१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुरक्षा प्रभावकारी बनाउन आयोगको आग्रह

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारले प्रदेशको राजधानी तोकेपछि दाङ  र डोटीमा उत्पन्न आन्दोलन साम्य पार्न सरकारसँग माग गरेका छन्। 

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा खटिने निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश घोषणापछि उत्पन्न आन्दोलनले चुनावी सुरक्षामा प्रभाव पार्ने भन्दै उचित सुरक्षा प्रबन्ध गर्न माग गरेका हुन्। 

‘सरकारले प्रदेशको अस्थायी राजधानी तोकेपछि दाङ, डोटीलगायतका विभिन्न ठाउँमा सुरु भएको आन्दोलनले शान्तिसुरक्षाको अवस्था जटिल बनाएको छ,’ यादवले भने, ‘सरकारले शान्तिसुरक्षाको उचित प्रबन्ध नगरे चुनावलाई समेत प्रभावित पार्न सक्ने भएकाले राम्रो सुरक्षा प्रबन्ध गर्न सरकारलाई आयोग आग्रह गर्दछ ।’ उनले प्रदेश राजधानीलाई लिएर भएको आन्दोलनले राष्ट्रियसभा निर्वाचनका लागि सुरक्षा चुनौती थपिएको बताए। 

सरकारले बुधबार प्रदेशका अस्थायी राजधानी तोकेपछि आफ्नो ठाउँ राजधानीमा नपरेको भन्दै दाङ, डोटीलगायतका विभिन्न ठाउँमा आन्दोलन सुरु भएका छन् । प्रमुख आयुक्त यादवले आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचन सफल बनाउन सबै राजनीतिक दलको सहयोग आवश्यक रहेको बताए। 

उनले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीको मत परिणाम प्रदेश प्रमुखसमक्ष पेस गर्न आयोग तयार रहेको र राष्ट्रियसभाको निर्वाचन सम्पन्न गरेर प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम पनि छिटोभन्दा छिटो राष्ट्रपतिसमक्ष पेस गर्न आयोग आतुर रहेको बताए । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नगरेर आयोगले वर्तमान सरकारको आयु लम्ब्याउन सहयोग गरिरहेको भन्ने आरोप आइरहेका बेला प्रमुख आयुक्त यादवले यस्तो दाबी गरेका हुन्।

प्रदेशसभाका सांसदलाई शुक्रबार प्रमाणपत्र बाँडिने
निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकतर्फ निर्वाचित सांसदलाई शुक्रबार प्रमाणपत्र वितरण गर्ने भएको छ । निर्वाचन सम्पन्न भएको झन्डै डेढ महिनापछि बुधबार प्रदेशसभा समानुपातिकतर्फ निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको आयोगले शुक्रबार प्रमाणपत्र वितरण गर्न लागेको हो। 

आयोगका प्रवक्ता नवराज ढकालले शुक्रबार आयोगमा एक कार्यक्रम आयोजना गरी ७ वटै प्रदेशमा समानुपातिकतर्फ निर्वाचित २ सय २० जना सांसदलाई प्रमाणपत्र तिवरण गरिने बताए । प्रमाणपत्र लिन समानुपातिकतर्फ निर्वाचित सांसदले आफ्नो नागरिकता लिएर आयोग जानुपर्दछ । 

प्रकाशित: ५ माघ २०७४ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App