१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

१२ छोराछोरीका ‘कर्मपिता’

तस्बिर : भीम

५४ वर्षे राजेन्द्र चौहानका सन्तान छैनन्, तर उनलाई १२ छोराछोरीले आफ्नालेझैँ मायामा बाँधेका छन् । बिहानै ‘छोराछोरीको घर’ पुग्दा ‘बुबा नमस्कार’ भन्ने सन्तानको लर्काे लाग्छ । सबै बालबच्चा वरिपरि झुम्मिन्छन्, उनलाई सुम्सुम्याउँछन् । काखमा बस्छन् । म्वाइँ खान्छन् । 

बुबा आएको देखेर परैबाट चिच्याउने बालबालिकालाई उनी मुसुमुसु हास्दै सबैलाई सन्चो–बिसन्चो सोध्छन् । सरले स्कुलमा दिएको गृहकार्य गरे÷गरेनन् सबैलाई सोध्छन् । सक्नेले उनलाई चिया पकाएर खुवाउँछु भन्छन् । सरसफाइ गर्न, सक्नेलाई खाना बनाउन, फूलबारी गोड्न पनि उनैले सिकाउँछन् । ‘जब म छोराछोरीका घरमा आउँछु, अत्यन्तै आनन्द लाग्छ,’ उनी ढुक्कसाथ सुनाउँछन्, ‘आफूले चिताएको काम गरेर कोही सन्तुष्ट छ भने त्यो म नै हो जस्तो लाग्छ।’ 

बुबा आएको देखेर परैबाट चिच्याउने बालबालिकालाई उनी मुसुमुसु हास्दै सबैलाई सन्चो–बिसन्चो सोध्छन् । सरले स्कुलमा दिएको गृहकार्य गरे÷गरेनन् सबैलाई सोध्छन् । सक्नेले उनलाई चिया पकाएर खुवाउँछु भन्छन् । सरसफाइ गर्न, सक्नेलाई खाना बनाउन, फूलबारी गोड्न पनि उनैले सिकाउँछन् । 

इलाम नगरपालिका–९, गोलाखर्कका राजेन्द्र चौहानको दिनचर्या (जीवनशैली) सामान्यको भन्दा अलि फरक छ । बिहान उठेर घरको काम गरेपछि उनी आफ्नै अगुवाईमा खुलेको राहसल बाल अनाथालय पुग्छन् । घरबाट करिब १० मिनेट पैदल दूरीमा रहेको अनाथालयमा बस्छन्, उनका १२ सन्तान । ती सन्तानमध्ये कसैको नाम राजेन्द्र आफैंले जुराइदिए, कसैको थर जुराए अनि कसैको घर–ठेगाना। 

‘सडकमा ३ महिनाको नानी भेटेर अनाथालय ल्याउँदा उसको घर–नामथर थाहा भएन,’ उनले सुनाए, ‘अनि, आफैंले नामथर नजुराए के भनेर बोलाउनु उसलाई ?’ 

इलाम नगरपालिकाको गोलाखर्क भञ्ज्याङनजिकै उनले बाल अनाथालय खोलेर बेसहारा, अनाथ बालबालिकाको हेरचाह गरिरहेका छन् । ८ रोपनी जग्गा आफैंले दान दिएर उनले २०६६ सालमा अनाथालय खोले । २०६८ सालदेखि अनाथालयमा बसेका बालबालिका अहिले ठूला भइसकेका छन्। 

‘सडक, बजार, गल्ली, जंगलमा भेटिने अनाथ बालबालिकालाई यहाँ पालेर राखिएको छ,’ उनले भने, ‘घर–परिवार कोही पनि नभएको बालबालिका यहाँ ज्यादै खुसीले बसेको देख्दाजस्तो आनन्द मलाई संसारमा अरू छैन ।’ 

राजेन्द्र सामान्य कृषि–कर्म गर्ने किसान हुन्, तर उनलाई २०६५ सालमा यस्तो सोच आयो, उनले मेची अञ्चलमा कसैले नगरेको सामाजिक काम गर्ने इच्छा गरे । 

‘मेरा सन्तान नभएर मात्र होइन, कुनै न कुनै उदाहरणीय सामाजिक काम गर्ने धोको रहेकाले यो काम थालेको हुँ,’ उनले सुनाए, ‘अहिले त धन्न यो काम थालिएछ, नभए यी हसिला भोलिका कर्णधार बालबालिकाको अवस्था के हुन्थ्यो, यिनीहरू कहाँ पुग्थे होलाजस्तो लाग्छ ।’ 

अनाथालयमा ३ देखि १६ वर्षसम्मका ६ बालक र ६ बालिका बस्छन् । कतिपयलाई ज्यादै अप्ठ्यारो परिस्थितिमा भेटेरसमेत ल्याएकाले अनाथालयले आफैं नाम, थर जुराइदिनुपरेको उनी बताउँछन् । 

अहिले यहाँ इलामका ३ वर्षे निरोज पराजुली, ५ वर्षीया सोनिया बिक, झापाकी ५ वर्षीया अस्मिता चौहान, ताप्लेजुङका ७ वर्षे फिलिप र ८ वर्षीया एरी थेबे, इलामका १४ वर्षे अर्जुन र ७ वर्षकी अरुणा राई, पाँचथरका १६ वर्षे राजु परियार, पाँचथरकै १४ वर्षीया ललिता बेलकुटी, झापाकी १४ वर्षीया सीमा केसी, झापाकै १० वर्ष मनोज धज्जी र इलामका १० वर्षे भीम थापामगर बस्छन् । अनाथालयका लागि राजेन्द्रले आफूले दिएको जमिनमा एकतले पक्की घर पनि बनाइदिएका छन् । 

‘मैले अनाथालय बनाउन थालेपछि अन्य छिमेकी र समाजसेवीले पनि सघाउनुभयो,’ उनले भने, ‘सबैको सहयोगमा बालबालिकाका लागि यो घर बनेको हो ।’ 

बालबालिकामध्ये ७ जना नजिकैको सुनाखरी बोर्डिङमा पढ्छन् । बाँकी सरकारी स्कुलमा । निजी स्कुलले पनि बालबालिकालाई मासिक शुल्क मिनाहा गरिदिएको छ । किताब–कापी, झोला र पोसाक अनाथालयले व्यवस्था गरिदिएको छ । 

अस्मितालाई ३ महिनाकी हुँदा अनाथ अवस्थामा भेटेर ल्याएकाले उनको नामथर थाहा भएन । राजेन्द्रले नै उनको नाम र थर जुराए, अस्मिता चौहान । ‘केही थाहा नभएपछि उनलाई आफ्नै सन्तानसरह नामथर जुराइदिएँँ,’ उनले भने, ‘यहाँ धेरै निसन्तान दम्पती बालबच्चा पाल्ने भन्दै लिन आउँछन्, तर दिने गरेको छैन,’ उनले भने, ‘आफ्नै सन्तानलाई त अंशसमेत दिनेगरी लैजान सक्नुप¥यो नि ।’ अनाथ बालबालिका भेटिनेबित्तिकै टपक्क टिपेर भने नल्याउने गरेको उनले जनाए । 

‘जुन स्थानमा त्यस्ता बालबालिका भेटिन्छ, सम्बन्धित ठाउँको वडा कार्यालय, प्रहरी वा अन्य कुनै आधकिारिक निकायको सिफारिसमा मात्र यहाँ ल्याउने गरेका छौं,’ उनले भने ।

बालबालिकाको हेरचाह गर्न राजेन्द्र पटक–पटक त्यहाँ पुग्छन् । बिहान उठ्नेबित्तिकै होस् या मेलापात जाने र आउने बेला, उनी बालबालिकासँग नभेटी सक्दैनन् । 

‘दिनमा कहिलेकाहीँ त ८–१० चोटी पनि नआई चित्त बुझ्दैन,’ उनी भन्छन्, ‘उनीहरूसँग सोधीखोजी गर्न खुब रमाइलो लाग्छ ।’ 

बालबालिकाको हेरचाहका लागि पाँचथरका राजु ओलीले सघाएका छन् । राजुले पनि अनाथालय स्थापनादेखि ३ वर्षभन्दा बढी कुनै शुल्क नलिई बालबालिकाको हेरचाह गरे । अहिले पनि ज्यादै कम ज्यालामा उनले बालबालिकाको हेरचाह गरिरहेको राजेन्द्रले सुनाए । 

अनाथालयका लागि मासिक १५ हजार रूपैयाँजति खर्च हुन्छ । यो खर्च सुरुमा राजेन्द्र आफैंले जुटाउँथे । अलि वर्षपछि दाता र समाजसेवीले सघाए । छिमेकीहरूले मुठीदान गरेर महिनामा करिब ३५ किलो चामल संकलन गरिदिएका छन् । ‘यहाँ अनाथालय छ भन्ने थाहा पाएपछि टाढादेखिका मानिस आफ्नो जन्मदिन र विभिन्न उत्सवमा आएर पैसा, अन्न, लुगाफाटोलगायत दिएर जान्छन्,’ उनले भने, ‘अहिलेसम्म यस्तै आम्दानीले यो चलिरहेको छ ।’ 

अनाथालयमा १२ बालबालिकाले ‘जीवन पाएको’जस्तो लाग्छ उनलाई । सकारात्मक सोच भए धेरै काम गर्न सकिनेमा उनी ढुक्क छन् । ‘अनाथालयलाई सहयोग र धार्मिक काम पनि गर्न पुराण आयोजना गर्ने तयारी हुँदैछ,’ उनले सुनाए, ‘रकम नै आम्दानी भएनछ भने पनि पुराण चाहिँ लगाउने सोचेका छौं ।’ उनले आफू बाँचुञ्जेल अनाथालयलाई आफ्नै सम्पत्ति सोचेर सहयोग गर्ने बताए। 

‘मैले जीवनमा अरू सपना बुनेको छैन, जो अनाथ, पीडित, असहाय बालबालिका छन्, उनीहरूलाई नयाँ जीवन दिएर भविष्य उज्ज्वल बनाउन पाए मेरो सन्तुष्टि त्यसैमा हुनेछ,’ उनले भने, ‘बालबालिकालाई बचाउन र असल बाटोमा हिँडाउन सकियो भने देश उनीहरूले बनाउँछन्, सकारात्मक भावले काम गरौं, सफल हुन सकिन्छ भन्ने लाग्छ।’ 

राहसल बाल अनाथालयका बालबालिकासँग समाजसेवी राजेन्द्र चौहान (अघिल्तिर रातो ह्याट लगाएका)।

प्रकाशित: ६ माघ २०७४ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App