पृथ्वीनारायण शाह नायक कि प्रतिनायक

शनिबार, २९ पुष २०७४, ०८ : २० नागरिक

  डा. महेशराज पन्त
राजाका जेठा छोराको हैसियतले आपूmले पाएको, पूर्वमा त्रिशूली नदी र पश्चिममा चेपे नदी साँध भएको गोरखाराज्यलाई आफ्नो ३२ वर्षको राज्यकालमा पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)ले पूर्वमा तिस्ता नदीसम्म बढाउन सके ।

उनले थालेको यो विजययात्रा नै अघि बढाएर गोरखाली भारादारहरूले पूर्वमा तिस्ता नदीदेखि, पश्चिममा सतलज नदीसम्म फैलिएको एको एउटा राज्य खडा गरे । जुन वेला यो राज्य खडा भयो, त्यस वेला भरतखण्डमा गोरखालीबाहेक सिख र मरहठ्ठा राज्य पनि अङ्ग्रेजसँग भिड्न परे भिड्न सक्ने सामथ्र्यका थिए र ती दुवै राज्य गोरखाली राज्यभन्दा कता हो कता बलिया थिए । तर आखिरमा गएर सिख र मरहठ्ठा राज्य जित्न अङ्ग्रेज सफल भयो । तर गोरखाराज्यको तीन खण्डको एक खण्ड अङ्ग्रेजले जिते पनि त्यस राज्यको अस्तित्व अहिलेसम्म रहिरहेको छ र त्यो राज्य दक्षिण एशियाकै सबभन्दा पुरानो राष्ट्र भएर अडिरहेको छ ।

पृथ्वीनारायण शाहको कामले नेपाल राष्ट्रको पुनर्जन्म भयो, यो साँचो हो । तर उनको कामबाट वर्गविशेषको स्वार्थको हानि भयो, त्यो पनि त्यत्तिकै साँचो हो । यसैले पृथ्वीनारायण शाहको अवदान अर्थात् योगदानको महत्व घटाउन त्यस्ता वर्गविशेषका मानिसहरूले त्यही वेलादेखि अहिलेसम्म कोशिश गर्दै आइरहेका छन् । पृथ्वीनारायण शाह राजनीतिज्ञ होइनन्, साम्राज्यवादी वा विस्तारवादी विचारले अनुप्राणित लुटेरा हुन् भन्ने प्रचार त्यस्ता मानिसहरूले गर्दै आएका छन् ।

पृथ्वीनारायण शाहको बदख्वाइँ गरी बोलिएको यो कुरा प्रमाणित गर्न तिनीहरूले नसके पनि
‘थोरै विज्ञ र धेर मूर्ख जनता यो लोकमा भैदिंदा
छट्टूका परिपञ्चबाट पनि ता हुन्छन् अनेकौँ कुरा’
(संशोधन–मण्डल, ‘इतिहास–संशोधनको प्रमाण–प्रमेय’, जगदम्बा–प्रकाशन, ललितपुर, २०१९ मा उपोद्घात, ५० पृ.)
भनी नयराज पन्त (वि.सं. १९७०–२०५९)ले भने जस्तै, तिनीहरूले मच्चाएको हल्लाले सर्वसाधारणमा असर परेको छ ।

नेपालमा राजतन्त्र गएपछि तिनै सर्वसाधारणमध्ये पनि सर्वसाधारणको हातमा राज्यको बागडोर गएकोले पृथ्वीनारायण शाहको अपमान नेपाल राष्ट्रमा शुरू भयो । पृथ्वीनारायण शाह र उनका अयोग्य सन्तान–दरसन्तानलाई एउटै ढकमा जोख्ने र हुँदा हुँदा उनको जन्मदिनमा दिइने बिदा सुद्धा कटौती गर्ने साहस नेपालको गणतन्त्रात्मक शासनले ग¥यो । बल्ल बल्ल यो वर्ष त्यो बिदा दिने निर्णय फेरि गरिँदा ‘हामीले किन पृथ्वीनारायण शाहको विरोध गर्नुपर्छ ?’ भन्ने विषयमा ठाउँठाउँमा सभा भइरहेकोले नेपालको इतिहासको कतिसम्म अपव्याख्या भइरहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ ।

