१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

हामीले माओवाद छोडेका छैनौँ, एमालेले जबज छाडेको छैनः दाहाल

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ं र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अनुमोदन गरेकाले पछाडि फर्केर जाने अवस्था कोही कसैलाई नभएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार पार्टी निकट जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली जनताले पार्टी एकतालाई स्वीकार गरिसकेका छन्। अनुमोदन गरिसकेका छन्।’

पार्टीभित्रका केही व्यक्तिले एकताको विरोध गरिरहेको भएपनि त्यसको कुनै औचित्य नभएको र त्यसले कुनै पनि प्रभाव नपार्ने उनको भनाइ थियो।

‘एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका छन्’, अध्यक्ष दाहालले भने, ‘जनता खुशी हुँदा उहाँहरु किन निराश हुनुभयो ? नेपालमा राजनीतिक स्थिरता, समृद्धि र समाजवाद आउँदा उहाँहरुलाई के घाटा हुन्छ ? मैले बुझ्न सकेको छैन। आफूलाई लागेका विषय खुल्ला फोरममा छलफल गर्न छोडेर एकता र बहसबाट भाग्नेचाहिँ क्रान्तिकारी हुन सक्दैन।’

नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक अर्काका पूरकको भूमिकामा रहँदै आएको अध्यक्ष ‘प्रचण्ड’ले उल्लेख गरे।

विसं २०१९ पछि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन आएको स्मरण गर्दै उनले अलगअलग समूहका रुपमा कम्युनिष्ट पार्टी अस्तित्वमा रहनुसमेत दुःखद् रहेको बताए।

नेपालका कम्युनिष्टलाई सधैँ शत्रुको व्यवहार गरिँदै आएको भन्दै उनले एमालेलाई आक्रमण गर्ने शक्तिले नै माओवादी केन्द्रलाई समेत आक्रमण गरेको उल्लेख गरे।

विसं २०५७ को राष्ट्रिय सम्मेलनपछि प्रतिक्रियावादीको निशाना माओवादी बनेको भन्दै उनले त्यही शक्तिले एमालेलाई मित्र र हामीलाई दुश्मन देख्न थालेको स्पष्ट पारे। नेपालको राजनीतिक इतिहासमा नियतमा नभए पनि वस्तुगतरुपमा एमालेले माओवादी र माओवादीले एमालेको रक्षा गर्न वस्तुगत भूमिका खेलेको भन्दै दुवै पार्टीको महत्व विशिष्ट रहेको अध्यक्ष ‘प्रचण्ड’ले बताए।

विश्वभरि कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला नेपालमा फैलँदै गएको भन्दै उनले एमाले र माओवादी अलग अलग पार्टी हुनुपर्ने कारण नै नरहेको बताए।

शान्तिपूर्णरुपमै समाजवादको तयारी गर्ने भएकाले समान राजनीतिक कार्यदिशा भएपछि अलग अलग पार्टीको अस्तित्वमा रहिरहनु आवश्यक नभएको उनको कथन छ।

अध्यक्ष दाहालले भने, ‘हामीले माओवाद छोडेका छैनौँ, एमालेले पनि जनताको बहुदलीय जनवाद छाडेको छैन । नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरु पनि सहमत हुनुहुन्छ, हामी पनि बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएका छौँ त्यसकारण समान राजनीतिक विचारधाराको हैसियतमा छौँ।’

नयाँ कम्युनिष्ट पार्टीको वैचारिक कार्यदिशाको संश्लेषण कसरी गर्ने ? भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको भन्दै उनले जनयुद्धको भूमिका र इतिहासमा यसको योगदानबारे एमाले र आफूहरुबीच कुनै विवाद नभएको बताए।

उनले एकले अर्काको पूर्ण सम्मान गरेर र अहिलेको परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर अगाडि बढ्ने भएकाले कुनै शंका नरहेको स्पष्ट पारे। रासस

प्रकाशित: ६ माघ २०७४ १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App