१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भारतीय फलामे डन्डी गुणस्तरहीन भेटिए

काठमाडौं- आयातित केही भारतीय कम्पनीका फलामे डन्डीहरू गुणस्तरहीन भएको फेला परेका छन्। गत आर्थिक वर्षमा भारतबाट आयात गरिएकामध्ये झन्डै १५ प्रतिशत फलामे डन्डी नेपाल गुणस्तर मापदण्ड अनुसार नभएको भेटिएका हुन्।

नेपाल गुणस्तर तथा नाप तौल विभागले गुणस्तर परीक्षण गर्दा निर्माण सामग्रीको रुपमा प्रयोग गरिने उक्त फलामे डन्डीहरू नेपाल गुणस्तर मापदण्ड पूरा नगरेको भेटिएको हो। 'केही भारतीय डन्डीहरू एनएस मापदण्ड पूरा नगरेको पाइएको छ,' विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, 'हामीले ल्याब परीक्षण गर्दा त्यस्तो भेटिएको हो।'

विभागले गत वर्षको भूकम्पपछि नेपालमा आयात भएका भारतीय कम्पनीका एक हजार डन्डीका नमूना परीक्षण गरेको थियो। त्यसमध्ये १५ प्रतिशत डन्डी नेपाली मापदण्ड विपरीत भएको ल्याब शाखाले जनाएको छ। भूकम्पपछि नेपालमा डन्डीको माग पूरा गर्न भारतबाट आयात गरिएको थियो। 

भारतकै उत्कृष्ट भनिएका उद्योगका डन्डी समेत मापदण्ड विपरीत पाइएको उनले बताए। विभागको ल्याब रिपोर्ट अनुसार भारतीय कम्पनी कामधेनु स्टिल, सृष्टि स्टिल र सागर स्टिल लगायत उद्योगका फलामे डन्डी नेपाली मापदण्ड विपरीत भेटिएका हुन्।

विभागका अनुसार ती कम्पनीका डन्डीहरू मापदण्डभन्दा तौल र आकार कम छन्। 'ती कम्पनीका डन्डीको मोटाइ (डायमिटर) हाम्रो मापदण्ड अनुसार रहेको पाइएन,' महानिर्देशक पुडासैनीले भने।  

भूकम्पपछि नेपाल आएका गुणस्तरहीन छडलाई बजारमा बेच्न रोकेर भारत फिर्ता गर्न दिर्नेशन दिएको विभागले जनाएको छ। 'कतिपय रड भारत फिर्ता भइसकेका छन्,' विभाग ल्याब शाखाका एक अधिकारीले भने, 'अरु केही फिर्ता जाने क्रममा होलान्।'

एक स्टिल व्यवसायीका अनुसार आयोजनामा पुगिसकेका एक भारतीय कम्पनीका छड उपयुक्त मोटाइ र तौल नभेटिएपछि फिर्ता गरेर निर्माणकर्ताले नेपाली रड प्रयोग गरेका थिए। जगदम्बा स्टिलका कार्यकारी अधिकृत आनन्द नेपालले पछिल्लो समय नेपाल आएका कतिपय छड नेपालको गुणस्तर अनुसार नभएको बताए। 'भारतबाट आयात भएका कतिपय छड गुणस्तर नभएर बिक्रीसमेत नभएको पाइएको छ,' नेपालले भने, 'यसले आयातित सबै सामान गुणस्तर  हुन्छन् भन्ने विश्वास घटेको छ।'

पछिल्लो समय भारतबाट फलामे डन्डी आयात हँुदा नेपाली उद्योगलाई फाइदा पुगेको व्यवसायी बताउँछन्। उपभोक्तालाई विदेशी भनेपछि सबै सामान राम्रो हुन्छ भन्ने भ्रम तोडिँदै गएको उनीहरू बताउँछन्। 'भूकम्पपछि नेपालमा डन्डी अभाव हुँदा भारतबाट आयात भए,' अम्बे स्टिलका प्रबन्ध निर्देशक शोभाकर न्यौपानेले भने, 'त्यसरी आएका डन्डी कम गुणस्तरीय भेटिए।'

यो घटनापछि उपभोक्ताले भारतीय डन्डी गुणस्तरीय छैनन् भन्ने बुझेको व्यवसायीले बताए। हाल स्वदेशी उत्पादनका डन्डीको माग बढ्दै गएको न्यौपानेले बताए।

नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका अध्यक्ष धु्रबकुमार श्रेष्ठले पनि विदेशबाट आयात हुनेभन्दा गुणस्तरीय स्टिल नेपालमा उत्पादन भइरहेको बताए। 'नेपाली स्टिल उद्योगले नयाँ प्रविधि भिœयाएका छन्,' श्रेष्ठले भने, 'आयातितभन्दा स्वदेशी उत्पादन गुणस्तरीय छन्।' उनका अनुसार आवश्यक छड उत्पादन गर्न स्वदेशी उद्योग सक्षम छन्।

नयाँ प्रविधि भित्रिदै जाँदा नेपाली रडका गुणस्तर पनि बढ्दै गएको छ। सरकारले सिमेन्ट, रड लगायतका निर्माण सामग्री लगाएको मापदण्डले गर्दा गुणस्तरीय उत्पदन भइरहेको सरकारको भनाइ छ। रडको रासायनिक गुणअन्तर्गत फलामे छडमा प्रयोग हुने रसायन, रसायनको मिश्रण, तापक्रम, बयिलोपन, लचकताका आधारमा मापदण्ड तय भएको विभागका महानिर्देशक पुडासैनीले बताए। 'डन्डीको गुणस्तर हेरेरमात्र थाहा हुँदैन,' पुडासैनीले भने, 'हरेक उद्योगले गुणस्तर चिह्न लिएर उत्पादन गरे पनि ग्रेड विभाजन गरेका छौं।' अहिले ४ सय १५, ५ सय, ५ सय ५०, ६ सय गे्रडका स्लिट रड बजारमा रहेको उनले बताए। 'ग्रेड अनुसार मूल्य हुन्छ,' उनले भने, 'धेरै ग्रेडको बलियो हुन्छ भन्ने मान्यता छ।' उद्योगीले पनि कम्पनीको ब्रान्ड हेरेरमात्र किन्न सुझाए।

बिजुलीको व्यवस्था भए माग बढे अनुसार उत्पादन पनि बढाउँदै जान सक्ने व्यवसायीले बताए। स्वदेशी उद्योगले चाहिने रड उत्पादन गरिरहेको भए पनि यसको कच्चा पदार्थमा भने पूर्णरुपमा विदशेको भर पर्नुपर्छ। श्रेष्ठका अनुसार हाल नेपालमा १६ स्टिल उद्योगहरू रहेका छन्। यि उद्योगहरूमा ५० करोडदेखि १ सय करोड रुपैयाँसम्म लगानी भएको व्यवसायीको भनाइ छ। यि उद्योगले वार्षिक करिब १६ लाख टन रड उत्पादन गर्छन। उपत्यकामा मात्रै एकै कम्पनीले करिब ५० हजार टनसम्म सप्लाई गरेको व्यवसायीको भनाइ छ।

ठूला आयोजनाका लागि विदेशबाट कर छुटमा रड ल्याउन दिँदा नेपाली उद्योग मारमा परेको गुनासो छ। कतिपय उद्योगीले त कर छुटमा ल्याएको रड बजारमा बिक्री समेत गर्ने गरेका छन्।

प्रकाशित: २७ श्रावण २०७३ ०६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App