पृथ्वीनारायण शाहलाई प्रतिनायक बनाउने कामको थालनी उनले नेपालखाल्डो जितेदेखि नै पश्चिमाहरूले गरेर आएका छन् । खुलाएर भन्दा, इटालीबाट धर्मप्रचार गर्न आई त्यस ताका यहीँ बसेका कापुचिन पादरी जूजेप्पे (वि.सं. १८४३ मा मृत्यु)को ‘नेपालराज्यको बयान’ (‘यान् अकाउन्ट् अफ् द किङ्डम् अफ् नेपाल््’, ‘एशियाट्इक् रिसर्च्इज्’ २ ठेली, ई.सं. १७९०) भन्ने लेख हेर्नुपर्छ । कहलिएका, हाम्रा ऐतिहासिकहरूबाट त्यसको समर्थन गर्ने काम पनि शुरू भइसकेको छ ।

एक थरी अतिवादीहरू पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूका नाक काटेका हुन् र काटिएका नाक धार्नीका धार्नी भएका थिए भन्दैछन् त अर्का थरीचाहिँ पृथ्वीनारायण शाहले नाक काटेकै होइनन् भनी सिद्ध गर्न खोज्दैछन् । वास्तवमा, पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूका नाक काटेकै हुन्, धार्नीका धार्नी पुग्ने गरी सबै बासिन्दाका नाक काटेका
भने होइनन् ।

खुलाएर भन्दा, पृथ्वीनारायण शाहको विपक्षका मानिसले मात्र उनले कीर्तिपुरेहरूको नाक काटेको हो भनी लेखेका होइनन् । उनकै दरबारिया कवि शक्तिवल्लभले वि.सं. १८२७ मा लेखेको ‘पृथ्वीन्द्रवर्णोदय’मा कीर्तिपुरमा केहीको नाक आदि काटेको कुरा स्पष्टसँग लेखेका छन् (नयराज पन्त आदि, ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’, जगदम्बा–प्रकाशन, ललितपुर, २०२५, ४४५ पृ.) । पादरी जूजेप्पे (वि.सं. १८४३ मा मृत्यु)ले काख छोडेका बच्चाबच्चीलगायत सबैको नाक र ओठ काटियो भनी लेखेका छन्  (‘एशियाट्इक् रिसर्च्इज्’ २ ठेली, २५० पृ.) ।

नेपाल र चीनको लडाइँमा वि.सं. १८४९ मा ब्रिटिश इस्ट इन्डिया कम्पनीको दूत भई यहाँ आएका विलियम ककरप्याट्रिक (वि.सं. १८१३–१८६९)ले लोग्नेमान्छे जति सबैको नाक काटेको कुरा लेखेका छन् (‘यान् अकाउन्ट् अप्वाद किङ्डम् अप् नेपाउल्’, विलियम मिल्अर, लन्डन, ई.सं. १८११, १६४ पृ.) । वि.सं. १८०१ देखि १८६६ सम्मका कुरा लेखिएको एउटा टिपोटमा सबैको नाक काटेको कुरा परेको छ (दिनेशराज पन्त, ‘महामण्डलदेखि काँगडासम्म’, खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठान, काठमाडौँ, २०६७, ३३ पृ.) । पाटन ओकुबहालका सुन्दरानन्द बाँडाले वि.सं. १८८९ तिर लेखेको ‘त्रिरत्नसौन्दर्यगाथा’मा भने यति उति नभनी नाक काटेको भनेर मात्र लेखिएको छ (‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’, ५३६ पृ.) ।

