ने रणनीतिमा रहेका सिटौला र देउवाबीच अहिले सम्बन्ध चिसिएको छ । सिटौला पौडेलसँग नजिकिने प्रयासमा छन् । केन्द्रीय समिति र सार्वजनिक कार्यक्रमबाहेक १३औं महाधिवेशनपछि नभेटेका दुई नेताबीच गत साता पहिलोपटक भेट भएको छ । त्यसको संयोजन अर्जुननरसिंह केसीले गरेका थिए।

१३औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीको प्रत्याशी बनेका केसीले नयाँ गुट बनाएर १४औं महाधिवेशनको तयारीमा जुट्नुपर्ने प्रस्ताव गरेको उनी निकटका नेता बताउँछन् । तत्कालीन सभापति सुशील कोइरालाको बिरासत बोकी पौडेल १३औं महाधिवेशनमा सभापतिको प्रत्याशी बनेका थिए।

पौडेल समूहमा आधा दर्जनभन्दा बढी उपगुट सक्रिय छन् । उपगुटको महासंघजस्तो रहेको पौडेल गुटमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहमात्र होइन, नेता रामशरण महत र सुजाता कोइराला पनि आआफ्नै ढंगबाट लागिपरेका छन्।

महाधिवेशनपछि कुनै गुट र समूहमा नरहेको बताउँदै आएका शेखर कोइराला पनि पछिल्ला दिनमा पौडेल समूहमा जोडिन आइपुगेका छन् । गत साता पौडेल पक्षधर १४ युवा केन्द्रीय सदस्यले बोलाएको भेलामा शेखर सहभागी थिए । पार्टीभित्र कोइराला परिवारको प्रभाव जमाउन शशांक, सुजाता र शेखर आआफ्नो ढंगबाट सक्रिय छन्।

पौडेल पक्षका १४ युवा केन्द्रीय सदस्यले विधिविधानअनुसार पार्टीलाई अघि बढाउन भन्दै दबाब समूह निर्माण गरेका छन्। नवीन्द्रराज जोशी, दीपक गिरी, गोविन्द भट्टराई, सरिता प्रसाईं, हृदयराम थानी, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्री पाण्डेसहितका केन्द्रीय सदस्य पनि संगठित भएका छन् । पार्टीलाई बलियो बनाउन गुटभन्दा माथि उठेर काम गर्ने बताए पनि उनीहरुले नेता पौडेल, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई आगामी महाधिवेशनमा नेतृत्वमा कसले प्रतिस्पर्धा गर्ने हो त्यसको टुंगो लगाएर अघि बढ्न दबाब दिएका छन् । तीनमध्ये अबको नेतृत्व कसले गर्ने भन्नेमा एकमत छैन।

त्यस्तै, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईसहित केशव सिंह, रञ्जित कर्ण, यादव पण्डितको  छुट्टै समूह छ । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीसहित एक दर्जन युवा नेताले पार्टीमा वैचारिक जागरण अभियान थाल्ने घोषणा गरेका छन्।

पौडेल समूहमै रहेका गुरुङ, घिमिरे र पाण्डेसमेत सहभागी रहेको युवा केन्द्रीय सदस्यको अर्को समूह पनि सक्रिय छ । पार्टी सभापति देउवा समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित चन्द्र भण्डारी र विश्वप्रकाश शर्माका साथै सिटौला समूह निकट गगनकुमार थापा र प्रदीप पौडेल उक्त समूहमा सहभागी छन्।

नेपाल विद्यार्थी संघबाट पार्टी राजनीतिमा प्रवेश गरेका उनीहरु संघको ११औं महाधिवेशनअघिसम्म एकै ठाउँमा थिए । पार्टीमा आफ्नो स्थान सुरक्षित गर्न उनीहरु १३औं महाधिवेशनमा विभिन्न गुटमा विभाजित थिए । तर, निर्वाचनपछि एकै ठाउँमा उभिए पनि उनीहरुबीच पार्टीलाई कसरी अघि बढाउने भन्नेमा सहमति जुट्न सकेको छैन।

जिल्ला सभापति पनि छुट्टै भेटघाट र भेलामा सक्रिय छन् । माउ पार्टीमा रहेको गुट, उपगुट र समूहको छायाबाट प्रमुख भ्रातृ संगठनहरु पनि विभाजित छन् । यसै कारण नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ आन्तरिक विवादमा रुमल्लिन पुगेका छन्।

