१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डोटीमा निर्वाचन अधिकृत कार्यालय स्थापना

डोटी– राष्ट्रियसभा निर्वाचनका लागि शनिबार डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकोछ । आगामी माघ २४ गते हुने निर्वाचन सम्पन्न गर्न प्रदेश ७ को निर्वाचन अधिकृतको कार्यालय डोटीमा स्थापना गरिएको हो । कार्यालयको डोटीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उद्घाटन गरे । 

निर्वाचन आयोगले उच्च अदालत रहेको जिल्लाको जिल्ला न्यायाधीस नै प्रदेशको निर्वाचन अधिकृत रहने  निर्णय गरेको थियो । प्रदेश ७ को उच्च अदालत डोटीको दिपायलमा स्थापना भैसकेकोछ । सोहीअनुसार राष्ट्रियसभा निर्वाचनको निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीस जयानन्द पनेरुले जिम्मेवारी पाएका छन् । सोही जिम्मेवारीपछि जिल्ला अदालत डोटीको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

निर्वाचन अधिकृतको जिम्मेवारी पाएका जिल्ला न्यायाधीस पनेरु भने काठमाडांैमा निर्वाचनम्बन्धी तालिममा सहभागी छन् ।  अदालतका कर्मचारीले निर्वाचनका लागि आवश्यक तयारी सुरु गरेको उनले टेलिफोनमार्फत जानकारी दिए । 

निर्वाचन कार्यक्रमअनुसार यही माघ ७ गते मतदाता नामावली सार्वजनिक हुनेछ । त्यसपछि ८ र ९ गते मतदाता नामावली उपर दाबी बिरोधको कार्यक्रम छ ।  १० गते उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् । ११ गते उम्मेदवारविरुद्ध दाबी विरोध र १३ र १४ गते उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । यस्तै १५ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदानको कार्यक्रम तय गरिएको छ भने २४ गते मतदान हुनेछ । 

प्रदेश ७ मा ८८ स्थानीय तहका एक सय ७६ जना अध्यक्ष÷उपाध्यक्ष तथा प्रमुख÷उपप्रमुख र प्रदेशसभाका ५३ जना सांसद गरी दुई सय २९ जना मतदाता हुनेछन् । उनीहरूले कुल ८ जना राष्ट्रियसभा सांसद चुन्नेछन् । 

सबै मतदाता डोटीमा आएर मतदान गर्नेछन् । यसका लागि सम्भवत २ वटा मतदान केन्द्र तोकिने निर्वाचन अधिकृत पनेरुले बताए । उनले भने,‘अहिल्यै मतदान केन्द्रका विषयमा निर्णय भैसकेको छैन । छलफल गरेर मतदानस्थल कुन ठाउँ राख्ने र कति केन्द्र तोक्ने भन्ने टुंग्याउनेछौ ।’

 

डोटी जिल्ला अदालतमा टाँसिएको प्रदेश ७ को राष्ट्रियसभा निर्वाचन कार्यालय । तस्बिर ः अरूण बम÷नागरिक

प्रकाशित: ३० पुस २०७४ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App