ब्रिटिश इस्ट इन्डिया कम्पनीको दूत भई वि.सं. १८८९ देखि १८९७ सम्म र पछि पनि स्वतन्त्र रूपले यहाँ बसेका ब्रायन हाउटन हाज्सन (वि.सं. १८५८–१९५१)को लागि लेखिएको टिपोटमा १२ वर्षमाथिका ८६५ जनाको नाक काटेको र काटिएका नाकको तौल १२ धार्नी १ सेर ६ तोला भयो भन्ने छ (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ ४ भाग, श्री ५ महाराजाधिराजका प्रमुखसंवादसचिवालय, काठमाडौँ, २०२६, ७८२–७८३ पृ.) । ‘भाषावंशावली’मा पनि १२ वर्षभन्दा माथि उमेर भएकाको नाक काटेको कुरा लेखी काटिएका नाकका तौल हाज्सनको टिपोटमा लेखिएकोभन्दा पनि ५ धार्नी बढी अर्थात् १७ धार्नी १ सेर भयो भनी लेखिएको छ (‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’, ८७५–८७६ पृ.) ।
यी कुराबाट कीर्तिपुरविजयपछि पृथ्वीनारायण शाहले नाक काटेकोमा कुनै शङ्का नभए पनि कति जनाको नाक काटे भन्ने कुराचाहिँ ठोकेर भन्न सकिँदैन । पृथ्वीनारायण शाहले कीर्तिपुर जितेपछि त्यस शहरको नाउँ नसकटापुर राखे भनी पादरी जूजेप्पेले लेखेका छन् । त्यसको समर्थन ‘भाषावंशावली’बाट पनि हुन्छ । तर कीर्तिपुरविजय भएपछि उनले त्यहाँको बौद्धको स्थानमा २५ रोपनी खेत गूठी राखेको देखिएकोले (संशोधन–मण्डल, ‘इतिहास–संशोधन’ ६२ क्रमागत संख्या, २०२३, ७ पृ.) उनी साँच्चिकै रिसाएका भए यसरी गूठी राख्ने थिएनन् । त्यसमाथि, कीर्तिपुरको नाउँ ‘नसकटापुर’ भनी राखिएको भए ‘कीर्तिपुर’ भन्ने नाउँ नै तात्कालिक सरकारी कागजातमा चलिरहेको हुँदैनथ्यो ।

अहिलेको दृष्टिले हेर्दा पृथ्वीनारायण शाहको यस कामलाई राम्रो भन्न सकिँदैन । तर जुनसुकै कामको विषयमा परीक्षा गर्दा तात्कालिक देश काल र स्थितिको संदर्भ पनि हेर्नुपर्छ । हाम्रै धर्मशास्त्रहरू हेर्दा अपराधीहरूको नाक, कान, ओठ, हात वा लिङ्ग काटी तिनीहरूलाई सजाय दिने चलन भएको थाहा हुन्छ । कामवासनाले अभिभूत शूर्पणखाले राम वा लक्ष्मणसँग बिहे गर्न जोड गरेकीले लक्ष्मणले उनीको नाककान काटेको कुरा त रामायणमै लेखिएको छ । यसरी अपराधीहरूको नाक काट्ने चलन पाश्चात्त्य मुलुकमा पनि वि.सं. १९३३ सम्म भएको कुरा प्रकाशमा आइसकेको छ

(जी. स्पेराति, ‘याम्पुटेशन् अप् द नोज् थ्रूआउट् हिस्टरि’, ‘ओतो हनोलारिङ्गोलोगिका इतालिका’ २९ ठेली, ई.सं. २००९, ४४–५० पृ.) । यस कारण कीर्तिपुरेहरूको नाक काट्नु पृथ्वीनारायण शाहको कीर्तिमा धब्बा भए पनि तात्कालिक संदर्भअनुसार त्यति निन्दनीय मान्न सकिँदैन ।

