१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बौद्धमार्गीको र्यालीमा प्रहरी हस्तक्षेप, सातको मृत्यु

म्यानमारको रखाइनमा बौद्ध धर्मावलम्बीको र्यालीमा हिंसा फैलिएपछि प्रशासनले थपेको प्रहरी । तस्बिर - एएफपी

यांगुन - म्यानमारको तनावग्रस्त रखाइन राज्यमा बौद्ध धर्मावलम्बीले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेपी गरि गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको छ ।प्रहरीको गोली लागेर कैयौं घाइते भएका छन् । बौद्ध धर्मावलम्बीहरुले मंगलबार निकालेको र्याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाई छ । 

‘उक्त र्यालीमा जम्मा भएका व्यक्ति सरकारी कार्यालय कब्जा गर्नेतर्फ अघि बढेपछि प्रहरीले गरेको कारबाहीको क्रमका सात व्यक्तिको मृत्यु भएको हो,’ एकजना प्रहरी अधिकारीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । उक्त भिडले सरकारी हाताभित्र प्रवेश गरी प्रहरीका सवारीसाधनमाथि आक्रमण गरेको पनि म्यानमाली प्रहरीले आरोप लगाएको छ । झडपमा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीको जानकारी उल्लेख गर्दै एएफपीले जनाएको छ ।

रोहिन्जा मुसलमान समुदायको बलियो प्रभाव रहेको भनिएको उक्त राज्यबाट हाल छ लाख ५० हजारभन्दा बढी रोहिन्जा भागेर बंगलादेश पुगेका छन् । गएको केही महिनादेखि भएको सैनिक दमनका कारण उक्त राज्य अस्तव्यस्त रहेको छ ।

रखाइनमा रहेको ऐतिहासिक मन्दिर परिसर एमरक युमा हजारौंको संख्यामा बौद्ध धर्मावलम्बी प्रर्दशनकारी जम्मा भएका थिए । आरकान वंशको अन्त्य भएको अवसरमा आयोजित वार्षिक समारोहमा रखाइन भनिने जातीय समूहका चार हजार मानिस जम्मा भएका थिए ।     

यसरी जम्मा भएको भीड के कति कारणले अचानक हिंसामा परिणत भएको हो भने बारेमा केही प्रष्ट हुन सकेको छैन । एमरक यु अराकन राजवंशको ऐतिहासिक राजधानी हो । यहाँ प्रत्येक वर्ष रखाइन जातीय समुदायका मानिस करिब दुई सय वर्ष अघि बर्मेली फौजले आफ्नो राज्यमाथि अतिक्रमण गरेको भन्दै भेला हुने गर्दछन् । यस वर्ष प्रशासनले यस्तो भेला गर्न स्वीकृति नदिएको भएपनि ठूलो भीड भेला भएर सरकारी कार्यालयलाई घेरा हाली प्रदर्शन गरेपछि प्रहरीले गोली प्रहार गर्दा यस्तो घटना भएको बताइएको छ ।  प्रहरीले हिंसामा उत्रेको भीडलाई तितरबितर पार्न सुरुमा चेतावनीस्वरुप रबरको गोली प्रहार गरेको र त्यसपछि पनि उनीहरु नरोकिएपछि गोली प्रहार गर्न बाध्य भएको बताएको छ ।

  म्यानमार प्रहरीका प्रवक्ता कर्णेल म्यो सोएले एएफपी समाचार समितिलाई बताएअनुसार उक्त भीडले सरकारी कार्यालयमा कब्जा गर्न खोजेको र त्यसपछि प्रहरीले बाध्य भएर गोली हान्नु परेको थियो । गएराति एमरक यु मन्दिर परिसरमा भएको उक्त हिंसामा सातको मृत्यु हुनुका साथै अन्य २० भन्दा बढी घाइते भएको प्रहरी प्रवक्ता सोएले बताएका छन् । उनका अनुसार घाइतेको अस्पतालमा उपचार भइरहेको छ । यस घटनासँगै म्यानमार सरकारले रखाइन राज्यमा भइरहेको जातीय हिंसालाई समाधान गर्न कत्तिको अप्ठेरो भइरहेको छ भन्ने विषय बाहिरिएको बिबिसीले उल्लेख गरेको छ ।
यसअघि सोमबार मात्रै बंगलादेश र म्यानमार सरकारले रोहिन्जा मुसलमान शरणार्थीको फिर्तीबारेको समयतालिकामा सहमति भएको बताएका थिए ।

सहमति अनुसार म्यानमारले हरेक साता १५ सय रोहिन्जा शरणार्थीलाई फिर्ता लैजाने भन्दै दुई वर्षभित्रमा शरणार्थी फिर्ता भइसक्ने आशा दुवै देशले व्यक्त गरेका थिए ।बंगलादेशको सीमा क्षेत्रमा बनाइएका अस्थायी शिविरहरूमा साढे ६ लाखभन्दा बढी रोहिन्जा मुसलमान शरणार्थी बस्दै आएका छन् ।

 

प्रकाशित: ४ माघ २०७४ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App