१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

शंकर पोखरेललाई मुख्यमन्त्रीको बाटो खुल्यो

बुटवल- एमाले प्रदेश सभा संसदीय दलको बैठकले दाङ—२ प्रदेश—१ का सांसद शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरेको छ।

एमाले स्थायी समिति सदस्य पोखरेललाई संसदीय दलको नेता चयन भएपछि पाँच नम्बर  प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। पूर्वसञ्चारमन्त्री रहेका नेता पोखरेल एमालेमा प्रभावशाली नेतामा गनिन्छन् । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीले अनौपचारिक ढंगले प्रस्ताव गरेपछि उनी प्रदेश सांसदमा उम्मेदवार हुन तयार भएका हुन् । यस अघि नै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । दुई नेताबीच भएको सहमति अघि बढाउन एमाले पाँच नम्बर प्रदेश संसदीय दलले सर्वसम्मत दलको नेता चयन गरेर बाटो खोलेको हो ।

सपथपछि एमाले पाँच नम्बरप्रदेशको मुख्यालय बुटवल सुख्खानगरमा बसेको संसदीय दलको बैठकमा पोखरेललाई दलको नेता चुनिएको हो । बैठकको अध्यक्षता जेष्ठ सदस्य गुल्मी—१ प्रदेश २ का कमलराज श्रेष्ठले गरेका थिए।

पोखरेललाई संसदीय दलको नेता चयन गरियोस भन्ने प्रस्ताव सांसद बैजनाथ चौधरीले राखेका थिए। उनको प्रस्तावमाथि सांसद लिला गिरीले समर्थन गरेका थिए । त्यसपछि बैठकमा सहभागी सबै सांसदले ताली बजाएर सर्वसम्मत पोखरेललाई संसदीय दलको नेता चुनेका हुन् । पाँच नम्बर प्रदेशमा कुल ८७ सांसद मध्ये एमालेका ४१ सांसद छन्।

संसदीय दलको नेता चुनिएपछि बोल्दै नेता पोखरेलले सबै मिलेर पाँच नम्बर प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउने बताए । ‘  पाँच वर्षमा कोही युवा रोजगारीका लागि विदेश जानु नपर्ने अवस्थामा ल्याउन मिहिनेत गर्नेछौ—उनले भने —त्यसका लागि रणनीतिक योजनाका साथ काम गर्नेछौं।’

उनले पाँच नम्बर प्रदेशको भौगोलिक, सांस्कृतिक र आर्थिक विशेषताको चर्चा गर्दै वस्तुगत धरातलमा टेकेर समृद्ध प्रदेश बनाउने उद्घोष गरे।

पाँच नम्बर प्रदेशका तीन ठूला महानगर बनाएर बृहत शहरी विकास गर्ने पोखरेललको भनाई छ। उनले बुटवल—भैरहवा र लुम्बिनीलाई जोडेर पर्यटकीय महानगर, नेपालगञ्जलाई केन्द्र मानेर बर्दियालाई सम्म जोडेर औद्योगिक महानगर र प्रदेशकै ठूलो उपत्यकालाई योजनाबद्ध विकासको थालनी गरी समृद्ध महानगर बनाउन सकिने बताए। ‘त्यसैगरी पहाडी जिल्लालाई हिल स्टेशनको रुपमा विकास गरिनेछ —उनले भने। भेरी बबई डाइर्भसन आयोजना, नौमुरे जलाशययुक्त आयोजना,  तिनाउ कालीगण्डकी डाइभर्सन आयोजना अघि बढाएर यो प्रदेशमा कृषिमा आधुनिकरण गर्ने  उनको भनाई छ । ‘यी मध्ये कतिपय अघि बढेका छन्, कतिपय अघि बढ्ने तयारीमा छन्—उनले भने ।

एमाले पाँच नम्बर प्रदेशका पार्टी प्रमुख एंव उपमहासचिव विष्णु पौडेलले संसदीय दलको नेता चयन भएकोमा पोखरेललाई बधाई दिए । ‘उहाँ अब यो प्रदेशको मुख्यमन्त्री हो, प्रदेशले योग्य र कुशल नेता पाएको छ—उनले भने । पार्टीले संसदीय दललाई सहज ढंगले काम  गर्न दिने र सहयोग गर्ने उनले बताए।  सपथ र संसदीय दलको नेता चयन भएपछि सरकार गठनको बाटो खुलेको र अब छिट्टै सरकार गठन हुने उनले बताए।

संसदीय दलको नेता चयन भएपछि पोखरेलले सांसद भुमिश्वर ढकाललाई सचेतकमा नियुक्त गरेका छन्।

प्रकाशित: ७ माघ २०७४ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App