१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जिल्लामै जलविद्युत आयोजना भए पनि ३३ हजार परिवार अँध्यारोमै

बैतडी- बैतडीका ३३ हजार घरधुरी अँध्यारोमा बस्न बाध्य छन्। स्थानीय उत्पादित बिजुली, भारतबाट आएको बिजुली, अपी हाइड्रोपावर, चमेलिया जलविद्युत् र राष्ट्रिय प्रसारणलाइन पुग्दा पनि गाउँमा विद्युत् लाइन विस्तार नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन्। २०४२ सालमा भारतबाट ११ केभी प्रसारण लाइनबाट बैतडी सदरमुकाममा बिजुली पुगेको थियो। त्यसपछि २०४७ सालमा बैतडीको पाटनमा सुर्नयागाड साना जलविद्युबाट दुई सय किलोवाट विद्युत् उत्पादन भयो। २०५६ सालमा ३३ केभी राष्ट्रिय प्रसारणलाइन जोडिए पनि ३३ हजार घरधुरी बिजुलीविहीन छन्।

हाल ८ मेघावाटको अपी हाइड्रोपावर र ३० मेघावाटको चमेलिया जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भए  पनि जिल्लाका करिब १२ हजार घरपरिवार मात्र विद्युतको पहुँचमा छन्। जिल्ला सदरमुकामसम्म राष्ट्रिय प्रसारणलाइन तथा भारतबाट समेत आयात गरिएको बिजुली र पछिल्लो समय चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएर बत्ती बले पनि ग्रामीण बस्तीसम्म विद्युत् पुगेको छैन। चार नगरपालिका ६ गाउँपालिका रहेको बैतडीमा नगरपालिकामा समेत बिजुली पुग्न नसक्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन्। पुर्चौडी, मेलौली नगरपालिकमा राष्ट्रिय प्रशारणलाइन पुग्न सकेको छैन भने, पाटन र सदरमुकाम रहेको दशरथचन्द नगरपालिकाका केही वडाका बासिन्दा उज्यालोको लागि अझै टुकी र झरोको भर पर्न बाध्य छन्।

जिल्लाका केही ठाउँमा पोल गाडिएको वर्षौंबित्दा समेत  बिजुली बल्न नसकेको पाटनका स्थानीय चक्रबहादुर चन्दले बताए। जिल्लामा बर्सेनि थोरै बजेट आउने भएकाले सीमित ठाउँमा मात्र विद्युत विस्तार गरिदै आएको विद्युत् वितरण केन्द्र बैतडीले जनाएको छ। वितरण केन्द्रका प्राविधिक महानन्द जोशीले पाँच अर्ब रुपियाँ बजेट भए बैतडीका बाँकी ३३ हजार घरधुरीमा तीन वर्षभित्र बिजुली पुर्‍याउन सकिने बताए।

विद्युत् नहुँदा अधिकांश गाउँपालिकाको काम पनि प्रभावित हुने गरेको छ। ग्रामीण क्षेत्रका स्थानीय खोलाबाट उत्पादन गरिएको लघुजलविद्युत् योजना मर्मत सम्भार र आर्थिक अभावमा धमाधम बन्द भएपछि बिजुलीको प्रयोग गर्दै आएका स्थानीय सोलार, मट्टीतेल बाल्दै आएका छन्। लघुजल विद्युत आयोजना बन्द भएसँगै ग्रामीण क्षेत्रमा बिजुलीबाट चल्ने साना उद्योग, आटामिल, काष्ठ उद्योगसमेत बन्द भएको पुर्चौडी नगरपालिका–७, कोटिलाका गणेशदत्त जोशीले बताए । जिल्लाको च्वागड, पुर्चौडी,तल्लोस्वराड र डिलाशैनी क्षेत्रका गाउँपालिकामा बिजुली पुग्न सकेको छैन । गाउँपालिकाको समान्य काम गर्न सोलार जडान गरेर कम्प्युटर चलाए पनि बादल लागेको दिन सोलारले काम नगर्दा गाउँपालिकाको काम प्रभावकारी बन्न सकेको छैन।

विद्युत सेवा विस्तार नहुँदा गाउँपालिकमा बैंकिङ सेवासमेत सुरु हुन सकेको छैन। स्थानीय तह निर्वाचनको समयमा सिंहदरवारका अधिकार गाउँमा आएको भन्ने गरिए पनि अहिलेसम्म गाउँमा बिजुलीसमेत बाल्न नपाएको मेलौलीका सुरत पार्कीले बताए।

प्रकाशित: ५ माघ २०७४ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App