धेरैलाई थाहा नहुन सक्छ, पृथ्वीनारायण शाहले नाक काट्ने काम त्यही एक पटक मात्र गरेका होइनन् । युवराज प्रतापसिंह शाह (वि.सं. १८०६–१८३४, राज्यकाल वि.सं. १८३१–१८३४)का छोरा नागेन्द्र शाह (रणबहादुरका दाजु) जन्मँदा पृथ्वीनारायण शाहले ठूलो उत्सव गरेको र केही समयपछि ती नवयुवराज बित्दा जूठो नबार्ने हीरा द्वारेको नाक काटी सजाय गरेको विषयमा लेखिएको कागज परराष्ट्रमन्त्रालयमा थियो (दिनेशराज पन्त, ‘परराष्ट्रमन्त्रालयमा रहेका ऐतिहासिक सामग्रीको सूची’, ‘पूर्णिमा’ ७७ पूर्णाङ्क, २०४७, ६४ पृ.) । परराष्ट्रमन्त्रालयका कागजात राष्ट्रिय अभिलेखालयमा आइसकेकाले त्यो पत्र पनि अहिले त्यहीँ पुगेको हुनुपर्छ ।

अब रह्यो, पृथ्वीनारायण शाहको विजययात्रा एकीकरण होइन, गोरखाराज्यको विस्तार मात्र हो भन्ने कुरा । हो, प्रारम्भमा यो विस्तार मात्र नै थियो । तर दक्षिणमा मुग्लानाको राजले त्रस्त हुँदा हुँदै फिरङ्गीको हमलाको सामना गरेका पृथ्वीनारायण शाह आफ्नो राज्यलाई ‘असिल् हिन्दुस्थाना’ बनाउन खोज्थे । ‘दिव्योपदेश’ भनी प्रशंसा गरिएको, उनको अर्ती अर्थात् उपदेश एउटा संघट्टित राज्यको कल्पनाकारको योजनारूपको छ । विशाल चीनसाम्राज्य र बढ्दो ब्रिटिश भारतको साम्राज्यको बीचमा रहेको नेपालराज्य जोगाउनु नै उनको मूल सिद्धान्त थियो । त्यस सिद्धान्तमा अघि बढ्दा अहिलेको दृष्टिमा कति राम्रा, कति नराम्रा कुरा भए । नेपालराज्य जोगाउने हो भने, कुन जात वा कुन थरलाई कुन पद दिनुपर्छ भन्ने जस्ता केही कुरा छोडेर उनको उपदेशमा भएका अरू कुरा पाठ्यपुस्तकको रूपमा पढाउनुपर्ने विषय मात्र नभई त्यसलाई लागू गर्नुपर्ने अवस्था पनि आइसकेको छ ।

युग पाठकको यही वर्ष प्रकाशित, निकै चर्चित ‘माङ्गेना’ (फाइनप्रिन्ट बुक्स, काठमाडौँ, २०७४)मा पृथ्वीनारायण शाहलाई प्रतिनायकको रूपमा चित्रित गर्न खोजेको विषयमा यसै प्रसंगमा लेख्नु उचित होला । सबै कुरा यहीँ नै लेख्ने इच्छा हुँदा हुँदै पनि यस पत्रिकामा स्थानाभाव र मेरो समयाभावले गर्दा अहिले केही कुरा मात्र लेखी चित्त बुझाउनुपरेको छ ।

‘उपत्यकाका खेतीयोग्य जमिन आफ्ना भारदारलाई जागिर, बिर्ता दिए र यहाँको अर्थतन्त्रका मेरूदण्डका रूपमा रहेका किसानलाई चाहिँ जमिनबाट विमुख तुल्याए’ (‘माङ्गेना’, ७५ पृ.) भनी लेखिएको कुरामा केही टिप्पणी गर्नुपरेको छ । कर्ता नभएको यो वाक्य पृथ्वीनारायण शाहतर्पm लक्ष्यित छ भन्ने कुरा यसभन्दा अगाडिका वाक्यबाट स्पष्ट हुन्छ । पृथ्वीनारायण शाहभन्दा अगाडिका नेपालखाल्डोका र पूर्व–पश्चिमका राजाहरूको दाँजोमा पृथ्वीनारायण शाहले बिर्ता बाँडेको प्रमाण छँदै छैन भने पनि त्यति फरक पर्दैन भनी उनको समयका दस्तावेजको परिशीलन गरी वर्षौँ बिताएका दिनेशराज पन्त
(वि.सं. २००६ मा जन्म)ले भनेको यहाँनिर संझन पुगिन्छ ।

