१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धनकुटामा शुक्रबार निषेधाज्ञा जारी

धनकुटा –शान्ति सुरक्षाको लागि स्थानीय प्रशासनले शुक्रबार धनकुटामा निषेधाज्ञा लगाएको छ । बिहिबार दिनभरी  कर्फ्यू लगाएको स्थानीय प्रशासनले शुक्रबार बिहान बजारमा माईकिङ गरेर निषेद्यज्ञा लगाएको हो।

 जिल्ला सुरक्षा समितिको बैठक बसेर कर्फ्यू हटाएर शुक्रबार देखि निषेधाज्ञा जारी गरेको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । निषेद्याज्ञ निरन्तर राख्ने वा हटाउने विषयमा राजनीतिक पार्टीका नेताहरुसंग शुक्रबार दिउँसो ११ बजे छलफल राखेको प्रजिअ उप्रेतीले बताए  ।

 प्रशासनले निषेद्याज्ञा पश्चात् स्थानीय बजार हिँडडुल गर्न दिएको छैन । हतियारधारी प्रहरीले सर्वसाधारणलाई घर भित्रै बस्न अनुरोध गरेका  छन् । निषेधाज्ञाको कारण धनकुटाको बजार, यातायात, शिक्षण संस्था बन्द रहेको छ । निषेधाज्ञामा ५ जना सम्मको समुहमा हिँड्न र बजारमा किनमेल गर्न पाउने कानुनी ब्यवस्था छ । तर धनकुटाका प्रहरीले हिँड्डुल गर्न नदिएर ज्यादती गरिरहेको प्रदेश सांसद ईन्द्रमणी पराजुलीले बताए ।

धनकुटा नगरपालिकाको आत्मरा, चिरविरे चौतारो, बिहिबारे हाट र कागते क्षेत्रभित्र कुनै पनि सभा सम्मेलन, जुलुस र बजार खोल्न नपाउने आदेश छ । तर प्रहरीको तल्लो तह सम्म निषेधाज्ञाको विषयमा जानकारी दिएको र बजारमा हिँडडुल गर्न दिनु भन्ने निर्देशन दिएको प्रजिअ उप्रेतीले बताए।
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि जिल्लाबासी  युवाहरुले बजारका चोकमा टायर बालेका छन् । प्रहरी प्रशासनले अझै दमन गरे निषेद्याज्ञ तोडेर आन्दोलनमा उत्रिने तयारी रहेको संर्घष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।

 प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि आक्रोशित भएका धनकुटा जिल्लाबासीले सरकारी कार्यालय, सवारी साधन, बजारमा तोडफोड र आगजानी गर्दै प्रहरीसंग झडप गर्न थालेपछि  स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको थियो ।

 बिहिबार प्रहरी र आन्दोलनकारी बिच भएको झडपमा ९ जना घाईते भएका छन् । त्यस्तै आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजानी र ६ वटा सरकारी कार्यालयमा तोडफोड गरेका थिए। घटना पछि धनकुटामा ठुलो समुहमा सुरक्षाकर्मी परिचालन गरिएको छ । कोशी अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपी हरिप्रसाद पाल सहित दुई सय जना सुरक्षा बल धनकुटा आएका छन् । सशस्त्र प्रहरीले पनि बराह बाहिनी पकलीबाट थप सुरक्षाकर्मी ल्याएको स्थानीय प्रशासनले बताएको छ ।

 

प्रकाशित: ५ माघ २०७४ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App