१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बन्दका कारण पर्साको जनजीवन प्रभावित

पर्सा –  प्रादेशिक राजधानीको माग गर्दै बजार, यातायात बन्द गरेपछि पर्सावासीको जनजीवन प्रभावित भएको छ । 

वीरगञ्ज राजधानी संघर्ष समितिको आह्वानमा गरिएको एकदिने बन्दका क्रममा आन्दोलनकारीले आज बिहानैदेखि वीरगञ्जका विभिन्न चोकमा टायर बाली सार्वजनिक तथा निजी यातायात, बजार, उद्योग वित्तीय संस्था र विद्यालय बन्द गराएपछि जिल्लावासीको जनजीवन प्रभावित भएको हो। 

प्रदेश नं २को अस्थायी राजधानी जनकपुर तोकिएको विरोधमा बिहानैदेखि वीरगञ्जको घण्टाघर, आदर्शनगर, छपकैया, मुर्ली, पावरहाउस, गण्डक, नगवार, इनर्वालगायतका चोकमा बिहानैदेखि टायर बाली प्रदर्शन गरिरहेका छन्। 

बन्दका कारण वीरगञ्जबाट विभिन्न जिल्लातर्फ सञ्चालन हुने लामो तथा छोटो दूरीका सर्वजनिक सवारी साधन नचलेपछि यहाँको बसपार्कमा सयकडौँ यात्री अलपत्र परेका छन्। 

बन्दको अवज्ञा गरेको भन्दै वीरगञ्जको घण्टाघर चोकमा आन्दोलनकारीले करिब आधादर्जन सवारी साधन तोडफोड गरेका छन्। आन्दोलनकारीले दुई वटा चारपाङ्ग्रे र चार वटा तीन पाङ्ग्रे इ–रिक्सामा तोडफोड गरेको प्रहरीले जनाएको छ। 

एम्बुलेन्स, वारुणन्त्र, पर्यटक सवार वाहन, सञ्चार माध्यमका सवारी साधन, मोटरसाइक, सइकल बाहेकका सबै सवारी साधन सञ्चालनमा आन्दोलनकारीले रोक लगाएका छन् भने होटल, औषधि पसलमात्र सञ्चालन गर्न दिएका छन्। 

बन्दका क्रममा हुन सक्ने जनधनको क्षति रोक्न वीरगञ्जका चोक चोकमा उल्लेख्य संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

प्रकाशित: ४ माघ २०७४ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App