‘पृथ्वीनारायण शाहको उदयसँगै संस्कृत र खस–गोर्खाली भाषाका बुद्धिजीवीहरू शासन, प्रशासनमा हावी हुँदै आए’
(‘माङ्गेना’, १४४ पृ.) भनी लेखिएकोमा केही टिप्पणी गर्नुपरेको छ । अङ्ग्रेजी भाषाको पठन–पाठन शुरू हुनुभन्दा अगाडि जति बुद्धिजीवीहरू थिए, तिनीहरू सबै संस्कृतपरंपराकै थिए, तिनीहरू हाबी भएको पृथ्वीनारायण शाहको उदयदेखि होइन, नेपालको लिखित इतिहास जहिलेदेखि छ, त्यही समयदेखि नै हो । रह्यो, ‘खस–गोर्खाली भाषाका बुद्धिजीवीहरू’ हाबी भएको कुरा । ‘खस–गोर्खाली भाषाका बुद्धिजीवीहरू’ भनी युग पाठकले लेखे पनि उनको अभिप्रेत अर्थ
‘खस–गोरखालीभाषाभाषी’ हुनुपर्छ । गोरखाली शासन आएपछि पर्वते भाषाभाषी बुद्धिजीवी हाबी भए, ती संख्यामा धेरै थिए, अरूको तुलनामा पढेलेखेका पनि थिए । तर अमृतानन्द बाँडा (वि.सं. १८३१–१८९०), उनका भाइ सुन्दरानन्द बाँडा जस्ता अनेपालीभाषी पनि प्रशासनमा हाबी नभए पनि बुद्धिजीवीको रूपमा उत्रेको नदेखिएको होइन । मैथिल ब्राह्मण छोडेर अनेपालीभाषाभाषीमा अरू को को बुद्धिजीवी थिए भन्ने कुराचाहिँ शिलो खोज्नु जस्तै गाह्रो छ । हो, मधेस मूलधारमा कहिल्यै नमिसिएकोले मैथिलीभाषीहरू मूलधारमा नआएको भने साँचो हो ।

‘नेपालको सन्दर्भमा राष्ट्रवाद तुलनात्मक रूपमा नयाँ अवधारणा हो । इतिहासकारहरूले उल्लेख गरेका छन्, गोर्खाका राजा पृथ्वीनारायण शाहको हालत साहुहरूसँग सापटी लिएर खर्च चलाउनुपर्ने अवस्थामा थियो । नेपाल जितिसकेपछि भने उनको चिन्ता अंग्रेजले मुलुक खाइदिन्छन् कि भन्ने भयो । त्यसैले उनले क्रिस्चियन पादरीलाई देश निकाला गरे र विदेशी व्यापारीलाई उपत्यका पस्न रोक लगाए ।

भारतवर्षमा जरा गाडिसकेको अंग्रेजको डर त्यसपछिका सबै शासकमा रहँदै आयो । तर त्यतिन्जेल राष्ट्रवादजस्तो कुनै अवधारणा बनेको थिएन’ (‘माङ्गेना’, २०८ पृ.) भनी लेखिएको विषयमा पनि केही चर्चा गरूँ ।

पक्कै पनि पाश्चात्त्य ढङ्गको राष्ट्रवाद नेपालको लागि नयाँ अवधारणा नै हो । तर यहाँ लेखे जस्तो, साहूहरूसँग सापटी लिएर खर्च चलाउनुपर्ने अवस्था गोरखाका राजा पृथ्वीनारायण शाहको मात्र थिएन । नेपालखाल्डोका राजाहरू र पश्चिमका अरू राजाहरूको पनि त्यही अवस्था थियो । राजाले जग्गा बन्धकी राखेर दुनियाँसँग पैसा सापटी लिने भएकोले नै ‘रजबन्धकी’ भन्ने शब्दको जन्म हुन गएको थियो । तुलनात्मक रूपले भन्दा, त्यस वेला शासक गरीब हुन्थे, दुनियाँ धनी हुन्थे, दुर्भाग्यवश अहिले यसको ठीक उल्टो भएको छ । पश्चिमा ढङ्गको राष्ट्रवादको अवधारणा विकसित नभए पनि राष्ट्र त अवश्यै थियो । त्यसैले, पृथ्वीनारायण शाहले पादरीहरूलाई निकालेको राष्ट्र जोगाउनको लागि नै हो । विदेशी बेपारीहरूलाई पर्सागढीदेखि माथि आउन नदिने विचार गरेको पनि पृथ्वीनारायण शाहकै शब्दमा दुनियाँलाई कङ्गाल नपार्न नै हो ।

