१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

को हुन् प्रदेश नम्बर १ का प्रमुख डा. सुब्बा ?

धरान – अंग्रेजी बिषयका प्राध्यापक  डा. गोविन्द सुब्बालाई सरकारले प्रदेश नं १ को प्रमुख तोकेको छ। धनकुटाको ताङखुवा बन्चरेमा जन्मिएका सुब्बा पछिल्लो समय धरानको वडा नं १२ का बासिन्दा हुन्।

कांग्रेस निकट रहेर प्राध्यापन पेशमा रहेका डा.सुब्बा सुरुमा भने बामपन्थी थिए। २०४९ सालको स्थानीय निकायको चुनावमा कांग्रेस प्रवेश गरेर उनी मेयरमा उठेका थिए। चुनावमा हार भएपछि उनी पुनः प्राध्यापन पेशामा नै फर्किएका थिए। राजनीतिमा सक्रियता घटाउदै गएका उनी प्राध्यापन र अध्ययन, अनुसन्धानमा बढी केन्द्रीत छन्। लामो समय धरानको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका सुब्बा राजनीतिमा भने पछिल्लो समय खुलेर लागेका थिएनन्। पुराना नेता, प्राध्यापक एवं बौद्धिक क्षेत्रमा परिचित उनी सर्वसाधारणको लागि भने त्यति सुनिएको नाम होइन।

बुधबार सरकारले प्रदेश प्रमुखमा उनलाई नियुक्त गरेपछि भने उनी चर्चाको शिखरमा छन्। सरकारले प्रदेश प्रमुख तोकेको बिषयमा प्रतिक्रिया लिदा काठमाडौंमा रहेका ६० बर्षीय सुब्बाले भने, ‘मेरो पदप्रतिको आशक्ति होइन, खोजेर हिडेको पनि होइन। सरकारले जिम्मेवारी दिएको छ, एउटा साधारण, सचेत नागरिकले मुलुकको निम्ति निर्वाह गर्नुपर्ने भुमिकालाई म पनि पुरा गर्नेछु।’ संविधान, ऐन, कानुनले निर्दिष्ट गरेबमोजिम आफ्नो भुमिका हुने उनले स्पष्ट पारे। सुब्बाले भने, ‘जिम्मेवारी ठुलो हो, तर संविधान, नियम कानुनले भुमिका निर्दिष्ट गरेको छ, त्यसैअनुसार निर्वाह गर्नेछु।’

धनकुटाको सिधुवास्थित दामोदर निमाविमा कक्षा ५ सम्म, तेलियास्थित तिलेश्वर निमाविमा कक्षा ७ र धनकुटाको गोकुण्डेश्वर माविबाट उनले एसएलसी पास गरेका थिए। धनकुटा बहुमुखी क्याम्पसबाट आइए र बि.एड. उर्तीर्ण गरेका उनले कीर्तिपुर बहुमुखी क्याम्पसबाट अंग्रेजीमा एम.ए.उर्तीण गरेका थिए। इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा केही समय पढाएका उनले २०४२ सालदेखि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा लामो समय प्राध्यापन गरे। यसअघि उनी २०५८ देखि २०६२ सम्म पुर्वाञ्चल विश्वविद्यालयमा सहायक डिनसमेत भएका थिए।

सुब्बाले २०६४ सालमा विद्यावारिधि गरेका थिए। उनले ‘छथरे लिम्बूको वर्णानात्मक व्याकरण’मा विद्यावारिधी गरेका हुन्। २०६४ देखि नै उनी नेपाल र एसियाली अनुसन्धान केन्द्र(सिनास)मा अनुसन्धान कार्यमा संलग्न छन्। सुब्बाको श्रीमति संगीता, एक छोरी र २ छोरा छन्। सबै सन्तानको विहे भइसकेको छ।

प्रकाशित: ३ माघ २०७४ १५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App