१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भेडापालन व्यवसाय संकटमा

कञ्चनपुर- चरन क्षेत्रको अभाव भएपछि जिल्लामा भेडापालन व्यवसाय संकटमा परेको छ ।खुला चौरमा चरन मन पराउने भेडाका लागि चरन क्षेत्रको अभाव भएको हो । राष्ट्रिय वन क्षेत्रमा रहेका चाैर, सामुदायिक वनमा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चउरमा भेडा चराउन नपाइने भएपछि भेडापालन व्यवसायमा लागेका व्यक्ति पलायन हुन थालेका छन्।

निकुञ्ज र सामुदायिक वनले चाैरको संरक्षण गरी वृक्षरोपण गरेपछि भेडा चराउने कार्य पूर्णरुपमा बन्द भएको छ । भारतीय बजारमा भेडाको ऊन र मासु विगतमा निर्यात हुँदै आएको भए पनि हाल भेडापालन व्यवसाय खस्किँदै गएकाले व्यापारमा निकै कमी आएको छ ।

विशेष थारु समुदायले भेडापालनलाई बढी जोड दिएको पाइन्छ । पिपलाडीका कल्छु चौधरीका अनुसार पहिले थारु समुदायका एउटै परिवारले २०० देखि ५०० सम्म भेडा पाल्ने गरेका थिए । उपयुक्त वातावरण नहुँदा देउतालाई चढाउनका लागि मात्र भेडापालन गर्ने चलन छ । हाल भेडापालन गर्दै आएका परिवारसँग मुस्किलले चारदेखि छ वटासम्म भेडा रहेका छन् ।

भेडाको ऊन भारतीय व्यापारीले घरमै आएर लैजाने गरेका छन् । विगतमा भेडापालनमा लागेका परिवारले वार्षिकरुपमा रु ३० हजारदेखि रु ७० हजारसम्म कमाउने गर्दथे । स्थानीयवासी वीरबहादुर चौधरीले भने, “भेडाको संख्या घट्दै गएकाले भारतीय व्यापारी नआउँदा निकालिएको ऊनसमेत घरमै थन्क्याउन बाध्य छौँ ।” भेडाको मासुको मूल्य कम पाउँदा भेडापालन व्यवसाय छाडेर अन्य व्यवसाय अपनाउन थालेको उनको भनाइ छ ।

चरन क्षेत्र पर्याप्त नहुँदा भेडापालन व्यवसाय संकटमा परेको छ । भेडापालन व्यवसायले फड्को मार्न नसकेको पशु विकास कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले बताए। सरकारी तवरबाट भेडापालनका लागि कुनै ठोस कार्यक्रम नल्याउनु र भेडाको मासु आम उपभोक्ताले नरुचाउने जस्ता कारणले समेत व्यवसाय संकटमा परेको हो । गत वर्ष भेडाको संख्या करिब आठ हजार रहेकोमा हाल उक्त संख्या घटेर छ हजार पुगेको छ । रासस

प्रकाशित: ४ माघ २०७४ ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App