पृथ्वीनारायण शाह नायक हुन्, प्रतिनायक होइनन्, प्रजावत्सल राजामा हुने गुण उनमा थियो भन्ने कुराको एउटा दृष्टान्त अन्त्यमा दिनु राम्रै होला ।

ब्रिटिश इस्ट इण्डिया कम्पनीले बङ्गाल जितेपछि उसले त्यहाँ कर उठाउने काम ठेकेदारमार्पmत गर्ने गरेको थियो । त्यसैले, जसले धेरै तिर्ने कबूल गथ्र्यो, उसैले कर उठाउने अधिकार पाउँथ्यो । त्यसरी कर उठाउन दिँदा कम्पनीसरकारलाई धन त प्रशस्त आउँथ्यो, दुनियाँलाई भने निकै हानि हुन्थ्यो । त्यसमाथि, वि.सं. १८२७ मा बङ्गालमा खडेरीले गर्दा अनिकाल प¥यो । अनिकालपछि त्यहाँ हैजा र बिफर जस्ता रोगब्याध पनि शुरू भए । तैपनि दुनियाँबाट कर उठाउने काममा कमी आएन । उल्टो, कम्पनीसरकारका कर्मचारीले चामल जम्मा गरेर महँगो भाउमा बेच्न थाले । यो घटना भारतीय इतिहासका पाठ्यपुस्तकहरूमा प्रसिद्ध छ।

वि.सं. १८३१ मा आफ्नो अन्त्य अवस्थामा आपूmले दिएको उपदेशमा पृथ्वीनारायण शाहले ठेक्काप्रथाको विरोधमा यस्तो बोलेका छन्— ‘मलुकमा ईजारा पनि नदिनु. सर्षारबाट अमानित् राषि सर्षारिया तहसिल् राषी सालबसाल्को कचा
लिनु.’ । अहिलेको नेपाली भाषामा उनका यी वाक्य बदल्दा रूप यस्तो हुन जान्छ— ‘मुलुकमा इजहारा (ठेक्का) पनि नदिनू । सरकारबाट अमानत (अड्डा) राखी सरकारिया तहसील (कर उठाउने अड्डा) राखी सालबसालको कच्चा

(कच्चावारी = आम्दानी–खर्चको फाँटवारी) लिनू’ (‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’, ११८ पृ.) ।
छिमेकी मुलुक बङ्गालमा ठेक्काप्रथाबाट हुन गएको, दुनियाँको यो बिजोग पृथ्वीनारायण शाहले नसुन्ने कुरै भएन । यसैले ‘महाभारत’ (शान्तिपर्व ८७ अध्याय १६–२३ श्लोक)को उद्धरण गरेर ‘पृथ्वीनारायण शाहले लिएको करनीति ‘महाभारत’ आदि प्राचीन राजनीतिका पुस्तकमा लेखिएको करनीतिसँग मिल्छ’ (महेशराज पन्तद्वारा संपादित ‘नयराज पन्तको दृष्टिमा श्री ५ पृथ्वीनारायण शाह’, खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठान, काठमाडौँ, २०७३, ५७ पृ.) भनी लेख्दा नयराज पन्तले ‘पृथ्वीनारायण शाहले आफ्नो करनीति बङ्गालका दुर्दशा देखेर बनाएका थिए वा महाभारतहरूबाट प्रेरणा पाएर बनाएका थिए, त्यसको निधो गर्न अहिले प्रमाण पाइएको छैन’ (उही, ५९ पृ.) भनी लेखेको उल्लेखनीय छ ।

 

 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad