१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘रिलिज सार्नु चेसको गोटी सारे जस्तै’

काठमाडौं– फिल्म ‘लिलिबिली’ नयाँ वर्षको मौका छोप्दै आगामी वैशाख १४ मा नेपालमा रिलिज हुने घोषणा भइसकेको छ । फिल्मको पहिलो गीत सार्वजनिक गर्न सोमबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक मिलन चाम्सले यो मितिबाट पनि फिल्म सर्न सक्ने संकेत गरे ।

‘यो मितिमा पनि फिल्म आउन सक्छ भन्ने टुंगो छैन । बलिउडको फिल्मसँग डराएर फिल्म सारिएको हो भन्ने हल्ला गलत हो । राम्रो फिल्म बन्यो भने कोहीसँग डराउनु पर्दैन्,’ उनले भने, ‘फिल्मको रिलिज सर्नु चेसको गोटी सारेजस्तै हो । चेस खेल्दा खेलाडीलाई कुन ठाउँ आफ्ना लागि सहज हुन्छ, त्यो स्थान हेरेर चाल चाल्छ । फिल्म रिलिजको मिति सर्नु पनि यस्तै चाल हो ।’

फिल्मका नेपाल निर्माता गोविन्द शाहीलाई बेलायती दूतावासले भिसा नदिएको विषयमा पत्रकारले सोधेको प्रश्नमा त्यो विषय ठूलो नभएको निर्देशक चाम्सले जिकिर गरे । ‘भिसा दिनु या नदिनु त्यो ठूलो कुरा होइन । गोविन्दजी आफ्नो कार्यव्यस्तताले वा अन्य कुनै कारणले बेलायत जान पाउनुभएन,’ गोविन्दको बचाउ गर्दै मिलनले भने, ‘यो पटक गोविन्दजी जान पाउनुभएन । तर, ६ महिनाभित्र हामी सँगै लण्डन जान्छौं ।’
फिल्मकी नायिका प्रियंका कार्कीले पहिलोपटक नायक प्रदीप खड्कासँग फिल्ममा काम गर्न पाउँदा खुसी लागेको बताइन् । ‘फिल्मका नयाँ कलाकारसँग मेरो खासै घुलमिल हुन सकेन । तर, प्रदीपसँग एउटा गीतमा सँगै काम गरेकाले उसको काम मन पर्यो,’ प्रदीपसँगको उमेर अन्तरको विषयमा सोधिएको प्रश्नमा प्रियंकाले भनिन्, ‘यो प्रश्न अभिनेत्रीलाई मात्र किन गरिन्छ मलाई थाहा छैन । अभिनेताले पनि कम उमेरका नायिकासँग काम गरेका छन् । फिल्ममा काम गर्ने भनेको उमेर हेरेर होइन । कलाकारको चरित्र र उसको अभिनय क्षमतालाई हेरेर गर्ने हो ।’

नायक प्रदीप खड्काले प्रियंका आफूभन्दा ठूलो भएजस्तै उनको मन पनि ठूलो भएको बताए । ‘यो फिल्ममा सबै उमेरका कलाकारसँग काम गर्ने मौका पाएको छु । त्यसकारण यसमा ठूलो र सानो भन्ने कुरा आउँदैन,’ उनले भने, ‘नयाँ लोकेसन अनि चिसो मौसममा काम गर्दा दुःख सँगै खुसी पनि दिएको छ ।’ निर्माता सुदिप खड्काले अत्यन्तै चिसो मौसमका बाबजुद पनि विदेशी भूमिकामा राम्रो फिल्म बनाइदिएकोमा निर्देशक चाम्सलाई धन्यवाद दिए । अर्का निर्माता शाहीले फिल्म राम्रो बनेकोमा आफू विश्वस्त रहेको बताए ।

प्रताप दास र मेलिना राईको स्वर रहेको ‘इज इट लभ’ बोलको गीतमा नायक प्रदीप र नवनायिका जसिता गुरुङले अभिनय गरेका छन् । गीतमा राजेशकुमार श्रेष्ठको शब्द तथा एलिस कार्कीको संगीत छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही, सबिन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्सको अभिनय छ । फिल्ममा चन्द्र पन्तको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सुदिप बरालको छायांकन छ ।
 

प्रकाशित: २ माघ २०७४ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App