१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सेनाको गाडी खरिदमा रक्षाको असहमति

काठमाडौं – विशिष्ट पदाधिकारी (भिभिआइपी) को सुरक्षाका लागि सवारीसाधन खरिद गर्न बजेट उपलब्ध गराउन रक्षा मन्त्रालयले असहमति जनाएको छ । नेपाली सेनालेभिभिआइपीको सवारीका क्रममा अगाडि र पछाडि प्रयोग हुने सवारीसाधन किन्न बजेट माग्दा रक्षाले विमति जनाएको हो ।

सेनाले भिभिआइपीको अगुवा–पछुवाका लागि ४ वटा सुभ जिप र ५ वटा पिकअप जिप खरिदका लागि ५ करोड ५० लाख रुपैयाँ माग गरेको थियो । सेनाको मागबमोजिम अर्थसँग छलफल नगरी रक्षाले असहमति जनाएको हो। 

सेनाले एक महिनाअघि गत पुस ६ गते सवारी खरिद गर्न अर्थ मन्त्रालयबाट रकम निकासाका लागि आवश्यक प्रक्रिया अघि बढाउन रक्षामा पत्राचार गरेको थियो । रक्षाले सेनालाई चालू आर्थिक वर्षमा विनियोजन बजेटमध्ये बाँकी बजेट विवरण मागेको छ । सेनाले खर्च विवरण पठाएपछि कति पुग्दैन त्यसपछि मात्र अर्थसँग बजेट निकासाबारे छलफल गरिने भन्दै रक्षाले सेनालाई पत्र पठाएको छ । रक्षाबाट गत पुस १३ गते नेपाली सेनाको नीति तथा योजना निर्देशनालयमा यस व्यहोराको पत्र पठाएको हो ।  तर, पत्र पठाएको एक महिना बित्न लाग्दा पनि सेनाले त्यसको विवरण दिएको छैन । विवरण नआएपछि सेनाको सवारी खरिद गर्ने प्रक्रिया रोकिएको छ।  

सेनाले बर्सेनि बजेटको सिलिङ बनाउँदा आवश्यक पर्ने गाडीका लागि भनेर बजेट नबनाउने तर बीचमा भिभिआइपीको आपत् प¥यो भनेर बजेट माग गर्नु सान्दर्भिक नभएको रक्षा स्रोतले बतायो ।  ‘सवारीको जरुरी परेको हो भने बजेट बनाउँदा नै यसका लागि रकम छुट्याउनुपर्दथ्यो,’ रक्षा मन्त्रालयका एक अधिकारीले भने। 

रक्षा प्रवक्ता ऋषि राजभण्डारीले भने, ‘सेनाले भिभिआइपीको स्कर्टिङ गर्ने केही सवारी चाहियो भनेर पत्र पठाएको थियो । हामीले सेनालाई छुट्याएको बजेटको हिसाब मागेका छौं । कति रकम पुग्दैन त्यसपछि अर्थसँग रकम माग गर्नेछौं । तर सेनाले अहिलेसम्म विवरण पठाएको छैन।’ 

सेनाले पत्रमा कुनकुन भिभिआइपीलाई कति गाडी चाहिएको हो र कुन बजेट शीर्षकबाट रकम दिने हो त्यसको पनि स्पष्ट गरिएको छैन। 

पत्रमा भनिएको छ, ‘भिभिआइपी सुरक्षाका लागि प्रयोग भइरहेका अगुवा र पछुवा सवारीसाधन पुराना भई काम गर्न नसक्ने अवस्थामा पुग्न लागेकाले ४ वटा टाटा स्ट्रोम मोडेलको सुभ जिप र ५ वटा निसान पिक अप जिप खरिदका लागि आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट नै रकम उपलब्ध गराइदिए आभारी हुने थियाैँ।’ सैनिक प्रवक्ता गोकुल भण्डारीले भने यसबारे आफूलाई केही थाहा नभएको बताए। 

आवश्यक पर्ने सवारी कति हुन् त्यसका लागि कुन बजेट शीर्षकबाट रकम निकासा गर्ने हो र आवश्यकता कति हो त्यसको महŒवका आधारमा मात्रै निकासा हुने अर्थ प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए। 

अर्थले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा बजेट निकासा गर्दा अर्बाैँ रकम निकासा गरेको छ । अर्थले निर्वाचन प्रयोजनका लागि सुरक्षाको खर्चसमेत जोडेर अहिलेसम्म २० अर्ब रकम निकासा गरेको प्रवक्ता पोखरेलले जानकारी दिए। 

सेनाले विशिष्ट पदाधिकारी (भिभिआइपी) राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको सुरक्षाका लागि अगुवा–पछुवा सवारीसाधन राख्ने गरेको छ। प्रदेश प्रमुखको हैसियत भने मन्त्रीसरह हुने भएका कारण भिभिआइपी सुरक्षा आवश्यक नपर्ने भएको छ ।

प्रकाशित: ५ माघ २०७४ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App