१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पुनर्योग गराउन आउनेको घुइँचो

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा सञ्चालन समितिले आइतबार कक्षा १२ को विज्ञानतर्फको परीक्षाको नतिजा निकाल्यो। नतिजामा चित्त नबुझेर पुनर्योग गराउन आउने विद्यार्थीको कार्यालयमा अहिले दिनहुँ घुइँचो छ।

साउथवेस्टर्न स्टेट कलेजकी छात्रा प्रतिमा थामामगरको रसायनशास्त्र प्राक्टिकलमा २५ र थ्योरीमा १७ आयो। कुल ४२ नम्बर भयो। यो फेल हो। पास हुनका लागि सैद्धान्तिकमा २७ नम्बर आउनैपर्छ। जबकि उनको कक्षा ११ मा यही विषयमा ६७ नम्बर आएको थियो। 'हाम्रो भौतिकशास्त्रतर्फका विद्यार्थी धेरैको विज्ञानको भौतिकशास्त्र र रसायनशास्त्रमा निकै कम नम्बर छ,' उनले भनिन्, 'मैले कम्तीमा पनि सैद्धान्तिकमै ५० नम्बरभन्दा बढी आउने गरी लेखेकी थिएँ।'

उनले थपिन्, 'सैद्धान्तिक र प्राक्टिकल गरी मेरो रसायनशास्त्रमा ७५ आउनुपर्नेमा ४२ नम्बर दिएर फेल गराइयो।' थापामगर कक्षामा सधैं विशिष्ट श्रेणीमा पास हुने गरेकी थिइन्।

उनी जस्ता थुप्रै विद्यार्थी प्राप्तांक चित्त नबुझेर पुनर्योग गराउन आएका थिए। लैनचौरमा रहेको निस्ट कलेजका कृष्णा रिमालले भौतिकशास्त्र, जीवविज्ञान र रसायनशास्त्रको पुनर्योगका लागि डेढ हजार खर्च गरिन्।

'पोहोरसम्म एउटा विषयमा पुनर्योग गराउँदा दाइदिदीले २ सय ५० तिर्थे तर यो वर्ष पुनर्योग रकम सतप्रतिशत बढाइएछ,' कृष्णाले भनिन्।

यस वर्षको नतिजामा पुनर्योग गराउने विद्यार्थीको मात्र भीड छैन, आफूले नपढेको विषयमा पो नम्बर दिएर फेल भएको नतिजा आउँदा मोर्गन इन्टरनेसनल उमाविका विवेक भण्डारी अचम्भित छन्। आफूले अध्ययन गरेको विषय गणित भएको तर नतिजामा गणितको साटो नपढेको विषय कम्प्युटर साइन्समा सैद्धान्तिक र प्राक्टिकल दुवैमा शून्य नम्बर दिएर 'एब्सेन्ट' भनी फेल लेखिएको रहेछ।

'म भौतिकशास्त्रको विद्यार्थी, मैले कक्षा १२ मा गणित पढेको हुँ। परीक्षा पनि गणितमै दिएको हुँ,' आफूले पाएको गलत नतिजाको प्रमाणपत्र देखाउँदै विवेकले भने, 'यस्तो त्रुटि बोर्डले धेरे विद्यार्थीको रिजल्टमा गरेको छ।'

यस वर्ष कक्षा १२ मा विज्ञानतर्फका ४० हजार ६ सय ३ विद्यार्थी सहभागी थिए। २९ हजार ९ सय ५२ उत्तीर्ण भएका छन्। यो ७३.७७ प्रतिशत हो। गत वर्षभन्दा २.१२ प्रतिशत विद्यार्थी बढी पास छन्।

आफूले प्राप्त गरेको नम्बरमा चित्त नबुझेर दैनिक डेढ सय हाराहारी विद्यार्थी विशेषगरी भौतिकशास्त्र, रसायनशास्त्र, गणित र अंग्रेजी विषयमा पुनर्योग गराउन आउने गरेको बोर्ड कर्मचारी बताउँछन्।

आइतबारमात्र भौतिकशास्त्र, रसायनशास्त्र, गणित र अंग्रेजी विषयमा पुनर्योग गराउन आउनेको संख्या डेढ सय पुगेको कार्यालयका प्रकाश अवालेले बताए। उनले विगतमा ३५ दिन पुनर्योगको म्याद हुने भए पनि यो वर्षदेखि १५ दिन मात्र गरिएको बताए।

'अरु विषयभन्दा विज्ञानमै धेरै विद्यार्थी पुनर्योग गराउन आउँछन्,' अवालेले भने, 'हाम्रो कार्यालयले भौतिकशास्त्र, रसायनशास्त्र र गणित विषयमा त्रुटि रोक्न ओएमआर पद्धति लागू गरेको छ।'

परीक्षा नियन्त्रक सन्तोष अर्याल बर्सेनि विद्यार्थीको पुनर्योग निवेदन आए पनि नतिजामा खासै फरक नपर्ने बताउँछन्। उनले बोर्डले संवेदनशील भएर नतिजा प्रकाशन गर्ने भएकाले त्रुटि नहुने दाबी गरे। 'निवेदन परेमध्ये २–३ प्रतिशत विद्यार्थीको मात्र नतिजा फेरिने गरेको छ,' अर्यालले भने, 'विद्यार्थीले चित्त नबुझेका विषयमा पुनर्योग गराउने अधिकार हो। त्यतिले पनि चित्र नबुझे उत्तरपुस्तिका हेर्न पाउनेछन्।'

उनले थपे, 'त्यतिले पनि नभए राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिकाको फोटोकपीसमेत उपलब्ध गराउने व्यवस्था छ।' विगतमा पुनर्योगको नतिजा प्रकाशन गर्न ३५ दिन लाग्ने गरे पनि पनि यस वर्ष १५ दिनभित्र प्रकाशित गर्ने तयारी भइरहेको अर्यालले बताए।

प्रकाशित: २७ श्रावण २०७३ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App