१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीमा दाहाललाई भोट दिएको मधेसी मोर्चा प्रतिपक्षमा

काठमाडौं–प्रधानमन्त्री निर्वाचनमा भाग दिएर पुष्पकमल दाहालको पक्षमा मतदान गरेको मधेसी मोर्चा व्यवस्थापिका संसदमा प्रतिपक्षमा बस्दै आएको छ। प्रधानमन्त्रीमा दाहाललाई मतदान  गर्नुअघि कांग्रेस-माअाेवादीसँग  तीन बुँदे सहमति गरेको मोर्चाले सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता नगराएसम्म प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। यसअघि पनि मोर्चा प्रतिपक्षको पंक्तिमा बस्दै आएको थियो।

‘प्रधानमन्त्रीमा प्रचण्ड (दाहाल) लाई सघाएपनि अहिले हामी सरकारमा सहभागी भएका छैनौं,’ राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने,‘सरकारलाई बाहिरै बसेर समर्थन गरेको हुनाले मधेसी मोर्चा संसदमा प्रतिपक्ष कै पंक्तिमा बस्ने निर्णय भएको छ।’ संघीय गठबन्धनको बुधबार बसेको बैठकमा यस विषयमा लामै छलफल भएको थियो। सरकारलाई समर्थन गरेका दल सत्तापक्षको पंक्तिमा बस्नुपर्ने विषयमा पनि नेताहरुले आफ्नो धारणा राखेका थिए। तर, अहिले नै मधेसी मोर्चा सरकारमा सहभागी नभएका कारण प्रतिपक्षको पंक्तिमा बस्ने निर्णय भएको थियो।

संविधान बहिष्कार गरेर आन्दोलनमा होमिएको मधेसी मोर्चाले यसअघि पनि सुशील कोइराला प्रधानमन्त्रीको उम्मेद्वार बन्दा कोइरालाको पक्षमा मतदान गरेको थियो। तर प्रधानमन्त्रीमा कोइराला पराजित भएपछि कांग्रेससँगै  मधेसी मोर्चापनि प्रतिपक्षमा बस्दै आएको थियो। ‘नेपालमा मात्र होइन भारतमा पनि मनमोहन सिंह नेतृत्वको सरकारलाई समर्थन गरेका भारतीय बामपन्थी दल प्रतिपक्षमै बसेका उदाहारण छन्,’ तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भने,‘संघीय गठबन्धनका माग पूरा हुन्छ भनेर मात्र प्रधानमन्त्री निर्वाचनमा मतदान गरेका हौं। सरकारमा सहाभागी हुनलाई होइन।’ उनले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने र सरकारमा सहभागी नभएसम्म प्रतिपक्षमै बस्ने जिकिर गरे। 

प्रकाशित: २७ श्रावण २०७३ १०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App