१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रहरी खोजी सूचीका सिलवाल अमेरिकामा

काठमाडौं – सरकारी दस्तखत छाप किर्तेमा प्रहरीको खोजीमा परेका नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवाल परिवारसहित अमेरिका पुगेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीले बयानका लागि खोजी गरेपछि उनी स्थलमार्गबाट भारत हुँदै अमेरिका गएका हुन् ।

उच्च स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई कार्यालयमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेपछि उनी स्थलमार्ग हुँदै भारत पुगेका थिए । उनी भारतबाट मलेसिया–इन्डोनेसिया हुँदै अमेरिका पुगेका हुन् ।

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसदसमेत रहेका सिलवाललाई उपस्थित गराउन काठमाडौं प्रहरीले पुस १८ मा ललितपुरलाई पत्र पठाएको थियो । उनी सोही दिन भारत पुगेको स्रोतले बतायो ।
उनी अमेरिका पुगेको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्ने तयारी गरेको छ ।

‘उनी परिवारसहित अमेरिकामा रहेको खुलेपछि नेपालको इन्टरपोल शाखामार्फत डिफ्युजन नोटिस जारी गर्न निर्देशन आएको छ,’ विभाग स्रोतले भन्यो, ‘केही दिनमै नोटिस जारी गर्ने तयारी गरेका छौं ।’
सिलवालले आफू मलेसियामा रहेको दाबी गरेपछि प्रधान कार्यालयले त्रिभुवन विमानस्थलको अध्यागमनबाट यात्रुको विवरण मागेको थियो । सिलवाल विमानस्थलको विमानबाट बाहिरिएको विवरण फेला नपरेपछि उनी नेपालमा लुकेर बसेको र विदेश जानसक्ने भन्दै प्रहरीले  विमानस्थलमा निगरानी बढाएको थियो ।

अध्यागमन स्रोतका अनुसार गत साता उनका पत्नी र छोरी अमेरिका गएपछि प्रहरीले उनी अमेरिका पुगेको आशंका गरेको थियो । प्रहरी प्रधान कार्यालयले सिलवालको खोजी गर्दा उनी अमेरिका पुगेको पुष्टि भएपछि डिफ्युजन नोटिस जारी गर्ने तयारी गरेको हो ।

आपराधिक अभियोगमा अनुसन्धानका लागि खोजीमा रहेको तर अदालतबाट पक्राउ आदेश जारी नभएका व्यक्ति देशबाहिर रहे नेपालमा ल्याउन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी हुने गरेको छ । अदालतबाट पक्राउ आदेश जारी भएको अवस्थामा भने रेडकर्नर नोटिस जारी हुन्छ ।

सर्वोच्च अदालतले आइजिपी बढुवा विवादमा अदालतमा पेस भएको कार्यसम्पादन मूल्यांकन फाराम किर्ते भएको प्रमाणित गर्दै किर्तेमा संलग्नको खोजीका लागि अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएपछि काठमाडौं परिसरले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा सिलवाललाई उपस्थित गराउन काठमाडौं परिसरले पठाएको पत्रको जबाफमा ललितपुर प्रहरीले केही दिनअगाडि नभेटिएको जबाफ पठाएको थियो ।

प्रकाशित: ४ माघ २०७४ ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App