१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रेल बिछ्याउने काम सुरु

काठमाडौं –निर्माणाधिन जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको जयनगर–कुर्था खण्डमा रेलका लिक बिछ्याउन सुरु भएको छ । ३५ किलोमिटर लामो उक्त मार्गमा जयनगरबाट लिक (रेल) बिछ्याउन सुरु गरिएको हो ।

रेलका लिक बिछ्याउने काम सुरु भएको रेल विभागका सिरियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले बताए । ‘दुई हप्तादेखि रेलको लागि स्लिपर र रेल बिछ्याउने काम भइरहेको छ,’ प्रवक्ता समेत रहेका उपाध्यायले भने, ‘जयनगरदेखि कुर्तासम्मको ३५ किलोमिटर रेलमार्ग अन्तिम चरणमा पुगेको छ ।’
भारतको पूर्ण सहयोगमा निर्माणाधीन उक्त मार्गका लागि मंसिरको पहिलो हप्तादेखि रेलका लिक आउन थालेका थिए । विभागका अनुसार ३५ किलोमिटर उक्त मार्गका लागि झन्डै ४१ हजार टन रेल आवश्यक पर्छ ।

जयनगरदेखि सुरु भएर जनकपुर हुँदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटरमध्ये हालको लागि धनुषा, कुर्थासम्म ३५ किलोमिटरको रेल मार्गमा लिक बिछ्याउन लागिएको हो । रेलका लिक बिछ्याउनुभन्दा पहिला काठ बिछ्याउने गरिएकोमा काठको अभावमा ‘सिमेन्ट स्लिपर’ बिछ्याउन लागिएको हो । यो मार्गलाई आगामी कात्तिक महिनाभित्र सक्ने विभागले जनाएको छ ।

रेल बिछ्याउन सुरु भइसके पनि रेलको इन्जिन र डिब्बा किन्ने प्रक्रिया भने अन्योलमा छ । उक्त मार्गमा सञ्चालन हुने रेलको इन्जिन तथा यात्रु र मालबाहक डिब्बा किन्न झन्डै दुई अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । तालुक मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट यस विषयमा कुनै निर्णय हुन सकेको छैन । विभागले उक्त मार्गमा रेल चलाउन रेलको माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिसकेको छ ।

निर्माण सम्पन्न हुनै लागेको उक्त लिकमा रेल सञ्चालन गर्ने विषयमा विभागले गरेको अध्ययन अनुसार उक्त मार्गमा सुरुमा कम्तीमा सात हजार यात्रु दैनिक आवतजावत गर्ने अनुमान छ । त्यसैगरी, प्रशस्त मात्रामा सामान ओसारपसार हुने देखिएको छ । विभागले यात्रु बोक्ने कम्तीमा पाँचवटा इन्जिन (लोकोमोटिभ) पर्ने विभागको प्रस्ताव छ ।मुलुकमा रेल सञ्चालनको अनुभव नभएको भन्दै आउटसोर्सिङ गर्ने कि आफैं किन्ने भन्ने विषयमा पनि चर्चा भइरहेको छ । अनुभव, प्रविधि र दक्ष जनशक्ति अभाव हुँदा रेल भाडामा लिन सकिने विषयमा समेत छलफल भइहेको छ ।

भारत, आसामको नायक इन्फ्रास्ट्रक्चरको आर्थिक तथा प्राविधिक सहयोगमा बनिरहेको यो प्रोजेक्ट १० अर्ब रुपैयाँको हो । यो ब्रोडगेज रेलमार्ग हो ।   झन्डै ७० किलोमिटरमध्ये जनकपुर–बिजुलपुरासम्मको मार्गमा जमिन मिलाउने  काम भइरहेको विभागले जनाएको छ । यो मार्ग निर्माणको लागि कालिका रमण जेभीले ठेक्का पाएको छ । बिजुलपुरादेखि बर्दिबासम्मको भने जग्गा अधिग्रहण हुनै सकेको छैन ।

यो बाहेक बिहारको जोगबनीदेखि विराटनगरसम्मको १८.६ किलोमिटर रेलमार्ग पनि निर्माणाधीन छ । यो मार्गको केही भागमा जग्गा मुआब्जामा समस्या उत्पन्न भएको छ । मुआब्जा कम भएको भन्दै स्थानीयले बुझ्न मानेका छैनन् ।यी दुई मार्गको ८८ किलोमिटरको काम भइरहेको छ । त्यसबाहेक मुलुकमा विभिन्न रेलमार्ग बनाउने भनेर चर्चा भए पनि विस्तृत परियोजना प्रतिवेदन बाहेक अन्य काम सुरु हुन सकेको छैन । पूर्व–पश्चिम रेलमार्ग, सात सहरलाई भारतसँग जोड्ने मार्ग, काठमाडौंमा मोनोरेल, चीनबाट रसुवागढी हुँदै आउने रेल लगायत मार्गको चर्चा भइरहेको छ ।

प्रकाशित: ९ माघ २०७४ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App