१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्कुल बनाउन विदेशी नागरिक मेची-महाकाली साइकल यात्रामा

नेपालगन्ज – विपन्न बस्तीमा ‘नमुना’ स्कुल बनाउने अभियान बोकेर दुई विदेशीसहित चार जनाले मेची–महाकाली साइकल यात्रा थालनी गरेका छन्। काभ्रेमा स्थापना भएको ‘नगरहोप बेसिक स्कुल’ का लागी सहयोग जुटाउन आयरल्याण्डका नागरिक ‘डक क्लान्डेलन’ र ‘लेनि मेगिनस’ तथा नेपाली युवा अर्जुन ठटाल र अर्जुन रिखाम मगरले गत पुस २४ गतेदेखी पुर्वको काँकडभिट्टाबाट २० दिने साईकल यात्रा थालेका थिए।

यात्राको १६ औं दिनमा उनीहरु मंगलबार नेपालगन्ज आइपुगेका छन्। साइकल यात्रीहरु अबको ४ दिनभित्रमा कञ्चनपुर पुग्नेछन्। यात्राको अगुवाई गरेका ‘डक’ ले विपन्न समुदायका बालबालिकाले पढ्ने उक्त स्कुलको स्तर उन्नतीकै लागी साईकल यात्रा थालिएको बताए। उनका अनुसार २०७१ सालबाट नर्सरी कक्षाको पढाई सुरु गरेको उक्त बिद्यालयमा हाल कक्षा १ सम्मको पढाई सञ्चालन भइरहेको छ। डटका अनुसार निजी अवधारणामा सञ्चालन भएपनि विपन्न समुदायका बालबालिकालाई सरकारी सुविधा सरह पठन पाठन गरिन्छ।

गाउँमा अन्य स्कुल नहुँदा गुरुङ, तामाङ, राई लगायत विपन्न समुदायका बालबालिका शिक्षाबाट बञ्चित हुने गरेकाले ‘नगरहोप स्कुल’ स्थापनाको परिकल्पना गरिएको उनले बताए। आयरल्याण्डस्थित नगर होप नामक गैरसरकारी संस्थाको अध्यक्ष समेत रहेका डकले नेपालमा स्कुल लगायत विभिन्न सामाजिक कामका लागी ‘नगरहोप नेपाल’सँग सहकार्य गर्दै १० वर्ष समय बिताईसकेका छन्।

नेपाली भाषा प्रष्ट रुपमा बुझ्न र बोल्न सक्ने आयरल्याण्डी नागरिक डकले सामाजिक काममा रहँदा नेपाली चेलीसँग बैबाहिक सम्बन्ध गाँसेर विशेषगरी नेपालका स्कुलमा लगानी गरिरहेका छन्। ‘मैले नेपालको छोरीसँग बिबाह गरिसकेपछि नेपालप्रतिको माया झन् बढ्यो, त्यसपछि यतै सामाजिक काम गर्ने उत्प्रेरणा मिल्यो,’ उनले भने। बिराटनगरबाट प्रेमविवाह गरेका डकका दुई सन्तान छन् । उनकी पत्नी पनि सामाजिक काममै संलग्न छिन्।

स्कुल निर्माणका लागी नेपालमा साईकल यात्रा गरेर उनले अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित गराउन कोसिस गरेका छन्। साईकल यात्रामार्फत स्कुलका लागी करिव ७० लाख रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य उनीहरुले राखेका छन्। अहिलेसम्म करिव २० लाख रुपैयाँ खातामा जम्मा भइसकेको डटले बताए। आफूहरुको अभियानबारे प्रभावित भएर अनलाईन तथा सामाजिक सञ्जालमार्फत सहयोग संकलन भएको उनले प्रष्ट्याए। ‘हामीले साईकल यात्राका क्रममा बीच बाटोमा पर्ने स्कुलमा शिक्षक र बिद्यार्थीसँग भेटघाट पनि गरिरहेका छौं, हाम्रो अभियानबाट उहाँहरु निकै प्रभावित हुनु भएको छ,’ डकले भने। साइकल यात्राको अन्तिम दिन कञ्चनपुरमा केही दुरीसम्म बिद्यार्थीसँगै साईकल यात्रा गर्ने कार्यक्रम रहेको उनीहरुले बताएका छन्। अर्का विदेशी नागरिक लेनिले साइकल यात्राका क्रममा नेपालका स्कुल, भौगोलिकता, वातावरणबाट प्रभावित भएको बताए।
 
स्कुल जस्तो पवित्र संस्थाका लागी सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाई छ। आयरल्याण्डी नागरिक डक र लेनिले जीवनमै पहिलो पटक साईकल चलाएको बताएका छन्। साइकल यात्रा गर्ने योजना बनेपछि दुबैले करिव ३ महिना साईकल चलाउने प्रशिक्षण लिएका थिए। दुई विदेशीले साईकल यात्रामार्फत समाजसेवाको अभियान थाल्ने सोच बनाएपछि पाँचथर फिदिम–१ निवासी अर्जुन ठटाल र उदयपुरका अर्जुन रिखाम मगरले साथ दिएका हुन्।

प्रकाशित: ९ माघ २०७४ १४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App