१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

हेलिकोप्टर उडानमा नयाँ निर्णय

काठमाडौं- मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले वर्षायाममा हेलिकोप्टर उडान गर्दा उड्डयन सुरक्षा मापदण्ड उल्लंघन गरे पाइलटदेखि हेलिकोप्टर कम्पनीसम्मको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने निर्णय गरेको छ। 

प्राधिकरणले मंगलबार गरेको उक्त निर्णय सबै हेलिकोप्टर सेवा प्रदायक कम्पनीमा बुधबार परिपत्र गरिएको छ। नागरिक उड्डयन नियमावली २०५८ अनुसार प्राधिकरणले हेलिकोप्टरका लागि पहिलो पटक यस्तो निर्णय गरेको हो।

'वर्षायाममा हेलिकोप्टर उडान गर्दा उड्डयन सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्छ र नगरेको पाइए पाइलटको मात्र नभई हेलिकोप्टर सञ्चालक कम्पनीको पनि लाइसेन्स रद्द वा खारेज गर्ने निर्णय भएको छ,' प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बुधबार नागरिकसँग भने, 'यसखालको निर्णय नगरेसम्म दुर्घटना दर कम नहुने र उड्डयन क्षेत्र सुरक्षित पनि नहुने भएपछि हामी अगाडि बढेका हौं।'

उनका अनसार उड्डयन सुरक्षा मापदण्ड उल्लंघन गरे चादकदल, उडान नियन्त्रणको जिम्मेवारी पाएका व्यक्ति र हेलिकोप्टर सञ्चालक कम्पनीको वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) रद्द वा खारेज गरिने छ।

गत सोमबार निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी फिसटेल एयरको कलसाइन '९एन–एकेए' हेलिकोप्टर गोरखाबाट काठमाडौं फर्कने क्रममा नुवाकोटमा दुर्घटनाग्रस्त हुँदा क्याप्टेन रञ्जन लिम्बूसहित सातजनाको मृत्यु भएको थियो। घटनाको भोलिपल्ट मंगलबार प्राधिकरणले उक्त निर्देशन जारी गरेको हो।

लामो अवधिदेखि हेलिकोप्टर उडाउँदै आएका एक वरिष्ठ क्याप्टेनले सोमबार क्याप्टेन लिम्बूले मौसम खराब हुँदाहुँदै पनि बादलभित्र हेलिकोप्टर प्रवेश गराएका कारण दुर्घटना हुन पुगेको दाबी गरे। उनी त्यसबेला उडान दबाबमा थिए वा केही हुँदैन, पार गर्न सकिन्छ भन्ने मनस्थितिमा थिए, यसबारे अनुसन्धानबाट पत्ता लाग्ने ती क्याप्टेनले बताए।

'पाइलटले अगाडि हेरेर गरिने (भिजुअल फ्लाइट रुल–भिएफआर) उडानलाई अनिवार्य गरी वर्षायाममा हेेलिकोप्टर दुर्घटना दर कम गर्ने उद्देश्यले नयाँ निर्णय गरेका हौं,' उपमहानिर्देशक पोखरेलले भने, 'यसबाट हेलिकोप्टर उडान थप सुरक्षित हुने विश्वास छ।'

प्राधिकरणको निर्देशनअनुसार हेलिकोपटर कमान्ड गर्ने पाइलट (क्याप्टेन) ले गन्तव्य र बीच बाटोको मौसमबारे पूर्णरूपमा जानकारी लिनुपर्ने छ। खराब मौसमका कारण भिएफआर उडान गर्न सम्भव भएन भने क्याप्ेटनले उडानलाई निरन्तरता दिनु हँदैन। त्यसपछि उपयुक्त ठाउँमा अवतरण गरी मौसम सुधार भएपछिमात्र उडान गर्नुपर्ने छ।

'क्याप्टेनले उडान क्रममा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) को प्रयोगका प्रावधान कडा रूपमा पालना गर्नुपर्ने छ,' पोखरेलले भने, 'पहाडी क्षेत्रको मौसमी अवस्थाबारे क्याप्टेन सधैं सचेत हुनुपर्ने र 'टर्बुलेन्स' बाट हेलिकोप्टर तल–माथि हुने भएका कारण उपयुक्त उचाइमा उडान गर्नुपर्ने छ।'

त्यसैगरी हेलिकोप्टरमा पर्याप्त इन्धन हुनुपर्ने छ भने कुनै पनि किसिमको दबाबमा परेर उडान नगर्न प्राधिकरणले निर्देशन दिएको छ। त्यस्तै उडान सञ्चालन अधिकृतले वर्षायाममा हेलिकोप्टरका प्रत्येक उडान र चालकदलको व्यवहारबारे पूर्णजानकारी राख्नुपर्ने निर्णय पनि प्राधिकरणले गरेको छ।

उडानको जिम्मेवार व्यक्तिले उड्डयन सुरक्षा मापदण्ड कडा रूपमा पालना गरेको छ/छैन भन्ने सुपरीवेक्षण उडान सञ्चालन निर्देशकले गर्नुपर्ने छ। हेलिकोप्टर उडानमा संलग्न हुने सबै व्यक्तिका लागि सञ्चालन निर्देशकले विशेष पूर्वसावधानी मापदण्ड विकास गर्नुपर्ने छ। 'अपरेसन म्यानुअलमा तोकिएका मापदण्डअनुसार उडान सञ्चालन निर्देशकले कडा रूपमा उडान सञ्चालन गर्नुपर्ने छ,' उपमहानिर्देशक पोखरेलले भने।

प्राधिकरणको निर्णयअनुसार 'फ्लाइट डिस्प्याचर' ले प्रत्येक उडान योजनाअनुसार बनाएर क्याप्टेनलाई जानकारी गराउनुपर्ने छ। उडानसम्बद्ध सबै सूचना संकलन गरी प्रस्तावित उडानबारे पनि क्याप्टेनलाई बताउनुपर्ने छ। प्रस्तावित उडान खराब अवस्थाका कारण सुरक्षित नहुने देखिए फ्लाइट डिस्प्याचरले त्यसबारे पनि जानकारी गराउनुपर्ने छ  र यसबारे उडान सञ्चालन निर्देशकलाई पनि तुरुन्त बताउनुपर्ने छ।

त्यसैगरी हेलिकोप्टर सेवा प्रदायकका जिम्मेवार व्यवस्थापकले विशेष गरी वर्षायामका सबै उडान गतिविधिको समग्र सुपरीवेक्षण प्रभावकारी तरिकाले गर्नुपर्ने छ र यसतर्फ व्यवस्थापकको ध्यान थप केन्द्रित हुनुपर्ने छ।

'सबै हेलिकोप्टर सेवा प्रदायक कम्पनीले सुरक्षित उडानका लागि प्राधिकरणको यो निर्णय कडा रूपमा पालना गर्नुपर्ने छ,' उपमहानिर्देशक पोखरेलले भने, 'उद्धार उडान गर्दा पाइलटले मौसमको हेक्का नराखी उडान पूरा गर्ने उद्देश्यले मात्र लिएका कारण केही दुर्घटना भएका छन्। यस्तो बेला यात्रुको सुरक्षामा पूरै सम्झौता गरिन्छ भने सञ्चालकले पनि यस्ता उडान नियन्त्रण गर्न सकेको पाइँदैन। त्यसकारण हेलिकोप्ट/जहाज र यात्रुको सुरक्षाका लागि यसखालको लापरबाही स्वीकार्य हुँदैनन्।'

प्रकाशित: २७ श्रावण २०७३ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App