भ्रातृ संगठनका पदाधिकारी र सदस्यहरु नेतृत्व र संस्थागत निर्णय मान्न तयार देखिँदैनन् । नेवि संघ केन्द्रीय समितिले विभिन्न मागसहित सुरु गरेको आन्दोलनमा पौडेल र सिटौला पक्ष सहभागी छैनन् । उनीहरुले छुट्टै समानान्तर कार्यक्रम गर्दै आएका छन् ।
तरुण दलमा पनि उस्तै अवस्था छ । पार्टीको गुटगत विवादले महाधिवेशन भएको एक वर्ष बित्दासमेत केन्द्रीय समिति गठन हुन सकेको छैन । दलले माघ तेस्रो साता निर्वाचन समीक्षा गर्न जिल्ला सभापतिको भेला बोलाएको छ । महिला संघले महाधिवेशन भएको १६ महिना बित्दासमेत आफ्नो विधानसमेत टुंगो लगाउन सकेको छैन।

केन्द्रीय सदस्य किशोरसिंह राठौरले सभापति देउवा र महामन्त्री कोइरालाले पार्टीलाई मिलाएर अघि बढाउन प्रयत्न गरिरहेको दाबी गरे । तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले निर्वाचनमा अन्तरघात गर्नेलाई २०५० मा आममाफी दिएसँगै पार्टीमा अनुशासनहीनता बढेको उनको बुझाइ छ । ‘कम्युनिस्ट पार्टीमा फरक विचार र धारणा आउन थालेकाले प्रजातान्त्रिक पार्टीमा फरक धारणा आउनु हुन्न भन्ने होइन,’ राठौरले भने, ‘तर जसले जे गरे पनि, जे बोले पनि हुन्छ भन्ने प्रवृत्ति रोक्न अनुशासनको दायरामा ल्याउनुपर्छ।’

पार्टीमा आफ्नो स्वार्थ पूरा गर्न नेताका वरिपरि विभिन्न नाम र समूहमा सक्रिय हुने गरेको बताउँदै उनले भने, ‘स्वार्थ केन्द्रित समूह र मान्छेले नेतृत्वलाई गलत प्रयोग गर्न सक्छन् । त्यसबाट नेतृत्व जोगिनुपर्छ।’

समयमै निर्वाचन समीक्षा बैठक हुन नसक्दा सबै आआफ्नो ढंगबाट छलफलमा जुटेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले बताए । यस्तो अवस्थामा हालै सम्पन्न केन्द्रीय समिति बैठकले केही सहज बनाएको उनको बुझाइ छ । ‘पार्टीका सबै संरचनाहरु सक्रिय होऊन् भन्ने सबैको चाहना र चिन्ता देखिन्छ,’ बडूले भने, ‘विभिन्न गुट–उपगुटसहित मसिनो समूहको लक्ष्य एउटै भइदिए पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन सकिन्छ।’

विधि र विधानअनुसार बृहत्तर एकतासहित पार्टीलाई अघि बढाउनु अहिलेको आवश्यकता रहेको बडूले बताए । ‘विभाजन र विखण्डन होइन एकता आवश्यक छ,’ उनले भने, ‘पार्टीलाई संस्थागत रुपमा तल्लो तहसम्म सक्रिय बनाउनुपर्छ । निर्णय प्रक्रियामा सबैलाई सहभागी गराउनुपर्छ।’

पूर्वसांसद रामहरि खतिवडाले एकअर्काको प्रतिद्वन्द्वीजस्तो गरी पार्टीभित्र समूह निर्माणले तीव्रता पाएको स्वीकार गरे । निर्वाचनपछि विभिन्न बैठक र छलफलमा आफू पनि सहभागी भएको जानकारी उनले दिए । उनले भने, ‘एउटा नेताको पक्ष र विपक्षमा गुट बढ्दै जाँदा पार्टी कमजोर बनेको छ।’
१३ औं महाधिवेशनमा सभापतिमा भोट माग्दै देउवाले पार्टी विधान अक्षरशः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माण गर्ने प्रतिबद्धता  जनाएका थिए । तर, महाधिवेशन भएको दुई वर्ष बित्न लाग्दा कांग्रेस विधि र विधानअनुसार नचली विधिविहीन पार्टी बन्न पुगेको सदस्यहरुले नै केन्द्रीय समिति बैठकमै आरोप लगाएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad