१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक मुख्य अजेन्डामै निस्केन निष्कर्ष

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समिति बैठकल राष्ट्रियसभा निर्वाचनमा पार्टीले अघि सार्ने उम्मेदवारको मापदण्ड तय नगरी सकिएको छ । राष्ट्रियसभा निर्वाचनलाई मुख्य अजेन्डा बनाएर प्रधानमन्त्री निवास बालुवाटारमा दुई दिनसम्म छलफल गरे पनि बैठकले उम्मेदवार छनोटको कुनै आधार तय गर्न सकेन ।

पार्टी नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर केन्द्रीय सदस्यले बैठकबाटै उम्मेदवार छनोटको मापदण्ड बनाउनुपर्ने अडान राखे पनि सभापति शेरबहादुर देउवाले बेवास्ता बेवास्ता गरेपछि बैठक औपचारिकतामा सीमित बन्यो । राष्ट्रियसभा निर्वाचनबारे कुनै निर्णय नै नगरी बैठक समापन गर्न सभापति देउवा लागेपछि पौडेल र सिटौला पक्षधर केन्द्रीय सदस्यले आक्रोश व्यक्त गरेका थिए । त्यसपछि देउवा केन्द्रीय सदस्य सुझावलाई समेटेर उम्मेदवार छनोट गर्ने जनाउँदै बैठकबाट बाहिरिएपछि सदस्यहरु नेता पौडेलमाथि खनिन पुगेका थिए ।

बैठकपछि कांग्रेस केन्द्रीय कार्यालयले राष्ट्रियसभा निर्वाचनको तयारीमा जुट्ने जनाउँदै सदस्यहरुको रायका आधारमा उम्मेदवार छनोट गर्ने जनाएको छ । ‘यही माघ २४ गतेका लागि निर्धारित राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी, मनोनयन दर्ता यही माघ १० गते हुन लागेको सन्दर्भमा हामीले तत्कालै उम्मेदवार चयन र चुनाव तयारीमा केन्द्रित हुनुपर्नेछ,’ पार्टी सचिव प्रदीप पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः साथीहरुबाट यसमा केन्द्रित रहेर प्राप्त हुने महत्वपूर्ण रायसुझावअनुरुप हामी अघि बढने छौं । तत्काल केही दिनमै केन्द्रीय कार्यसमितिको बैठक बोलाई पुनः लामो छलफल र बहस गरिनेछ।’

पार्टी नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण आफ्नै नेतृत्वमा पुरा भएको जनाउँदै बैठकले संविधान निर्माणपछि तराई–मधेसमा उत्पन्न समस्या समाधान गरी निर्वाचन प्रक्रियामा सबै पक्षलाई सहभागी गराउन सक्नु कांग्रेस नेतृत्वको सरकार र सिंगो कांग्रेस पार्टीको सफलता भएको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनमा पार्टीले आशातीत सफलता प्राप्त गर्न नसकेको स्वीकार गर्दै विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो परिणामका पछिल्तिर हाम्रा अन्य जेजे कारण होलान्, ती सबैका सन्दर्भमा समय लिएरै व्यापक रुपले गम्भीर समीक्षा÷छलफल एवं अन्तरक्रिया गर्न जरुरी छ ।’

सभापति देउवाले राज्यको नयाँ संरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्तसञ्चार हुनेगरी पार्टीको आगामी रणनीति तय गर्न महासमितिले नीतिगत र वैधानिक दिशा निर्देश गर्ने जनाउँदै भनेका छन् ,‘मुलुकको संविधानअनुरुपको पार्टी संरचनामा अत्यावश्यक हेरफेर गर्न पार्टीको विधान संशोधन गर्नु छ ।’

निर्वाचन समिक्षका लागि छिट्टै अर्को बैठक राख्ने जनाउँदै कांग्रेसले एक महिनाभित्रै सबै तहलाई लिखित प्रतिवेदन पठाउन पनि निर्देशन दिएको छ । निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने र पार्टीलाई मतदान गर्ने सबैलाई कांग्रेसले धन्यवाद दिएको छ ।

कसैले भन्दैमा छाड्दिनँ - देउवा
पार्टी सभापति शेरबहादुर देउवाले कसैले पद छाड् भनेर दबाब दिंदैमा नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् । केन्द्रीय समिति बैठकमा देउवाले जबर्जस्ती पद छाड् भन्ने अधिकार कसैलाई नभएको स्पष्ट पारेका थिए । विगतमा पार्टीले गरेको निर्णयको असर निर्वाचनमा परेको भन्ने गुनासोको प्रतिवाद गर्दै उनले नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल कस्ता हुन् भन्ने आफूलाई पहिला नै जानकारी भएको सुनाएका थिए।
बैठकमा नेता रामचन्द्र पौडेलले पनि बाँचुन्जेल राजनीति गर्ने बताएका थिए । बिपी कोइरालादेखिका पार्टी नेताले उठाउँदै आएका विषयलाई आफ्नो पुस्ताले व्यवस्थापन गरेको उनको भनाइ थियो ।

बैठकमा केन्द्रीय सदस्य गगन थापाले पहिलो पुस्तालाई विश्राम लिन आग्रह गरेका थिए । पार्टी र मुलुकलाई सभापति देउवा, पौडेलसहितका नेताले ठूलो योगदान गरेको तर अब पनि नेतृत्वमा राख्नु  उनीहरुमाथिकै अन्याय भएको तर्क उनको थियो । पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति देउवा पार्टी विधान र विधिविपरीत जताभावी हिँडेको आरोप लगाए ।

केन्द्रीय सदस्य शेखर कोइरालाले काठमाडौंमा बसेर चुनाव हारेको छैन भन्नुको कुनै तुक नभएको जिकिर गर्दै पराजयको कारण खोज्नुपर्ने बताए । उनले आगामी फागुनमा महासमिति बैठक बोलाउन प्रस्ताव गर्दै संसदीय समितिमा नबस्ने घोषणा गरे । कांग्रेस नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठबन्धनको औचित्य नरहेको बताउँदै कोइरालाले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई कांग्रेसले सहयोग गरे पनि कांग्रेसले उनीहरुबाट सहयोग नपाएको धारणा राखेका थिए ।

प्रकाशित: ६ माघ २०७४ ००:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App